१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस र भारत राजतन्त्र पुर्नस्थापनाको ग्राइन्ड डिजाइनमाः मुख्यमन्त्री गुरुङ

म्याग्दी- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र भारतले राजतन्त्रको पुर्नस्थापनाको गृहकार्य गरिरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गुरूङले नेपाली कांग्रेसले घुमाइफिराई देशमा राजतन्त्र ल्याउन चाहेको आरोप लगाउँदै भारतले गणतन्त्र दिवसमा पूर्वराजालाई बोलाउने विषय ठूलो ग्राइन्ड डिजाइनका साथ बाहिर आएको तर्क समेत गरे।

कांग्रेस महामन्त्रीले हिन्दुराष्ट्रको वकालत गर्नु, यही समयमा राप्रपाका बिचमा पार्टी एकताको प्रसङ्ग उठ्नु कम्युनिष्ट पार्टीबीच भएको एकताको विरुद्ध विभिन्न चलखेलहरु भएको भन्दै उनले भारतले नेपालमा अस्थिरता ल्याउन चाहेको आरोप लगाए। उनले पुरानो मानसिकता र संरचना परिवर्तन नहुँदा सरकारको कामले गति लिन नसकेको बताए। ‘देशमा शासक र शासन गर्ने शैली फेरिए पनि सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्रमा पुरानै मानसिकता कायम रहँदा अपेक्षाकृत काम हुन नकिएको छैन्,‘पुरानै मानसिकता र संरचनाका कारणले गर्दा सरकारले काम गरेपनि प्रभावकारी नदेखिएको बताउँदै कार्यान्वयन गर्ने तौर तरिकामा पनि परिवर्तन ल्याउन जरुरी छ’ गुरूङले भने।

उनले अहिलेको सरकारप्रति जनताको ठूलो अपेक्षा र आशा रहेको भन्दै उनले सरकारको कामलाई तल्लो तहसम्म पुर्‍याउन आवश्यक रहेको बताए। मुख्यमन्त्री गुरुङले संवैधानिक र कानूनी हिसाबले चुनाव लडेर नेपालमा दुई तिहाई बहुमत ल्याएर कम्युनिष्टले सरकार बनाएको बताउँदै यस्तो दुनियाँमा कहीँ नभएको बताए। अहिले प्रतिपक्षहरु नीति र अस्तित्व रक्षाको संकट रहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘पार्टी र सरकारको आलोचना गरौं तर निन्दा गर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुपर्छ’ उनले भने।

गण्डकी प्रदेश अन्य प्रदेशहरुको तुलनामा प्राकृतिक स्रोत र साधनका हिसाबले सम्भावनायुक्त रहेकोमा जोड दिँदै प्रदेश सरकारले प्रदेशका सबै जनताको पहुँचमा व्यवस्थित खानेपानी र विद्युत पुर्‍याउने लक्ष्य लिइएको बताए। उनले नेपालकै नमु्ना प्रदेश बनाउन आफुँले निरन्तर काम गरिरहेको बताउँदै कार्यकर्ताले समेत स्वयमसेवकको रुपमा प्रदेशका योजनामा सहयोग गर्नुपर्ने बताए। नेपालको पर्यटनको राजधानी पोखरा भएको हुँदा गण्डकी प्रदेशमा ३ सयवटा गाउँलाई ग्रामीण पर्यटनका रुपमा विकास गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिए। आगामी २ वर्षभित्र गण्डकी प्रदेशमा ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी रहेको बताउँदै प्रदेशका बेरोजगार युवाहरुलाई एउटा–एउटा उद्यमको सिप सिकाएर आत्मनिर्भर बनाइने दावी समेत गरे।

मुख्यमन्त्री गुरुङले कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै गण्डकी प्रदेशलाई ५ वर्षभित्र निरक्षरमुक्त प्रदेशका रुपमा घोषणा गरिने पनि बताए। नेकपाको गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले केपी ओली र प्रचण्ड नभएको भए पार्टी एकता हुन नसक्ने ठोकुवा गर्दै केन्द्रीय कमिटी र प्रदेश सङ्गठन कमिटीमा पार्टी एकताको काम सकिएको हुँदा अब जिल्ला कमिटीहरु गठन गरिने बताए। कसैले बोले जसरी काम गर्न सजिलो नभएको बताउँदै संक्रमणकालमा पार्टी एकताको कामले तीव्रता नलिएको हुँदा नियमितता दिने र व्यवस्थित बनाउने काम भैरहेको बताउँदै गण्डकी प्रदेशको कामबाट अन्य प्रदेशले सिको गर्नुपर्ने बताए। नेपाल कम्युनिष्ट पार्टी शुन्यतामा छैन भन्ने सन्देश प्रवाह गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै तल्लो तहसम्म पार्टी कामलाई पुर्यायाउन निर्देशन दिएका थिए। प्रशिक्षण कार्यक्रमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापा लगाएतका प्रदेश कमिटीका सदस्य, जिल्ला संयन्त्रका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

 

प्रकाशित: १५ मंसिर २०७५ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App