घुमफिर

हरिनासदेखि टुटेपानीसम्म

शनिबार, १५ मङि्सर २०७५, ०९ : ५७ हेमन्त विवश

235


माथि आकाशबाट हेरिरहेका थिए जूनताराले। तल धर्तीमा अथवा हरिनाशको जंगलमा गीत गाइरहेका थिए झ्याउँकिरी। होमस्टेमा बस्ने व्यवस्था मिलाइएको रहेछ। आ–आफ्नो समूह बनाएर बाटो नाप्न थाले कवि तथा लेखकहरू। आयोजकले हामीलाई देखाउँदै एक महिलासँग भने– उहाँहरूलाई तपाईँकोमा लानु है। उनले टाउको हल्लाएर हुन्छ भनिन्। उनी अघिअघि कवि भूपिन, शम्भु अर्याल, दीपेन्द्रसिंह थापा, आकाश अधिकारी, हरिकृष्ण काफ्ले र म लगायतको एक जथ्था पछिपछि। कोदो बारी बीचको बाटो। हातहातमा प्रकाश छरिरहेका मोबाइल फोन।

कोदोका बोट समात्दै बिस्तारै झर्नु पर्ने तलतिर। याद आइरह्यो किशोरावस्थाको। त्यस्ता कोदोबारीको बाटोमा अँध्यारोमै हिँडिन्थ्यो पहिले। हुँदैनथे साथमा बाटोमा हिँड्न सजिलो तुल्याउने प्रकाशजन्य सामग्री। बाटोलाई खुट्टाले चिनेको हुन्थ्यो। खुट्टालाई बाटोले चिनेको हुन्थ्यो। र त चलिरहन्थ्यो यात्रा अनवरत। ति दिनहरू छुटे। ति बाटाहरू छुटे। बस साथमा केही यादहरू बाँकी रहे।

तनहुँको टुटेपानीमा मादलको तालमा गुञ्जियो लोक भाका। दोहरी चल्न सुरु भयो। हाम्रो तर्फबाट जवाफ फर्काउन थाले सागर उदास। आक्रामक ढंगले चल्यो दोहरी। केही महिला नाँच्न थाले। भूपिन र सागरको नृत्य उस्तै इष्र्या गर्न लायक थियो।  

जब हामी अतित भुल्छौ, इतिहास भुल्छौ, संस्कृति भुल्छौ। सक्दैनौ मिलाएर सुन्दर ढंगले वर्तमानको च्यादर ओढ्न पनि। सक्दैनौ भावना र कल्पनाका गरामा उभिएर भविष्यको अनुमान गर्न। भविष्य खोज्नेका लागि यो समय भौतिकवादमा जकडिएको छ। यहाँ जिन्दगी भनेकै धन सम्पत्ति बुझ्न थालेका छन् मान्छेहरू। गहन भावको स्मृतिमा सोच र चेतनालाई ब्यूँझाउनु पो जिन्दगी। त्यागको भावना पालेर बाँच्नु पो बचाई। गुजारा नै त कीरा, फट्याङ्ग्रा, चरा, मुसा सबैले गरेकै हुन्छन्। गुजारा शब्दले व्यक्तिगत परिवेश मात्रै समेट्छ। आफू बाँच्न खोज्छ। सक्दैन अरुलाई बाँच्ने प्रेरणा दिन। कालान्तरमा गएर हुँदैनन् ऊसँग कुनै कालजयी यादहरू।

याद बिनाको जिन्दगी पनि के जिन्दगी !  

ओरालो झरिसकेपछि पुग्छौ जब कच्ची सडकको मोडमा। टक्क अडिन्छिन् पूर्णमाया दिदी र देखाउँछिन् माइतीघर। उनको माइतीघरबाट आफ्नो घरबीचको दूरी पाँच मिनेटको छ। १६ वर्षकै उमेरमा उनले भागेर बिहे गरेकी। उनी सधैं जसो त्यही बाटो हिँड्छिन्। ‘माइतीसँग भेटघाट भइरहन्छ। तर, पनि त्यो मोडमा पुगेपछि उनलाई पुराना दिनको यादले सताउँछ। ति दिन गजबका थिए अरु त खै के भनुँ र भन्न नै आउँदैन,’ उनले भनिन्।

प्रेममा त्याग र समर्पण चाहिन्छ। त्याग, समर्पण सबै गरिन् नबुझिकनै आफैं भयो। अहिले हजुर आमा बनिसकेकी पूर्णमाया खुसी छन् जिन्दगी देखेर। सायद यही खुसीले गर्दा नै होला उनी जवान जस्तै देखिन्छिन्। घरछेउमा आकाशे पानी जम्मा गर्ने ट्याङ्की छन्। आँगनमै खानेपानीको धारा पनि जडान भइसकेको छ। स्वच्छ हावा पानी अग्र्यानिक खाना, बूढाबूढीको चखेवा चखेवीको जस्तो प्रेम। छैन यो भन्दा बढी उनलाई चाहिएको।

हरिनासको जंगलमा भाँडाकुँडा र पानी बोकेर खाना बनाए गाउँलेहरूले। राती अबेरसम्म खाना खुवाए सबैलाई। त्यो रात पूर्णमायाकै घरमा सुत्यौं। बिहान सबेरै चियाको कप थमाइन्छ हातमा। सूर्यका किरणसँगै आइपुग्छ थालमा कोदाको रोटी प्याजको अचार र भरिएका ग्लास। ए यो त पानी रहेनछ दाइ, हैट के अर्कै छ भन्दै साइडमा राख्छन् कवि शम्भूले स्टिलका ग्लास। बेस्सरी हाँस्छन् भूपिन।

कोदाको रोटी र प्याजको अचार कम्ता मिठो थिएन। क्षणभरमै घाँसको भारीसँगै पूर्णमायाको आगमन। पछ्यौरीमा कुटुरो बनाएर ल्याएका अम्बा खन्याइन् थालमा। बिहानको खाना पनि जंगलभित्रै थियो। खसी काटेर स्वागत गरे आयोजकले। मगर भाषाको कार्यपत्र पढेपछि लगत्तै सुनिएका हुन्, कविताका ध्वनिहरू। जंगलबीचमा कविता वाचन। एक नौलो र अविष्मरणीय कार्यक्रम। यादगार बन्यो कवि मिलन समिरको निम्तो र हरिनास साहित्य सम्मेलन। त्यहीँ यादहरू ताजा बनाइयो कवि रूपिन्द्र प्रभावीसँग पनि।

हरिनासबाट दुलेगौंडा पुग्दा झमक्क रात परिसकेको थियो। भूपिनको सोच थियो पोखरातिर जाने। तर, मैले सम्झाएँ दमौलीका मौलाना गीतकार सागर उदासको नाम।  दमौलीको यात्रा तय भयो। राती ८ बजे पुगियो उदासकोमा। हामीलाई तीन दिनसम्म जान नदिने उद्घोष गर्छन उनी। ‘तीन दिनसम्म के गरेर बस्नु हो ज्वाइँ यहाँ,’ भूपिनले ओठ खोले।

भोलिपल्ट हामीलाई निजी गाडीमा राखेर यात्रा तय गरे सागरले। यात्रा थियो–टुटेपानी होमस्टेसम्मको। दमौलीबाट उत्तरमा अवस्थित सुन्दर गाउँ टुटेपानी। ग्रामीण पर्यटनमार्फत गाउँको समृद्धिका निम्ति अग्रसर भएका छन् स्थानीयहरू। प्रकृति र संस्कृतिले सुशोभित छ गाउँ। नजिकै रहेको ऐतिहासिक ठूलो ढुंगा, मिर्लुङकोट भंगेरथान, पुलिमराङको शहिद पार्क, नेपालकै पुरानो मानिने समजुरको दर्गा जामे मस्जिद, अन्नपूर्ण हिमशृंखलाको सुन्दर दृश्य हेर्न र अर्गानिक खानाको स्वाद लिँदै स्थानीय लोक संस्कृतिसँग रमाउन टुटेपानी जानेको संख्या बढिरहेको छ।

दमौलीबाट गाडी चढेपछि सोतिपसल हुँदै एक घन्टामा पुगेका थियौ बगुवा। सोतिपसलमा दीपक समिपको भोटे ताल्चा झुण्ड्याइएको घरमा पुगेर क्यामेरामा तस्बिर कैद गरियो। बगुवाबाट अलिकति हिँडेपछि आउछ रिस्ती खोला। रिस्ती तरेपछि पगिन्छ बाहुन पोखरी बेशी। जहाँ २०१८ सालमा खुलेको सहिद धर्म पुस्तकालय छ। पुस्तकालयको छेवैमा रहेको प्रदीप मिश्रको घरमा भोगटे साँधेर खाएपछि पैदल यात्रा सुरु हुन्छ। प्राकृतिक सुन्दरताको भरपुर आनन्द लिँदै चार भाइ चढिरह्यौ उकालो। बेलुकी सूर्य अस्ताउन थाल्दाको दृश्य क्यामेरामा कैद गर्नेको होडबाजी चलिरह्यो। क्षणभरमै डाँडा पारि सुटुक्क लुक्न पुगे सूर्यदेव।

अँध्यारोको आगमन हुँदै गर्दा करिब साढेएक धन्टामा पुगेका हौं गाडपानी। त्यहाँबाट आधा घन्टा हिँडेपछि पुगिन्छ– ०७२ सालदेखि संचालनमा आएको टुटेपानी होमस्टेमा। होमस्टेमा पुग्दाको स्वागतले भावविभोर बनायो। लाग्थ्यो– वर्षौपछि परदेशबाट फर्केका छोरा, भाइ, भतिजालाई स्वागत गर्दैछन्। मिलनको खुसी बाँड्दैछन्। गुरुङ संस्कृतिमा दिदी बहिनीले पाहुनालाई सगुनका रुपमा आफ्नै हातले नारेपा चखाइदिने र केही खाने कुरा दिने चलन छ। घाँटीमा काँचो धागो बाटेर बनाइएको ९ गाँठा भएको डोरो लगाइदिन्छन् पुग्नेबित्तिकै। भूत, प्रेतले समातेको भए शान्ति हुने र पुनः बाटोमा अवरोध नआउने मान्यतामा बाँधिने धागोलाई ‘रिपा’ भनिन्छ।

सुनदेवी आमा समूहद्वारा निर्मित समाज ट्रष्ट भवनको हलभित्र बजिरहेको थियो गीत : चारैतिर हरियाली ठाउँ। यो हो मेरो टुटेपानी गाउँ। स्वागत छ, स्वागत सबैलाई, यो हाम्रो गावैमा, रमाइलो गावैमा ...।

छमछमी नाच्न थाले रितु र सीता गुरुङ। स्वागतगान सिद्धिए लगत्तै बज्न सुरु भयो मादल। मादलको तालमा गुञ्जियो लोक भाका। दोहोरी चल्न सुरु भयो। हाम्रो तर्फबाट जवाफ फर्काउन थाले सागर उदास। आक्रामक ढंगले चल्नथाल्यो दोहोरी। केही महिला नाँच्न थाले। भूपिन र सागरको नृत्य उस्तै इष्र्या गर्न लायक। विमला गुरुङको घरमा खाने बस्ने व्यवस्था थियो। चिसो ठाउँ गाउँको अर्गानिक खाना खाएर ओछ्यानमा पुग्दा रातको एघार बजिसकेको थियो।

बिहान चारै बजे सुनिन्छ, भालेको डाँको। घरघरमा लोकल कुखुरा पालिएका थिए। बिहानको खाजा थियो कोदोको सेल, तरकारी लोकल कुखुराको अण्डा र चिया। बिहान  सूर्यका किरणको आगमनसँगै हाम्रो यात्रा सुरु भयो पुलिमराङतिर। जहाँबाट देरिन्छ हिमालको सुन्दर दृश्य। लोभलाग्दा थिए फेदीतिर देखिएका धानका फाँट। पुलिमराङको सहिद पार्क पुगेपछि मन कटक्क दुख्यो। चारैतिर तितेपाती लगायत झारले बाटो पहिल्याउन गाह्रो। सुनसान ठाउँमा बेवारिसे छ सहिद पार्क। शालिक हेर्दा लाग्थ्यो– यो देशका सम्राटहरुले हसिमजाक उडाएका छन् सहिदको। बेवास्था गरिएको छ उनीहरूका योगदानको। ६ शालिक छन् त्यहाँ। लालध्वज गुरुङ, हस्तबीर गुरुङ, धर्मध्वज गुरुङ, शमसेरबहादुर गुरुङ, भारत गुरुङ र सर्वसिं गुरुङ। धर्मध्वजले २००७ सालमा अरु ५ जनाले ०१८ सालमा कास्की र तनहुँको सिमानामा सहादत प्राप्त गरेका हुन्। पोखरा जेलबाट काठमाडौं लग्ने भनेर लगिएका उनीहरूलाई बाटैमा गोली ठोकिएको रहेछ।

सहिद पार्कको अवस्था देखेपछि सागर उदासले फोनमा कुरा गरे युवा समाजसेवी धनप्रसाद गुरुङसँग। धनप्रसादले निकै भावुक भएर भनेका थिए– सहिदप्रति अपमान हो। सहिदका सपना के थिए। आज के भए। यो देशका नेताले सहिदका आँसुमा राजनीति गरे र अझै गर्दै छन्। त्यो भनाइले हामी भक्कानियांै। मनभरि पीडा बोकेर हामी पुग्यौ पूर्व सेनापति छत्रमान गुरुङको गाउँ पुलिमराङमा। सुरुमा एकसय घरधुरी भएको गाउँमा अहिले ५५ घर बाँकी छन्। गाउँमा लोग्ने मान्छे ४÷५ जना छन्। कोही सेनामा जागिरे भए। कोही पढ्न हिँडे सहरतिर। अनि कोही पुगे खाडी मुलुकतिर। गाउँ रित्तिँदै छ। दुई पैसा कमाउनेहरूको तराई झर्ने क्रम जारी छ। पुलिमराङ आमा समूहकी अध्यक्ष कृष्णकुमारी गुरुङको घरमा खाजा खाएर हामी हिँड्यौ पुनः टुटेपानीतिरै।  

टुटेपानीमा हामी पुग्दा साढे १२ भइसकेको थियो। खाना खाएर हिँड्न थाल्दा फेरि बज्न थाल्यो उस्तै गरी मादल। गुञ्जायमान भयो आँगन। जानेबेला सगुन खुवाए दिदी बहिनीहरूले। धुरुक्क पार्ने गरी मिठो स्वरमा सुनाए लोक गीत :
मनको कुरा फोनैमा गरुला
सँगै जीउला सँगसँगै मरुला
हाम्रो माया साथैमा लिए
होला भेट भाग्य दोष नदिए  

गालामा फूलको माला पहिराएर हामीलाई गाडीमा चढाउँदै उनीहरूले हात हल्लाइ रहे। मभित्र एउटा प्रश्न उब्जियो– आमा दिदीबहिनीहरूसँग बिदा मागेर कतै म लाहुरतिर त गइरहेको छैन ? वा सहिदका आँसुमा राजनीति गर्ने यो देशका नेताझैं भोट माग्न हिँडेको छु ?

टुटेपानीबाट फर्केपछि साँझ भूपिन भोलि आउने वाचा गरी पोखराको गाडी चढे। म र दीपेन्द्र सागरकोमै थियौ। दोस्रो दिन गण्डकी वागमय प्रतिष्ठानको प्रत्येक महिनाको दोस्रो शनिबार गरिने रचना वाचन कार्यक्रम। नारायणी अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमका संयोजक थिए कवि एवं गीतकार सागर उदास। प्रमुख अतिथि थिए दमौलीमै आयोजना गरिएको देशव्यापी कविता प्रतियोगिता ०५३ मा प्रथम भएका कवि भूपिन। विशिष्ठ अतिथिमा थिए– व्यासका अध्येता कवि काशीनाथ न्यौपाने र कवि दीपेन्द्रसिंह। ३ बजे सुरु भएको रचना वाचन कार्य साँझ ५ः३० बजेसम्म चल्यो।

आदिकवि भानुभक्त आचार्यको छन्दको प्रभाव बढी नै पाइन्छ तनहुँमा। सुमधुर स्वरमा छन्दका कविता बाचन गरे केही कविले। केहीले समसामयिक विषयमा गजल र गद्य कविता सुनाएर माहोल तताए। दोस्रो कार्यक्रममा पुग्न हतारिएका कवि काशीनाथले सुरुमै सुनाए छन्द कविताका ओजपूर्ण पंक्तिहरू–
कसले बनायो फूलमा जवानी
कसले जमायो हिउँभित्र पानी
को छर्छ ताराहरु भित्र ज्योति
माटो महाँ के गरी फल्छ मोती

महेन्द्र रम्घालीका गजलका शेरले सोच्न बाध्य तुल्याएकाका थिए खाडीतिर पलायन भएरहेका युवाको अवस्था। समसामयिक विषयको उक्त गजलले सोचमग्न तुल्यायो सबैलाई। त्यही बाध्यता, विवशता र रित्तिँदै गएको गाउँको कथा सुनाएका थिए बिकास बजगाईले। यस्तै कृष्ण महतका गजलका शेरले प्रश्न गरिरहेका थिए यो देशका कुर्सी मोहमा रमाइरहने शाशकहरूलाई
देशैभरि उनको आत्मा मसाल बनी ढल्यो भने
त्यतिखेर के गर्छौ खै तिम्रो कुर्सी ढल्यो भने
चेटिलो हाइकु सुनाएका थिए फुच्चे साथीले पनि
कुखुरो बास्यो
घाम उदाएन खै
दिन कि रात

कवि नन्दन श्रेष्ठले ‘छोरी’ शीर्षकमा भावपूर्ण कविता सुनाए। कवितामार्फतै सुनिता आचार्यले निर्मला पन्तको हत्याकाण्ड र समाजको विकृतिका विरुद्धमा आैंला ठड्याइन। त्यस्तै देशको अवस्था र नेताको ताण्डव नृत्यलाई गजलमार्फत् प्रष्ट्याएका थिए कवि तथा संचारकर्मी दिवाकर भट्टराईले। त्यसैगरी मन्दाक्रान्ता छन्दमा आफ्नो गलाको कला देखाएर सबैलाई लठ्याएका थिए कवि धनन्जय भण्डारीले।  
नेपाली कविताका क्षेत्रमा आशलाग्दो सुन्दर भविष्य बोकेर पाइला चालिरहेका कवि सन्देश अधिकारी नेपालीले खोज शीर्षकको मार्मिक कविता सुनाएर सबैको मन जिते :
मसँग समस्याको पोको थियो  
उसको भने पेट भोको थियो  
हामीले केहीबेर आवाजविहिन संवाद गर्यौ
र मुसुमुसु हास्यौं
कस्तो हुस्सु हामी !
म पत्थरमा देवता खोजिरहेछु
ऊ म मा देवता खोजिरहेछु।  

अधिकांशले कवितामा आफु बाँचेको समय बोका थिए। समाजका विकृति–विसंगति माथि चोटिलो प्रहार गरेका थिए। अन्य स्रष्टाहरूले पनि कविता सुनाएका थिए। यसरी कविता सुनाउने अन्य स्रष्ठाहरू थिए – आस्था अविचार, शुभ पिया, मधुमाया घिमिरे, गौकुमारी घिमिरे, लक्ष्मी तिम्सिना, कल्पना पौडेल, उपेन्द्र न्यौपाने, राजु भण्डारी विवश, नन्दन श्रेष्ठ, कृष्णप्रसाद वाग्ले, चक्रबहादुर अधिकारी, समुन्द्र गोदारे, कान्ति विनोद न्यौपाने, शान्ता बाँस्तोला, जानुका अश्रृधारा, पुष्पराज खतिवडा, अन्जान यात्री, नारायण अधिकारी, रामेश्वर काफ्ले, सीता शर्मा, अञ्जु दाहाल, अमरराज नकर्मी, भूपिन, दीपेन्द्रसिंह थापा, सागर उदाश, नारायणी अधिकारी आदी।

गण्डकी वाङ्मय प्रतिष्ठानले रचना सुन्ने र सुनाउने कार्य निरन्तर गरिरहेको छ। यस्ता कार्यक्रमले नवप्रतिभालाई निखार्छ। आत्मविश्वास बढाउँछ। नयाँ आशा र उत्साहको संचार गराउँछ। प्रतिष्ठानले यसलाई निरन्तरता दिओस्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...