coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

शब्दको खेल

शब्द केवल शब्दकोशमा मात्रै पाइन्नन्। कतिपय शब्दहरू यस्ता हुन्छन्, जुन शब्दकोश बनाउनेहरूलाई पनि थाहा हुँदैन। सबै थाहा हुनै पर्छ भनेर भन्न पनि मिल्दैन। अर्को वाक्यमा भन्ने हो भने शब्दहरू शब्दकोशमै मात्र सीमित हुँदैनन्। भनिन्छ– महाकवि देवकोटा नयाँ–नयाँ नेपाली शब्दहरू निर्माण गर्न निपुण थिए, उनका नौला शब्दहरूले नेपाली भाषा बलियो हुनमा निकै ठूलो योगदान पु-याएका छन्।

शब्दहरूले कहिलेकाहीँ ठूलो खेल खेल्छन्। र, त्यो खेलले कति ठाउँ राम्रो परिणाम पनि ल्याउँछ भने कतै भयावह स्थिति पनि खडा गर्छ।

मान्छेले शब्दको प्रयोग गर्दा नजान्नु एक ठाउँमा होला। तर, जानीजानीकनै पनि अलिक ‘उपबुज्रुक’ भएर दुरुपयोग गर्दा त्यसबाट हुने नराम्रा परिणाम भोगिएका घटनाहरू पनि प्रशस्त देख्न या सुन्न पाइन्छ।

शब्द–प्रयोगबारे यहाँ केही रोचक सन्दर्भहरू प्रस्तुत छन्–

प्रुफ मिस्टेक
पञ्चायतको बेला थियो। तत्कालीन महारानीको शुभजन्भोत्सव मनाउने सिलसिलामा ‘निम्तो–पत्र’ छाप्नुपर्ने थियो। अञ्चलाधीश कार्यालय काठमाडौँले निम्तो पत्र छाप्ने बेहोराको कागजसहित सम्बन्धित कर्मचारीहरूलाई एउटा प्रेसमा पठायो। अन्तिम प्रुफ हेरी निम्ता–पत्र छापियो। तर, छापिएको त्यो निम्तो–पत्र जब अञ्चलाधीशको हात प¥यो; तब त्यसमा मुद्रित एउटा गलत अक्षरका कारण उनी रिसले आगो भए। उनले तत्कालै प्रेस–मालिकलाई यसबारे स्पष्टीकरण लिए। बिचरा, झन्डै जेल चलान नै भएका। भएको के थियो भने निम्तो–पत्रमा ‘बडामहारानीको शुभजन्मोत्सव’ भनेर छापिनुपर्ने ‘बडामहारानी’को ‘नी’को ठाउँमा गल्तीवश ‘डी’ छापिएको थियो।

समाचार–वाचक
नेपाल टेलिभिजन भर्खरै स्थापना भएको थियो। आजको जस्तो अरू थुप्रै टेलिभजन थिएन त्यसबेला। त्यसैले रुचाइए पनि नरुचाइए पनि त्यही नेपाल टेलिभिजन हेर्नु बाध्यता थियो। एक दिन नेपाली समाचारको प्रसारणलाई भइरहेको बेला समाचारको अन्तमा समाचार–वाचकले ‘अब मौसमको पालो’ भनेपछिको एउटा अंकसहितको शब्दले मेरो ध्यान आकृष्ट गरायो। समाचार–वाचकले के–कति अंक भने कुन्नि, यकिनसँग भन्न सक्दिनँ। तर, अंकसँगै जोडेर उनले ‘... डिग्री सेल्सिग्रेड’ भने।

अंग्रेजीको ‘सेल्सियस’ र ‘सेन्टिग्रेड’को गजबको फ्युजन गरेको शब्द ‘सेल्सिग्रेड’का ती आविष्कारकले जानीजानीकनै गरेको त्यो गल्तीप्रति उनलाई टेलिभिजन–प्रशासनले स्पष्टीकरणसमेत सोधेको थियो र सम्भवतः त्यही कारणबाट उनी आफ्नो नोकरीबाट निलम्बित नै भए।

मन्त्रीज्यूहरूका किस्सा
डा. मणीन्द्र रञ्जन बरालको नवप्रकाशित आत्मकथा ‘नियति र अनुभूति’मा ‘जो सम्झनामा आइरहन्छन्’ शीर्षकअन्तर्गत दिवंगत एक मन्त्रीज्यूको बारेमा दुई प्याराग्राफ लिपिबद्ध गरिएको छ। जसमध्ये पछिल्लो प्याराग्राफमा भनिएको व्यहोरा यस्तो छ– एउटा राजदूतावासको निम्तोअनुरूप रात्रि–भोजमा सरिक हुन जानअघि मन्त्रीज्यूले आफ्ना पिएलाई सोधेछन्, ‘राजदूतसँगको भेटमा हात मिलाउँदा अंग्रेजीमा के भन्नुपर्छ ?’

पिएले सिकाए, ‘हाउ डु यू डु भन्नुपर्छ।’

राजदूतावास पस्नुअघि उनले सोचे– भेट्दा हाउ डु यु डु त ठीकै छ। तर, छुट्टिने बेलामा के भन्ने होला ?
ठीक त्यतिबेलै त्यही दूतावासअघिल्तिरको सडकमा पार्क गरिराखिएको एउटा ट्रकको पछाडि अंकित देवनागरी अक्षरहरूमा उनको दृष्टि पुग्यो। जहाँ लेखिएका थिए– फिर मिलेंगे, हर्न प्लिज।

हिन्दी सिनेमा हेर्न खप्पिस मन्त्रीज्यू, ‘फिर मिलेंगे’को अर्थ नबुझ्ने पक्कै थिएनन्। हो न हो त्योसँगै लेखिएको ‘हर्न प्लिज’को नेपाली अर्थ ‘फेरि भेटौँला’ भन्ने लगाए।

जब मन्त्रीज्यू राजदूतसँग बिदावारी हुन हात मिलाए, तब उनले दुई–चार पटक हात हल्लाउँदै भने, ‘हर्न प्लिज।’
०००

अर्को मन्त्रीको किस्सा यस्तो छ– एक समय ती मन्त्री भाषण गर्न उक्ले एउटा मञ्चमा। भाषणको विषय थियो– ‘खाने पानी’। त्यतिखेरको कार्यक्रममुताबिक उनको हातमा लिखित भाषण थमाइयो। भाषण गनुअघि एक पटक पनि हेर्दै नहेरी उनी भाषण पढ्न लागे।

तर, भाषणमा जब–जब उनले ‘खाने पानी’ भन्नुपथ्र्यो त्यहाँ–त्यहाँ ‘रवानी पानी’ भन्न पुग्थे। ‘खा’लाई ‘रवा’ पढ्ने सायद उनले खाने पानीलाई विशिष्ट शब्दमा ‘रवाने पानी’ भनिन्छ भन्ने सोचे कि ? अथवा आफू केका बारेमा बोल्दै छु भन्ने हेक्का नै थिएन उनलाई।
०००

अंग्रेजी शिक्षा नलिएका अर्का एक मन्त्रीको कुनै भाषण गर्नुपर्ने कार्यक्रम थियो। लिखितभन्दा अलिखित भाषण गर्नमा माहिर हुन्छन् नेताहरू। भाषण गदागर्दै उनी उत्तेजानमा आएर बोल्न लागे।
भोलिपल्ट मन्त्रीज्यूका पिएले अघिल्लो दिन उनले गरेको भाषणका बारेमा प्रकाशित समाचार सुनाउने क्रममा एउटा अंग्रेजी अखबार देखाउँदै भने, ‘हेर्नुस् त मन्त्रीज्यू, यो अंग्रेजी पत्रिकामा पनि हिजो हजुरले गर्नुभएको भाषणका बारेमा छापिएको छ।’

मन्त्रीज्यूले तत्कालै प्रतिक्रिया जनाए, ‘ए हो र ! हिजो भाषण गर्दा खुवै जोश आकोथ्यो मलाई। जोशमा मलाई थाहै भएन, अंग्रेजीमै पनि ठोकिदिएछु कि क्या हो मैले ?’

अन्तर्राष्ट्रिय प्रसङ्ग
अन्तर्राष्ट्रिय रूपमै पनि शब्दहरूको गलत प्रयोगले कहिलेकाहीँ कहीँ–कहीँ तहल्का मच्चाएको प्रसंग सुन्नमा आउँछ।

राष्ट्रपति वा प्रधानमन्त्री स्तरको भेटघाटमा राष्ट्रिय भाषा वा मातृभाषा अंग्रेजी नभएको मुलुकमा एक–आपसमा वार्तालाप गर्दा अंग्रेजी भाषाको कमजोरीका कारण अर्थको अनर्थ हुन पुगेको छ। जस्तो कि– केही समयअघि यस्तै एउटा उच्चस्तरीय भेटघाटको अवसरमा एक महामहिमले अर्को महामहिमलाई औपचारिकतापूर्वक भन्नुपर्ने थियो, ‘हाउ आर यु ?’

तर, सम्भवत नजानेरै वा बढी जान्ने भएर उनले सोधे, ‘हु आर यु ?’
०००

धेरै समय बितेको छैन, भारतीय टेलिभिजनको एउटा च्यानलमा प्रसारित एक कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जी पिङको नाम उच्चारण गर्ने बेला कार्यक्रम–प्रस्तोताले सी. को अर्थ रोमन अल्फाबेटिकअनुसार ‘११–एघार’ (इलेभेन) उद्घोष गरिदिएपछि सञ्चारमाध्यमहरूमा ठूलो खलबली पैदा भएको थियो। र, तत्काल कार्यक्रम–प्रस्तोता निलम्बित नै भएको समाचार पछि सुनिएको थियो।

प्रकाशित: १५ मंसिर २०७५ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App