४ वैशाख २०८१ मंगलबार
अन्य

पोखरीमा चुर्लम्म हिमाल

बिहान हतार हतार उठेर हिमाल हेर्ने रहर त्यत्तिकै म-यो। सधैं खुल्ला हुने आकाश आज डम्म ढाकियो। गुफा पोखरीको पानीमा मकालुको छायालाई पछाडि पारेर सेल्फी खिच्ने धोको पुरा भएन। तर पनि नीलो पानीमा बादलको छायालाई पछाडि पारेर सेल्फीको प्यास मेटाएँ।

पूर्व नेपालको सुन्दर हिल स्टेशन हो गुफा पोखरी। सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले खिचेको फोटोमै पहिलो पटक मैले गुफा पोखरी देखेको थिएँ। त्यो पनि ५० को दशकमा। यसपटक आफैं पुगेर अघाउँजी फोटा खिचे। पहिले ६ घण्टा हिंड्नु पथ्र्यो गुफा पुग्न। अहिले सडक पुगेको छ। यात्रा सहज छ। केही वर्षपछि गुफा पोखरीमा हिउँ खेलेर एकैदिनमा धरान आउ जाउ गर्न सकिनेछ।

डाँडामा पाथीभरा मन्दिर र महादेवस्थान। महादेवस्थानको किम्बदन्ती रमाइलो रहेछ। सृष्टीको रचनाको खुशियालीमा लिम्बु युवा नाचगान गर्दै रहेछन्। भगवान शिव पनि त्यहाँ आएर सुन्दरीसँग धान नाचमा भुलेछन्।

संखुवासभाको चैनपुर नगरपालिका–१ मा पर्छ गुफापोखरी। जम्मा ४० घर छन् त्यहाँ। १०/१२ वटा होटल होमस्टे जस्तै गरि सञ्चालित छन्। डाँडा (२८९० मिटर)मा छ पोखरी। पोखरीको उत्तरतर्फ एक ढिस्कोमा रहेको गुराँसको रुखको छाया पोखरीमा परेको तस्बिर यसको पहिचान बनेको छ। आकास खुलेको बेला मकालु र कुम्भकर्ण हिमाल पोखरीमै डुबुल्की मार्छन् बिहानै। यात्रीले पोखरीभित्रै र पछाडि आँखाभरि हिमाल हेर्न पाउँछन्। यो आकाश खुल्ने मौसम। यतिबेला डाँडाहरु परपरसम्म देखिन्छन्। नागी डाँडा, गुराँशको जंगल भएका ढापहरु, पारि नुनढाकी र चैनपुर बजार देखिन्छन्। गुफा पोखरीमै रहेको मेन्छ्यायम डाँडो पवित्र मान्छन् लिम्बुहरु। किराती आदि पुरुष र आदि महिलाले सृष्टी रचना गरेको थलो मान्दा रहेछन् उनीहरु। यो बेला हिमाल हेर्न, पहाड छुन र सूर्योदय हेर्न गुफा पोखरी उत्कृष्ट हुन्छ।

वर्षात्का तीन महिना बाहेक अरु सबै समय गुफापोखरी घुम्न रमणीय हुन्छ। जाडोमा हिउँ पर्छ। हिउँले छपक्कै ढाक्दा हिमाल चढे झैं लाग्छ। घरका छाना, नांगा डाँडा र गुराँसका बोटहरु सबै सेताम्मे हुन्छन्। चैत वैशाखमा गुराँसहरुले वातावरण नै रक्ताम्मे हुन्छ।

यो क्षेत्र प्रसिद्ध टिएमजे (तिनजुरे, मिल्के, जलजले)को केन्द्र भाग हो। टिएमजेलाई गुराँसको राजधानी मानिन्छ। जहाँ २८ प्रजातिका गुराँस फुल्छन्। टिएमजे तेह्रथुम, संखुवासभा र  ताप्लेजुङको संगमको परिधिलाई मानिन्छ। गुफा र पोखरीको नामबाट यो ठाउँको नाम गुफापोखरी रहन गएको स्थानीय हरिप्रसाद खनालले जानकारी दिए। पोखरीको पश्चिम दक्षिणको जंगलमा ठूलो मेन्छ्याम डाँडाको जंगलमा दुई ओढार(गुफा) रहेका कारण नै गुफा पोखरी भनिएको हो। गुफा पोखरी पूर्वपट्टि छेउमै छ सुके बजार। यसैको शिरानमा जुम्ल्याहा दुई शिखर छन्। जसलाई स्थानीय मेन्छ्यायाम डाँडा भन्दछन्। मेन्छ्यायामसँगै सूर्यादय हेर्ने ठाउँ रहेछ। एउटा डाँडामा भ्यू टावर बनाइएको छ। जहाँबाट पहाड, तराई र हिमाल हेर्न सकिन्छ। तिनै डाँडामा पाथीभराको मन्दिर र महादेवस्थान छन्। महादेवस्थानको किम्बदन्ती रमाइलो छ। सृष्टी रचनाको खुशियालीमा लिम्बु युवा नाचगान गर्दै रहेछन्। भगवान शिव पनि त्यहाँ आएर सुन्दर लिम्बु युवतीसँग धाननाचमा भुलेछन्।

लामो समय पनि नआउँदा पार्वतीले शिवजीलाई दिव्यदृष्टिले खोज्दा यहाँ युवतीहरु दायाँबायाँ समातेर धान नाचेको देखिछन्। पार्वती पनि सुन्दर लिम्बु युवतीको स्वरुप लिएर यहाँ आई धान नाच्दै शिवजीलाई मन्त्रमुग्ध पारेर दुवैजना यहाँबाट अलप भएछन्। त्यही भएर यहाँ शिवजीलाई किरातेश्वर स्वरुपमा पनि मान्ने गरेको उनै खनालले सुनाए।

धरानबाट गुफा हुँदै ताप्लेजुङ जाने सडक स्तरोन्नतिकरण हुँदैछ। सडक कालोपत्रे भएपछि गुफा पोखरी बजारले आर्थिक फड्को मार्ने स्थानीयको आशा छ। गाउँमा अधिकांश शेर्पा समुदायको बसोबास छ। शेर्पाहरु चौरी र याक पाल्छन्। नागी डाँडा र जंगलमा चौरी र याकका बथान चरेको देख्न सकिन्छ। शेर्पाहरुले चौरीको दूधबाट छुर्पी बनाउँछन्। छुर्पी करिब १ हजार दुई सय रुपैयाँ किलो बेच्ने गरेको वाङ्जु भोटेले सुनाए। द्वन्द्व कालमा ८/१० तराई बसाई सरेछन् माओवादीको पिरले। उनीहरुका घर ढलेको देखिन्छ। त्यसबेलाका केही ठूला र राम्रा घरहरु अझै ठिङ्ग उभिएका छन् घरपेटी आउने आशमा।

गुफा पोखरी उत्तर नूनढाकी बजार छ। त्यहाँ तातोपानीको मुहान र धारा छन्। त्यहाँको पानीमा नुहाउँदा रोग निको हुने विश्वास गर्छन स्थानीय। गत वर्ष नुनढाकीमा करिब १० फिटको शिवजीको मूर्ति स्थापना गरिएको छ।

तेह्रथुम र संखुवासभाका स्थानीय ताप्लेजुङ्गको पाथीभरा जाँदा यही बाटो आउजाउ गर्छन्। उहिले उहिले यो ठाउँमा चौरीको गोठ मात्र थिए पछि मात्र स्थायी बसोबास भएको पनि भोटेले सुनाए। अब बिस्तारै बजार बन्ने तरखरमा छ। ताप्लेजुङबाट तराई झर्नेहरु पहिले यही बाटो भएर झर्ने र उनीहरु बास बस्ने ठाउँका रुपमा प्रसिद्ध भएको खनालले सुनाए। गुफा पोखरी घुम्नेहरुले शुक्रबार र शनिबार अलि भिड हुने रहेछ।

गाउँमा इलाका प्रहरी कार्यालय, स्वास्थ्य चौकी र प्राथमिक विद्यालय छ। स्थानीयको पहलमा पर्यटक सूचना केन्द्र निर्माण गरिएको छ। विगतमा यहाँका गुराँसका दाउरा बालेर मास्ने गरिएको थियो। आइयुसिएन् भन्ने अन्तर्राष्ट्रिय संस्थाले सचेतना जगाएपछि त्यो कम भएको छ। जंगलहरु सामुदायमा हस्तान्तरण भएपछि गुराँस संरक्षण हुँदै गएको छ।

पोखरीलाई वरिपरि तारबार गरिएको छ। जिल्ला विकास समिति (तत्कालिन), सांसद विकास कोष र स्थानीयले घेराबारा, गेट र पोखरीको पानी जोगाउन पर्खाल लगाएका छन्। यहाँ पुग्ने सडक पिच भएपछि भने भारतीय पर्यटकहरुलाई आकर्षित गर्ने र पूर्वको राम्रो गन्तव्य बन्न सक्ने देखिन्छ गुफा पोखरी।

प्रकाशित: १५ मंसिर २०७५ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App