८ वैशाख २०८१ शनिबार
अन्य

मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ

जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ। यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ। उनी मौलिक गीत संगीतलाई प्रवद्र्धन गर्ने अभियानमा जुटेका छन्। उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन्। सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन्। उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन्।

उनलाई भेट्न चामुण्डा गेटबाट छिर्नुपर्छ। उनी नयाँ मान्छेसँग जोसिला कुरा गर्छन्। उनीसँग कुरा गर्दा जयनन्द लामा र कुमार बस्नेतको झ–झल्को दिन्छ।

कार्पेट पसलको भित्ताभरि उनले आफूले निर्माण गरेका म्युजिक भिडियो र चलचित्रको ब्यानर टाँगेका छन्। गोठालो एल्वमको ब्यानर ठूलै साइजमा टाँगिएको छ। उनले धुपौरामा बालेको धुपको सुगन्धले स्वागत गरेझैं लाग्छ।    

उनी नयाँ व्यक्ति भेटेपछि मौलिक गीत संगीतका कुरा सुरु गरिहाल्छन्। हामीसँगको भेटमा उनले यसरी सुरु गरे।
हेलम्बु पाखा मौरिको चाका
झन खायो गुलियो
सँगै साथि देश छोडि गयो
म के ले भुलियो।।
हाम्मै, लिला, खाइलाला, हाम्मै लिला,
होकी ले, होइन ‘हो भन’२

उनले यो गीत ६ वर्षअघि बजारमा ल्याएका थिए। यस गीतले हेलम्बु क्षेत्रको भौगलिक वस्तुस्थितिसँगै विदेसिनेहरूको कथा समेत गीतमा उतारेका छन्। उनी मौलिक गीत समाजतिर फर्के लेख्छन् र समाजकै लागि गाउँछन्। ‘मलाई अल्लारे गीतभन्दा गाउँको दुःख जोडिएको गीतमा जीवन देख्छु। गोठालो थिए। गोठालोकै गीत गाए,’ उनी सुनाउँछन्, ‘एक समय थियो– भक्तराज आचार्य, गोपाल योञ्जन, अरुणा लामाको गीत सुन्ने। अहिले संगीतको मौसम परिवर्तन भएको छ। तर, गाउँका भीर, पाखा, माइला बाजेको शीर टोपीको गीत लेख्न र सुनाउन छोड्नुहुन्न।’

उनी करिव तीन दशकदेखि गलैचा बिक्री गरिरहेका छन्। यसैबाट परिवारको घरखर्च चलाउँछन्। तर, नेपाली समाज र संस्कृतिको बिम्बको विषयको गीतमा रुचि राख्छन्। उनले लेखेको ‘छोरीको कर्म’ गीत नेपाली संगीत क्षेत्रमा चर्चाकै विषय बन्यो।   

उनी यो वा त्यो विषयमा समाजको विभाजन हुन नहुने पक्षमा उभिन्छन्। उनी नेपाल रहेमात्र नेपालीको पहिचान विश्वमा उच्च रहने धारणा राख्छन्। यही सन्दर्भमा उनले ‘सब हुन् हाम्रा सबै दाजुभाई, सब हुन् हाम्रो दिदी बहिनी’ जस्ता गीत लेखे। उक्त गीतको म्युजिक भिडियो पनि बजारमा ल्याए। देशप्रतिको माया र एकताका लागि कलाकार सर्वमान्य सूत्र रहेको उनको अनुभव छ।    

अहिलेसम्म उनले  १८ गीत गाइसकेका छन्। उनी जाति विशेषभन्दा पनि नेपाली सांस्कृतिक पर्व र मौलिक उत्सवका विषयमा गीत लेख्न र गाउन रुचि राख्छन्। सिन्धुपालचोक पाँचपोखरी थाङपाल गाउँपालिका– १ मा जन्मिएका नोरसाङले २०६५ बाट कलायात्रा सुरु गरेका हुन्। तामाङ समुदायले गाउने चौतारी गीतबाट उनले संगीतको यात्रा तय गरेको सुनाउँछन्।  

उनले ‘गोठालो,’ ‘मायाको डोरीले कसौकी’, ‘हेलम्बु सेरोफेरो’, ‘हुम्ला जिल्ला’, ‘हाम्मै लिला’ जस्ता एल्बम बजारमा ल्याइसकेका छन्। कलाकार हिरा लाबा स्याङबो र निर्देशक अमिर दोङले सहयोगमा यस क्षेत्रमा आएको उनले बताए।
यस्तै, उनले केही तामाङ चलचित्र निर्माणसँगै अभिनय समेत गरेका छन्।

‘क्यामरामा क्लिक हुन्छकी हुन्न सोचेकै थिइनँ। तर, निर्देशक अमिर दोङले केही चलचित्रमा काम गर्ने अवसर दिएपछि अभिनय कौशल देखाउन पाउँदा उत्साहित भएको छु,’ उनले भने, ‘२०६९ सालमा म्हेन्दा, अमिर ज्यो ज्यो २ निर्माणसँगै अभिनय समेत गरेँ।’ उनले देन्बा मायामा जीवन्त अभिनय गरेका छन्।’

प्रकाशित: १५ मंसिर २०७५ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App