आलेख

अबको नेता को?

शनिबार, १५ मङि्सर २०७५, ०७ : २४ मिलन पाण्डे  | @Milanleads

केही दिनअघिको ‘न्युयोर्क टाइम्स’मा प्रकाशित फिलिप पी प्यानको आलेख ‘द ल्यान्ड द्याट फेल्ड टु फेल’मा चीनले कसरी प्रगति ग-यो भन्ने सन्दर्भ दर्साइएको छ। सन् ८० को दशक मध्यतिरको कुरा हो, चिनियाँ कम्युनिस्ट पार्टीसँग आबद्ध केही विद्यार्थीको एउटा समूह सांघाइभन्दा अलि पर मोगानशानको पहाडमा भेला भए। उनीहरूको एउटै एजेन्डा थियो– चीनलाई कसरी अगाडि बढाउने। त्यो बेला उक्त बहस त्यति सहज थिएन किनकि चीन आर्थिक अनि राजनीतिक अस्थिरताबाट गुज्रँदै थियो। दुई तिहाइभन्दा बढी जनसंख्या चरम गरिबीमा थियो।

विभिन्न विषयका विद्यार्थीसँग विज्ञता अनि अनुभव थिएन, थियो त ऊर्जा अनि उत्सुकता। उनीहरू अर्थतन्त्र डुब्नेमा चिन्तित थिए। अनि पार्टी नेतृत्वलाई पनि सजग गराउँदै थिए। एक रात उनीहरूले एउटा प्रस्ताव राखे, ‘उद्योगहरूले राज्यले तोकेको उत्पादनको न्यूनतम लक्ष्य पूरा गरेपछि उनीहरूले बाँकी सामान चाहेको पैसामा बेच्न पाउँछन्।’ यो तत्कालीन अर्थतन्त्रको मोडलभन्दा पृथक प्रस्ताव थियो। यस विचारले त्यहि कोठामा रहेका पार्टी अधिकारीलाई समेत सोच्न बाध्य बनायो। यो विचार नै पछि चीनको आर्थिक क्रान्तिको एउटा कोसेढुंगा साबित भयो।
त्यो टोलीले लामो समय देशको नीति अनि कार्यक्रमबारे पर्दा पछाडि मिलेर काम ग-यो। फलस्वरूप, देश पनि सफल भयो अनि उनीहरू पनि सफल भए। त्यही कोठामा रहेका सु चीङ केही वर्षपछि अर्थ नीति विज्ञका रूपमा अगाडि आए। अर्का युवाले पछि चीनको केन्द्रीय बैंकमा १५ वर्ष नेतृत्व गरे। अर्का एक युवा अर्थमन्त्री बने। वङ क्विसान सबैभन्दा सफल साबित भए, उनले सुरुमा कृषि विज्ञ भएर योगदान गरे र पछि उनले चीनको पहिलो लगानी बैंकको नेतृत्व गरे। सन् १९९७ मा सुरु भएको एसियाको आर्थिक मन्दीबाट पनि देशलाई पार लगाए। उनी बेइजिङको मेयर हुँदै अहिले पनि दोस्रो प्रमुख व्यक्तित्वका रूपमा चीनमा उपराष्ट्रपति छन्।

मोगानसानको भेलामा सम्मिलित यी युवाको योगदान अनि नेतृत्वको, चीनको विकासमा निकै ठूलो योगदान छ। तिनले नै चीनको सफलताको नक्सा कोरे।

उदाहरण, प्रचण्ड, देउवा, ओलीहरू अगाडि छन्। पञ्चायत अनि राजतन्त्रको विरोधमा जवानी त्यागेका नेतृत्व आज त्यही शैलीमा जीवन किन बाँच्दैछन् ? उत्तर, किनकि उनीहरू अभ्यस्त भइसकेका छन्। तसर्थ, अब सामाजिक अनि राजनीतिक बेथितिलाई सुन्नेबित्तिकै कन्सिरीका रौँ तात्ने पुस्ताले मात्रै परिवर्तन ल्याउन सक्छ। अब नयाँ पुस्ताले नेता खोज्ने होइन, बन्ने हो।

‘माउस ट्राप’ अनि नेता
अब नेपालतिरै फर्कौँ। एउटा व्यक्तिले धेरै उत्साहका साथ राजनीतिक दलको स्थानीय इकाइ वा भातृ संगठनमार्फत् सदस्यता लिन्छ। ऊ समाज अनि देश रूपान्तरणको सपना बोकेर राजनीतिमा लाग्छ। उसलाई देश बनाउने अभिलाषाले नेता बनेर योगदान गर्ने उत्साहले पिरोल्छ। ऊ आफ्नो इकाइमार्फत् गाउँ घरमा पसेर समस्या समाधान गर्न लाग्छ। क्याम्पस होस् वा आफ्नो टोल वा आफ्नो पेसामा रहेकालाई सहयोग गर्दै नेता बन्न खोज्छ। आफ्नो स्रोत, समय अनि सपनाको लगानी गर्छ। उसलाई लाग्छ– आफैँ सत्तामा पुग्न सके त कति गर्न सकिएला। ऊ सत्तामा पुगेर काम गर्ने उद्देश्यले राजनीतिक प्रगतिका लागि अगाडि बढ्छ। त्यसका निम्ति, शक्तिशाली बन्न पहुँच, पैसा अनि शक्ति विस्तारै प्रयोग गर्न थाल्छ।

पहुँचका लागि उसले नातावाद, कृपावाद र चाकरी गर्दै गुटबन्दीतिर लाग्छ। पैसाको लागि आफू स्थानीय बजेटमा चलखेल गर्छ। संघ संस्थामा पत्र काट्छ, अन्तर्राष्ट्रिय वा गैर सरकारी संस्थाको स्वार्थ अनुरूप काम गर्छ, व्यापारीसँग पैसा उठाउँछ। अनि शक्तिशाली देखिन केही कार्यकर्तालाई केही आर्थिक अनि केही पदीय प्रलोभनसहित सँगै हिँडाउन थाल्छ। छिटो चिनिन रेलिङ भाँच्छ, आगो बाल्छ, टाउको फोड्छ। यसरी पार्टीको माथिल्लो पदमा पुग्छ र पदमा टिकिराख्न यही कुरा दोहोराइरहन्छ। उसलाई के लाग्छ भने, नेता भएपछि उसले यी सबै खराबी व्यवस्थापन गर्छ। तर, त्यसका लागि ऊ सत्तामा पुग्नैपर्छ। चुनावमा पनि यही शक्ति अनि उद्देश्यसहित उम्मेदवार बन्छ। पहुँच, पैसा, आश्वासन अनि शक्तिकै कारण चुनाव पनि जित्छ।

देश बनाउने सपना साकार गर्न सत्तामा पुगेर प्रयास गर्छ। तर, केही गर्नै सक्दैन। उसले आफू कहाँ चुकेको हो, केही मेसो नै पाउँदैन। किनकि, उसले अहिलेसम्म सत्तामा पुग्नको लागि मात्र रणनीति बनाएको छ। सत्तामा पुगेर के गर्ने भन्ने योजना बनाएकै हुँदैन। उसको टोली पनि त्यसरी नै स्वार्थ नै बोकेर निर्माण हुँदै जान्छ। सरकारमा पुगेर केही कर्मचारीको सहयोगमा विकासका कार्यक्रम सुरु गर्न खोज्छ। तर, कार्यकर्ताले भाँजो हाल्न थाल्छन्। योजना आफ्नो अनुकूल बनाउन दबाब दिन्छन्। अनि अनियमितता अनि स्वार्थका लागि नेतालाई नै प्रयोग गर्छन्। होइन, कार्यक्रम लागू गर्न नसकिने रहेछ, नीति बनाउँछु भनेर लाग्छ। फेरि ऊ व्यापारी अनि पार्टीका समर्थकको स्वार्थविपरित जान सक्दैन। किनकि ऊ त्यही व्यक्तिकै कारण त्यहाँ सत्तासीन भएको छ। त्यसपछि उसको देश बनाउने सपना टुट्छ। दुःखको कुरा, उसले राजनीति चाहेर पनि छाड्न सक्दैन किनकि धेरै मानिस उसमा आश्रित हुन्छन्। ऊ आफ्नो मर्जीले चल्न धेरै अघि नै छोडिसकेको हुन्छ। ऊ ती आफ्ना मान्छेप्रति व्यक्तिगतरूपमा इमानदार हुन समाज तथा देशसँग बेइमानी गर्न थाल्छ।

उसलाई समयक्रमसँगै देश आफूले बनाउन नसक्ने कुरा बोध हुन थाल्छ। त्यो नेताले अब, देश होइन पार्टी बनाउन सके पनि आफ्नो दायित्व पूरा हुने ठान्दै पार्टी बनाउन लाग्छ। पार्टी बनाउन सुरु ग¥यो, अर्को गुटले फेरि काम गर्न दिँदैन। त्यसपछि, ऊ पार्टीबाट पनि झरेर आफ्नो गुटलाई मलजल गर्न लाग्छ। उसले त्यो गुटको संरक्षण गर्न नसके उसको राजनीति नै धरापमा पर्छ। उसको अर्को प्रतिस्पर्धी ती कार्यकर्ता संरक्षणका लागि तयार रहेर बसेको जो छ। फेरि, आफ्ना कार्यकर्तालाई रोक्न ऊसँग नैतिक तागत पनि हुँदैन। किनकि ऊ पनि त्यही बाटोबाट सत्तामा पुगेको हुन्छ। उसले नै सिकाएको बाटो हिँड्दै गरेका कार्यकर्ताको स्वार्थ पूरा गर्न नसक्दा अब गुटको भलो गर्ने आकांक्षा पनि परिवारतिर झर्छ। अनि, परिवारका सदस्यलाई उत्तराधिकारी बनाउन सत्तामा ल्याउँछ। जसका लागि श्रीमतीलाई समानुपातिकमा राख्न थाल्छ। छोरीलाई मेयर जिताउन मतपत्र च्यात्छ अनि सालासाली अनि ज्वाईंलाई विशेष सल्लाहकार अनि राजदूत बनाउँछ। यसरी देश बनाउने अभिलाषा गुट हुँदै परिवारमा आएर टुंगिन्छ। यो नेपालको राजनीतिक चक्र हो, ०४६ सालदेखि प्रत्येक संगठनमा चल्दै आएको।  

एउटा मुसा पासोमा राखेको मिठो मिठाइ देखेर खान जान्छ। सबै मिठाइ पनि पाउँछ। तर, त्यो पासोबाट उम्केर निस्कन सक्दैन। हाम्रा नेता त्यसरी नै यो कुसंस्कृत राजनीतिको त्यो पासोमा फसेका छन्। झन् दुःखको कुरा, ती पार्टीका नयाँ पुस्ताका नेता पनि त्यही पासोमा अनि त्यही चक्रमा परेर अघिल्लो पुस्ताका ‘एस म्यान’ बन्दैछन्।
अबको नेता कसरी आउँछ ?

यस्तो राजनीतिक संस्कार भएको प्रणालीमा राम नै छिरे पनि सत्तामा पुग्दासम्म रावण भएर निस्किन्छन्। उदाहरणका लागि टाढा जानु पर्दैन, साइकल मन्त्रीको गाडीको लस्कर हेरे पुग्छ, युवा मन्त्रीहरूको भ्रष्टाचारको काण्ड पढे पुग्छ। ‘सामन्तवाद मुर्दावाद’ भन्दै ज्यान फालेर देश बदल्न हिँडेका नेताको विलासिता हेर्दा हुन्छ। अवस्था यस्तो छ कि, अब राजनीति गरेर मेरो पार्टी सत्तामा पुग्यो भने मैले केही फाइदा पाउँछु भन्ने अवस्था पनि छैन। आफ्नै पार्टीको मान्छे सत्तामा हुँदा पनि पार्टीलाई पनि पैसा नखुवाइ कुनै काम हुँदैन।

अहिले मन्त्री हुने नेताहरूलाई आफू मन्त्री हुने एक दिन अगाडि मात्र ऊ कुन मन्त्रालयको नेतृत्व गर्दैछ भन्ने थाहा हुन्छ। कुनै तयारी हुँदैन। तयारी अनि योजनाबिना मन्त्रालय हाँक्दा उसले सशक्त नेतृव गर्न सक्दैन। कर्मचारीले नटेर्नुको मुख्य कारण नेताहरूको स्तर, योग्यता अनि क्षमता पनि हो। तसर्थ, अबको कुनै विषय वा पेसामा राम्रो तयारी गरेको, क्षमता अनि योग्यता भएको सक्षम व्यक्ति नेतृत्वमा ल्याउनुपर्छ।

अहिलेका पार्टीहरू ‘राजनीतिक आन्दोलन’को जगमा उभिएका छन्। त्यही आन्दोलनको आडमा पार्टी बन्यो अनि नेता बने। अब केही वर्षसम्म ठूलो राजनीतिक आन्दोलन हुने देखिएको छैन, अब त्यो युग पनि रहेन। यहाँ वर्षौँदेखि आम नागरिकका यति धेरै मुद्दा छन् कि जसले आम नागरिक दिक्क भइसकेका छन्। तसर्थ, अबको नेता सामाजिक अनि आर्थिक मुद्दा बोकेर राजनीतिक वा गैर राजनीतिक अभियानमार्फत् आउँछन्। त्यही अभियानले यी नेतृत्वलाई स्थापित गर्नेछ। अब, बेथितिविरुद्ध आवाज उठ्ने सामाजिक अनि आर्थिक अभियानले नेता जन्माउँछ।

हामीले खोजेको नेता कस्तो ?
नेल्सन मन्डेलालाई एकपल्ट सोधियो– तपाईँ यति महान् नेता हुनको पछाडिको प्रेरणाको स्रोत को हो ? उनले जवाफ दिए, ‘मेरो बुबा। मेरो बुबा एउटा गाउँको मुखिया हुनुहुन्थ्यो र म उहाँसँगै गाउँ भेलामा जान्थेँ। म बुवाको दुई गुण सधैँ ध्यान दिएर हेर्थेँ। पहिलो, बुवा सधैँ गोलो बनाएर बस्नुहुन्थ्यो, सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो र सहभागी गराउनुहुन्थ्यो। दोस्रो, बुबा पहिला सबैको कुरा सुन्नुहुन्थ्यो अनि अन्तिममा मात्रै आफू बोल्नुहुन्थ्यो। मैले पनि त्यही सिकेँ।’  

हाम्रो नेतृत्वको असफलताको प्रमुख दुई कारण यही हुन्। पहिलो, नेताहरूले सामूहिक भाव जगाउन सकेका छैनन्। आफैँ सपना देख्छन् अनि मैले नै गर्ने हो भनेर आफैँ मात्र तम्सिन्छन्। दोस्रो, अरुको कुरा सुन्नेबारे त कुरै नगरौँ। खाली बोल्ने, थाहा भएको कुरा पनि अनि थाहा नभएको कुरा पनि। आफूलाई के जानकारी छ÷छैन भन्ने पनि हाम्रा नेतालाई थाहा छैन।

अब हामीलाई बोल्ने होइन, गर्ने नेता चाहिएको छ। हुन्छ भन्ने, सहमति जनाउने तर व्यवहारमा नउतार्ने ‘हिप्पोक्रेटिक नेतृत्व’ ले अब समाधान दिन सक्दैन। देशले नगद व्यवहारमा उतार्न सक्ने व्यक्ति खोजेको छ। साथै, ‘व्यक्तिगत इमेज’ भन्दा ‘सांगठानिक इमेज’लाई प्राथमिकता दिने नेताले मात्र दीर्घकालिक समाधान दिन सक्छ। व्यक्तिगत इमेजले संगठन त अलि छिटो बन्ला। तर, व्यक्ति गएपछि संगठन पनि रहँदैन। दीर्घकालिन संगठन निर्माणको लागि सामूहिक भाव नै प्रधान हो।

गुगलले सबैभन्दा उत्कृष्ट टोली बन्ने आधार के होलान् भनी आफ्ना कर्मचारीहरुबीच एक ठूलो स्तरको अध्ययन गरेको थियो, जसको नतिजा सन् २०१६ मा न्युयोर्क टाइम्समा प्रकाशित भएको थियो। उक्त अध्ययनको निष्कर्षमा लेखिएको छ– सबैभन्दा उत्कृष्ट टोलीहरूमा त्यसका सदस्यहरूले एक अर्कालाई सुन्छन् र उनीहरूको भावना तथा आवश्यकता प्रति संवेदनशीलता देखाउँछन्। आफ्ना सहकर्मीलाई विश्वास गर्ने र उनीहरूका क्षमता बमोजिम जिम्मेवारी दिन सक्ने, उनीहरूका कुरा सुन्ने र भावना तथा आवश्यकता प्रति संवेदनशील हुन सक्ने नेतृत्व नै हाम्रो जस्तो मुलुकको चाहना हो।

पालो नयाँ पुस्ताको
इमरान खानलाई राजनीतिको सुरुवाती हारको बारेमा गरिएको प्रश्नको उनले रोचक उत्तर दिएका थिए। उनको उत्तर थियो, ‘मलाई मत दिने पुस्ता अहिले मतदाता भैसकेकै छैनन्, उनीहरू ठूला हुँदै छन्।’ राजनीति अनि समाजको परिवर्तनको मेरुदण्ड नयाँ पुस्ताको नेतृत्व नै हो। कु संस्कारको चक्र तोड्ने साहस अब नयाँ पुस्ता बाहेक अरू कोहीसँग छैन।

नेतृत्व तीन प्रकारको हुन्छन्– वैचारिक, सांगठनिक तथा अभियन्ता। अहिले विश्वभर वैकल्पिक राजनीतिको हावा चल्दै गर्दा यो तेस्रो प्रकारको नेतृत्व सत्तामा स्थापित हुने क्रम सुरु भएको छ। अबको अवस्था परिवर्तनको यो लडाइँमा अभियन्ताहरूको आवश्यकता बढ्न थालेको महसुस गरिन थालिएको छ। कृषि, शिक्षा, स्वास्थ्य, रोजगार आदि विषयमा अभियान आवश्यक छ। वैचारिक अनि सांगठनिक नेतृत्व मात्रभन्दा फरक नेतृत्व देशले माग्दैछ।

अभियान भनिरहँदा एउटा चुनौती छ। अभियन्ताले मुद्दा उठाउन त सक्छ। तर, हाम्रो जस्तो समाजमा त्यसलाई लागू गर्न राजनीतिक संगठन नै चाहिन्छ। हाम्रो अगाडि ‘आइरन लेडी’ इरोम शर्मिलाको १६ वर्ष अनसनपछि चुनावमा भाग लिँदा पाएको ९० भोटको छिमेकको दृश्य ताजै छ। फेरि, संगठनबाट आएको नेता फेरि त्यही चक्रमा फस्ने डर पनि छ। हाम्रो समाज त त्यही हो अनि संगठन पनि समाजकै अंश न हो। अब नयाँ पद्धति अनि मूल्य मान्यतासहित पृथक संगठन चाहिन्छ, जसले समाजलाई डो¥याउने ल्याकत राखोस्। अबको पृथक संगठनको शरीर सिद्धान्त हो, मूल्यमान्यता आत्मा हो। अनि, सामाजिक अनि राजनीतिक धक्का दिन सक्ने अभियान पनि चाहिएको छ। संगठन मात्रले फेरि सत्तामा त पु-याउँछ। तर, परिणाम निकाल्न गाह्रो छ। अभियानले नतिजा निकाल्न सक्छ। तर, परिणाम संस्थागत गर्न सत्तामा पु-याउन सक्दैन। के हामीले यी दुइटाको सम्मिश्रण अनि सन्तुलन सहितको संगठन बनाउन सक्छौँ ? सक्छौँ, नेता जन्मिन्छ, अनुभव बटुल्छ अनि सत्तामा पुगेर नतिजा निकाल्छ। सक्दैनौँ, नयाँ नेताहरू त जन्मेलान्, सत्तामा त पुग्लान्। तर, समाजलाई परिवर्तन गर्न सकिँदैन।

अब हरेक क्षेत्रमा नयाँ पुस्ताले हस्तक्षेप गर्न जरुरी छ। हरेक क्षेत्रमा साहसी नेतृत्व आवश्यक छ। अरूको सम्पत्ति विवरण माग्ने अनि अरुको माग्नु अगाडि आफ्नो सम्पत्ति विवरण देखाउन सक्ने साहस भएको नेतृत्व चाहिएको छ। बगेको धारविपरित जान साहस अनि पागलपन चाहिन्छ। साहस नैतिकताले अनि नवीनताले दिन्छ जोसँग प्रायः युवासँग हुन्छ। अहिलेका हाम्रा पूर्वक्रान्तिकारी नेताहरू हेर्ने हो भने उनीहरूले पनि युवा अवस्थामै क्रान्तिको बिगुल फुकेका हुन्। अहिले हुन्थे भने उनीहरूले सम्झौता गर्थे होलान्, क्रान्ति होइन।

धेरै ठूलो संगठन वा टोलीले क्रान्ति ल्याएको उदाहरण छैन। अनि त्यो सम्भव पनि छैन। त्यसैले, एउटा सानो ऊर्जावान् टोलीले पनि हामीले खोजेको कुसंस्कार चिर्न सक्छ। फेरि, युवा भनिरहँदा सधैँ लाग्ने आरोप भनेको, युवामा अनुभव हुँदैन अनि विज्ञता हुँदैन भन्ने हो। केही दिनअघि प्रदेश ३ का सांसद रमेश पौड्यालले भनेको सम्झन्छु, ‘प्रत्यक्ष राजनीतिमा लाग्न विज्ञता वा अनुभव भनेको गहना हो। गहना पोसाक अनुसार लगाउँदा पनि हुन्छ, नलगाउन पनि सकिन्छ। अझ पोशाकसँग मेल नखाने गहना छ भने त नलगाउँदा राम्रो।’ उनको भाव थियो– राजनीतिका लागि प्रधान सर्त अनुभव होइन, नवीनता अनि साहस हो। अनुभव सहायक सर्त हुन सक्ला। तर, अनुभवले मात्र बगेको खोला फर्काउन सक्दैन।

अबको नेता को ?
धेरै हिन्दी फिल्म हेरेर हामी चमत्कारिक प्रवृत्ति खोज्ने भइसकेका छौँ। हामीलाई लाग्दैछ– एक दिन राति सुतेर बिहान उठ्दा एक जना व्यक्ति आउँछ अनि हाम्रो देश रातारात बनाइदिन्छ। त्यसैले कहिले हामी ली क्वान यू खोज्छौँ त कहिले, पार्क चुङ ही खोज्छौँ त देगं सियापिंग खोज्दै छौँ। हामी के भुल्छौँ भने सिंगापुर, कोरिया, चीन वा अमेरिका एक रातमा एक जनाले बनाएको होइन। त्यहाँ राजनीतिकदेखि, सामाजिक अनि आर्थिक क्षेत्रका नेतृत्वहरू मिलेरै देश बनाएका हुन्। नेताले त दिशा दिने हो, सबैलाई समेट्ने हो। उल्लिखित नेताहरूले त्यही गरे। देश बनाउने भनेको सामूहिक नेतृत्वले नै हो र विशेष गरी अबको युगमा त एक व्यक्तिबाट सम्भवै छैन। तसर्थ, अबको नेपालमा नेता होइन, नेताहरू आवश्यक छ। माथिको आलेखमा चीनको उदाहरणमा जस्तै एउटा वा एउटाभन्दा बढी यस्ता टोलीहरू चाहिएका छन्, जसले अगाडिको २५ वर्ष हिँड्ने बाटोको नक्सा बनाएर निरन्तर देशलाई अगाडि लैजान सकोस्। भोलिको नेतृत्व अनि हिरो उनीहरू नै हुनेछन्।

 हामीलाई कहिलेकाहीँ लाग्दो हो– नाम चलेका कलाकारहरू, विज्ञहरू, नागरिक अगुवामध्ये केही मान्छे यस अभियानमा जुटे त देश बन्छ। तर, मेरो अनुभव अनि दाबी छ– अब त्यो पुस्ताको नेतृत्व सहायक बन्न सक्छ, मूलधारको बनेर समाधान आउनेवाला छैन। किनकि, उनीहरू पनि त्यही प्रवृत्तिको विरोध गर्दागर्दै त्यसमै अभ्यस्त भइसकेका छन्। उनीहरूले पचाउन थालिसकेका छन्। उदाहरण, प्रचण्ड, देउवा, ओलीहरू अगाडि छन्। पञ्चायत अनि राजतन्त्रको विरोधमा जवानी त्यागेका नेतृत्व आज त्यही शैलीमा जीवन किन बाँच्दैछन् ? उत्तर, किनकि उनीहरू अभ्यस्त भइसकेका छन्। तसर्थ, अब सामाजिक अनि राजनीतिक बेथितिलाई सुन्नेबित्तिकै कन्सिरीका रौँ तात्ने पुस्ताले मात्रै परिवर्तन ल्याउन सक्छ। अब नयाँ पुस्ताले नेता खोज्ने होइन, बन्ने हो।

अन्त्यमा, शान्ति सम्मेलनमा दलाइ लामालाई सहभागीले एउटा प्रश्न सोधे। दलाइ लामाले उत्तर दिन माइक ताने। सबैजना उत्तर सुन्न व्यग्र थिए। एक मिनेट जति पछि लामाले उत्तर दिए, ‘मलाई थाहा छैन।’  थाहा छैन ? दलाइ लामालाई कसरी थाहा छैन ? कोठामा हल्ला गुन्जियो। उनले थपे, ‘मैले यो बारेमा सोचेको थिइनँ।’

आज हामी अनि हाम्रा नेता के गर्दै छन् ? आफैंलाई सबै थाहा छ भनेर आफूलाई नै भ्रममा पार्दैछन्। झन्, मलाई मात्र थाहा छ अनि मैले मात्र गर्ने हो भन्ने प्रवृत्ति नै हाम्रो राजनीतिको असफलताको कारण बन्दैछ।

विडम्बना ! अबको १५ वर्ष को–को प्रधानमन्त्री बन्छन् अनि अबको राजनीति कुन–कुन पात्रको वरिपरि घुम्छ राजनीतिमा चासो राख्ने जो कोहीले पनि भन्न सक्ने अवस्था छ। अनि ती पात्र सम्झँदा निराशाबाहेक केही छाउँदैन। एक–दुई आशालाग्दा युवा नेताहरू उछिट्टिएर आएछन् भने पनि उनीहरूले आफ्नै संगठनको पासोका कारण नतिजा दिन सक्दैनन्। यसलाई तोड्ने साहसी नेतृत्व चाहिएको छ। चीनको समृद्धिको खाका कोर्ने युवा समूहजस्तै कटिबद्ध टोली चाहिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad