coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अति विशिष्ट पाहुना काठमाडौंमा

प्रधानमन्त्री केपी शर्मा अाेली नेपाल भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर अाङ साङ सुकीसँग शुक्रबार अन्नपूर्ण हाेटेलमा भेटवार्ताका क्रममा। साथमा प्रधानमन्त्री अाेलीपत्नी राधिका शाक्य। तस्बिर साैजन्यः प्रधानमन्त्री कार्यालय

काठमाडौं - काठमाडौंमा शनिबारदेखि आयोजना हुने ‘एसिया प्यासफिक समिट–२०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्। समिटको तयारी पूरा भएको र कार्यक्रममा सहभागी हुन सात देशका अति विशिष्टसहित उच्चपदस्थ अधिकारी काठमाडौं आइपुगेको आयोजक युनिभर्सल पिस फेडेरेसनले जनाएको छ।

कार्यक्रममा सहभागी हुन कम्बोडियाका प्रधानमन्त्री हुन सेन तथा म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी बिहीबार नै काठमाडौं आइपुगेका छन् भने अन्य मुलुकका अति विशिष्ट तथा विशिष्ट पाहुनासमेत शुक्रबार बेलुकासम्म आइपुगेको फेडेरेसनले जनाएको छ। कार्यक्रममा सहभागी हुन तायरोका प्रधानमन्त्री, सामोहका राजा, तुभालुका राष्ट्रप्रमुख लाकोबा तेइआ इटालेनी, नौरुका राष्ट्रपति बारोन वाका, फिलिपिन्सका उपराष्ट्रपति मारिया लियोनर रोब्रेडोलगायतका अतिविशिष्ट काठमाडौं आइपुगेको आयोजक युनिभर्सल पिस फेडेरेसनले जनाएको छ।

कार्यक्रममा सहभागी हुने आउने पाहुनाको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार होटल सोल्टीमा रात्री भोज आयोजना गरेको फेडेरेसनले जनाएको छ। प्रधानमन्त्री ओली र सभामुख कृष्णबहादुर महराका तर्फबाट विदेशी सरकार प्रमुख, राष्ट्रप्रमुख तथा सभामुखको सम्मानमा रात्री भोजको आयोजना गरिएको आयोजकले जनाएको छ।

सम्मेलनमा भारत र पाकिस्तानका पूर्वप्रधानमन्त्री, लाओसबाट नेसनल एसेम्बली प्रमुख, तथा फिजीबाट संसद् प्रमुखलगायत विभिन्न मुलुकका विशिष्ट पाहुना पनि काठमाडौं आइपुगेका छन्। कार्यक्रममा सहभागी हुन ४५ देशका एक हजार पाँच सयजनाले सहभागिता जनाउने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन आउने सरकार प्रमुख तथा राष्ट्रप्रमुखको खानेबस्ने व्यवस्था सोल्टी क्राउन प्लाजामा मिलाइएको छ भने पूर्व सरकार प्रमुख, राष्ट्रप्रमुख तथा सभामुखहरुलाई भने द्वारिका होटलमा बस्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। भारतीय प्रतिनिधिमण्डललाई भने होटल याक एन्ड यतीमा बस्ने व्यवस्था मिलाइएको छ।

‘वर्तमान समयका गम्भीर चुनौतीहरुमाथि सम्बोधन ः अन्तर्निर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता विषयक सम्मेलनमा विभिन्न मुुलुकका सरकार तथा राष्ट्रप्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफलका लागि फरकफरक सत्रको आयोजना गरिने भएको छ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस किसिमको कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउने कार्यक्रम आयोजकको दाबी छ। सम्मेलनको आयोजक नेपाल सरकार नभए पनि अतिविशिष्ट तथा विशिष्ट विदेशी पाहुनाको सुरक्षा प्रबन्धलगायतको जिम्मा सरकारले लिने जनाइएको छ। कार्यक्रममा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मगुरुको पनि उपस्थिति हुने जनाइएको छ।

हुन सेन र सुकीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
यसैबीच एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट काउन्सिलर सुकीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल र कम्बोडिया तथा नेपाल र म्यानमारको सहयोग र सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै सुकीले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेकी छन्। कम्बोडीयाका प्रधानमन्त्री हुन सेनले पनि बिहीबार नै प्रधानमन्त्री ओलीसँग दुईपक्षीय भेट गरेका थिए।

प्रकाशित: १५ मंसिर २०७५ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App