काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई आग्रह गरेका छन्।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको ट्वीटरमार्फत सांकेतिक विरोध गर्दै नेता रावलले राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सरकारलाई आग्रह गरेका छन्।
दक्षिण कोरियाली संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनलाई केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएको छ। धर्म प्रचारक संस्थाका रुपमा परिचित यूपीएफको नेपाल च्याप्टर अध्यक्ष एकनाथ ढकाल रहेका छन्। उनी नेकपाका नेता पनि हुन्। ढकालकै जोडबलमा सुरुमा सरकार एसिया प्यासिफिक सम्मेलनको सह आयोजक बनेको थियो।
जसको प्रमख प्रतिपक्षी नेपाली कांग्रेससहित चौतर्फी विरोध भएपछि सरकार सम्मेलनको सह आयोजकबाट हट्दै सहयोगी मात्रै बनेको छ। साथै सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतको विषय पनि विवादमा परेको छ। कुटनीतिक मर्यादा मिचेर पाहुनाको स्वागतमा गरेको भन्दै आलोचना भइरहेको छ। पाहुनाको स्वागतमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्रिभुवन विमानस्थल पुगेका थिए।
यस्तो बेला नेकपाका प्रभावशाली नेता रावलले सरकार र पार्टी कुनै व्यक्ति र संस्थाको स्वार्थका लागि दुरुपयोग भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका हुन्।
कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु परयो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।
— Bhim Rawal (@BhimRawal179) November 30, 2018
उनले भनेका छन्, ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु प-यो। शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ। नभने सरकारले खोजेर भन्नु पर्छ।’
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा, एराप्रपा (राष्ट्रवादी)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि सम्मेलनलाई लिएर सरकारको भूमिकाको विरोध गरेका छन्।
त्यसै त विश्व रंगमंचमा गुम्दैगएको नेपालको छवी ‘राष्ट्रबाद’को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुर्याउने भए!आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न!२दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है!
— Baburam Bhattarai (@brb1954) November 30, 2018
भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘त्यसै त विश्व रंगमंचमा गुम्दै गएको नेपालको छवी ‘राष्ट्रबाद’को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’हरूले एउटा धार्मिक एनजिओको लोभमा फसेर रसातलमै पुर्याउने भए! आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न! २ दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है!’
यस्तै, राप्रपा अध्यक्ष थापाले धर्मप्रचारक संस्थाले आयोजना गरेको विवादास्पद सम्मेलनमा सहभागी पाहुनालाई गरिएको स्वागत अवान्छित रहेको बताए। उनले ट्वीटरमार्फत सहभागी पाहुनालाई सरकारले गरेको स्वागत पनि प्रचलित कुटनीतिक मान्यता अनुकुल नभएको टिप्पणी गर्दै भनेका छन्, ‘पाहुनाको स्वागत हुनुपर्छ तर मर्यादा विपरित होइन।’
धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागि पाहुनाहरुलाई जुनतहबाट राजकिय सम्मान/स्वागत अर्पण गरिएको छ,त्यो अवांछित छ।प्रचलित कुटनीतिक मान्यता अनुकुल पनि भएन।स्वागत हुनुपर्छ तर मर्यादा विपरित होईन।जनतालाई सास्तिदिने जोरबिजोर गलत/अनाबश्यक छ।यो ज्यादतिको भर्त्सना गर्दछु
— Kamal Thapa (@KTnepal) November 29, 2018
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले सम्मेलनका कारण नेपाल धार्मिक तथा सांस्कृतिक उपनिवेशमा परिणत हुने खतरा बढेको टिप्पणी गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष राणाले सम्मेलनका देखाउने एजेण्डा जलवायु’ परिवर्तन भनिएपनि यसको सार पक्ष नेपालमा क्रिश्चियन धर्मको विस्तार एवं सम्बर्द्धन गर्ने रहेको तथ्य दिनको घाम जत्तिकै प्रष्ट भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
एराप्रपा (राष्ट्रवादी)का अध्यक्ष लोहनीले सम्मेलनमा सरकारको संलग्नतालाई दुर्भाग्यपूर्ण अवस्था भनेका छन्। ‘दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीकरणको लागि नेपालका प्रधानमन्त्री सहित १ हजार ५ सय र दम्पतिलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य हो’, उनले भनेका छन्।
नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठुलाबडाका दम्पतिसहित आशिर्वाद लिने काममा सीमित रहेको उनको आरोप छ। ‘युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दू र बुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहिन हो’, उनले फेसबुकमा लेखेका छन्, ‘एराप्रपा(राष्ट्रवादी) यो अर्थहिन अभियानमा सहभागी हुन चाहँदैन र यसै सन्दर्भमा यस कार्यक्रमको लागि बोलाइएको डिनर निम्ता बहिस्कार गर्दछु।’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि पत्रकार सम्मेलन गरेरै सह आयोजक नबन्न सरकारलाई सचेत गराएका थिए। ‘संविधानले धर्म निरपेक्षतालाई अनुशरण गरेको छ, तर सरकार नै कुनै एक धर्मको प्रचारमा सह–आयोजक बन्न खोज्नु यो संविधानको बर्खिलाफ छ, तुरुन्त सच्याउनुपर्छ’, उनले भनेका थिए।
शान्ति प्रक्रिया, द्वन्द्व, जलवायु र विवाह एवं परिवार संरचनालाई सुदृढ बनाउन विस्तृत छलफल गर्ने कार्यतालिका रहेको सम्मेलनमा विभिन्न ४५ देशका प्रतिनिधि सहभागी छन्।
प्रकाशित: १४ मंसिर २०७५ १०:३१ शुक्रबार