coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

८ हजार ५ सय फिट उचाईमा अल्ट्रालाइट जहाजको इन्जिन फेल हुँदा....

पोखराको आकाशमा शुक्रबार बिहान इन्जिन फेल भएको एभिया क्लवको अल्ट्रालाइट जहाज । तस्बिरः नागरिक

पोखरा- समुन्द्री सतहदेखि झन्डै ८ हजार ५ सय फिट उचाईमा सिंगल इन्जिनयुक्त अल्ट्रालाइट जहाजको इन्जिन फेल हुँदा पनि क्याप्टेन र विमानस्थल टावरका प्राविधिकको दक्षताका कारण दुर्घटनामा पर्नबाट जोगिएको छ । कुनै क्षति बिना जहाज, क्याप्टेन र यात्रु सुरक्षित अवतरण गरेका छन्।

पोखराको आकाशमा अल्ट्रालाईट जहाज उडान गरिरहेको एभिया क्लवको ‘९एन एएलबी कलसाईन’ को ‘फिक्सविङ’ अल्ट्रालाइट जहाजको ८ हजार ५ सय फिट उचाईमा एकाएक इन्जिन फेल भएको थियो । पोखरा विमानस्थलबाट साढे २१ किलोमिटर (११.७ नट्स) टाढा हिमाली भेगको आकाशमा इन्जिन फेल भए पनि अल्टालाइट उडाईरहेका बुल्गेरियन क्याप्टेन सेभेट स्लोभले जहाजलाई सुरक्षित तरिकाले पोखरा विमानस्थलमा अवतरण गराएका थिए ।

‘चालकले एकाएक इन्जिन फेल भयो भन्ने विमानस्थल टावरलाई जानकारी गराए,’ टावर कमाण्ड गरिरहेका प्रबन्धक योगेन्द्र कुँवरले भने, ‘त्यसपछि क्याप्टेनलाई नआत्तिइ फर्किन निर्देशन दियौ। आकाशमा अवतरणको पखाईमा रहेका अरु जहाजलाई होल्ड गराएर अल्ट्रलाइटलाई प्राथमिकता दियौ। कुनै क्षति बिना अल्ट्रालाइट अवतरण भयो।’

कुँवरका अनुसार पोखराबाट एकघण्टाको उडान बुकिङ गरेर चिनियाँ पर्यटक लियू याङमिन अन्नपूर्ण रेञ्जको उडानमा थिए । अन्नपूर्ण प्रथम हिमालको कोर्चन माथि उडिरहँदा अल्ट्रालाइटको इन्जिन फेल भएर एकाएक बन्द भएको थियो । अनि पाइलटले तत्काल विमानस्थल टावरलाई सम्पर्क गरेर आपत्तकालीन अवतरणको अनुमति मागेका थिए ।

यो अल्ट्रालाईट पोखरा विमानस्थलबाट बिहान ८ बजेर ९ मिनेटमा उडेको थियो । उडान भरेको १८ मिनेट पछि ८ बजेर २७ मिनेट जाँदा जहाजको इन्जिन फेल भएको जानकारी चालकले दिएका थिए । त्यसपछि पोखरा फिर्ता बोलाइएकोमा १२ मिनेटमै (८ बजेर ३९ मिनेट जाँदा) अल्ट्रलाइट विमानस्थल अवतरण गरेको थियो ।

इन्जिन फेल भए पनि सुरक्षित तरिकाले अवतरण गराउन चालक र टावर प्राविधिक सक्षम भएको एभिया क्लवकी सञ्चालक नताशा श्रेष्ठले बताइन। ‘निकै नै सुरक्षित अवतरण भयो । यसमा पाइलट र चालकको दक्षता देखिन्छ,’ उनले भनिन, ‘इन्जिन फेल हुँदा मनोवैज्ञानिक रुपमा चालक त्रसित हुन सक्थे । तर, त्यसको व्यवस्थापन टावरका प्राविधिकले गरेका छन।’ उनका अनुसार एभिया क्लव सञ्चालन गरेको २३ वर्ष अवधिमा घटेको यो खालको घटना पहिलो पटक हो।

पोखरा विमनास्थलका प्रमुख भोलाप्रसाद गुरागाँइले सिंगल इन्जिन जहाज ८ हजार ५ सय फिट उचाईमा उडिरहँदा एकाएक इन्जिन फेल भएपनि सुरक्षित अवतरण हुनुमा प्राविधिक सफलता भएको बताए । ‘दुरीका हिसाबले टाढा हुँदा पनि सहजै अवतरण गराउन सकियो,’ उनले भने, ‘जहाज अझै टाढा छँदा इन्जिन फेल भएको भए अन्यत्र कुनै खेतबारीमा वा खुलाचौरमा आकस्मिक अवतरण गराउनुपर्ने अवस्था आउथ्यो।’

प्रकाशित: १४ मंसिर २०७५ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App