७ वैशाख २०८१ शुक्रबार
अन्य

‘कामको प्रकृति हेरेर १० मिनेटमै सेवा प्रवाह गरिरहेका छौं’

श्यामसुन्दर धिमाल, वडाध्यक्ष, चाँगुनारायण नगरपालिका–३

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर पूर्वाधार निर्माण र कार्यालयको सुशासन र सामाजिक जनचेतना फैलाउनेतर्फ अग्रसर हुँदै आइराखेका छौं। २० वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो। जसको कारणले स्थानीय तह अस्तव्यस्त र लथालिंग अवस्थाबाट गुज्रिएको रहेछ। त्यसैले आएको एक वर्षसम्म कार्यालयको सेवा प्रवाह र सुशासनमा नै केन्द्रित भयौं। कार्यालय आउने सेवाग्राहीको कामको प्रकृति हेरेर १० मिनेटमै सेवा प्रवाह गरिरहेका छौं। जनप्रतिनिधि भएपछि पूर्वाधार निर्माणमा फोकस भएका छौं।

कस्ता पूर्वाधार निर्माण गर्नुभयो त ?
जनप्रतिनिधि भएपछि वडामा रहेका दुई किलोमिटर साना सडकलाई विस्तार गरेर चाक्लो बनाएका छौं। गेलाल गाउँदेखि ज्योति लिंगेश्वरको आठ फिटे सडकलाई आठ मिटर चौडा भएको चाक्लो सडक बनाएका छौं। दाहाल गाउँमा दुई सय ६२ मिटरको सडक कालोपत्रे गरेका छौं। यात्रीभैरवदेखि सत्रपाल गणेश जाने आठ फिटे सडकलाई १३ फिटेमा विस्तार गरेका छौं। त्यस्तै गरी महाँकालदेखि जागृतिचोक जाने १४ फिटे सडकलाई १० मिटर चौडासहितको चाक्लो सडक तयार पारेका छौं। उक्त सडक आगामी माघसम्म कालोपत्रे गर्ने योजनासहित धमाधम काम भइराखेको छ। आगामी साढे तीन वर्षभित्रै अहिले ग्राभेल रहेका चार किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएका छौं।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ ?
वडामा खानेपानीको हाहाकार छ। अन्य वडाभन्दा भौगोलिकरूपले अग्लो स्थानमा रहेकाले पनि खानेपानीको हाहाकार भएको हो। खानेपानीका पर्याप्त मुहान नहुँदा खानेपानीको समस्या भएको हो। माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या भएको हो। खानेपानीको समस्या समाधान गर्न वडा कार्यालयले विभिन्न सरोकारवाला निकायसँग छलफल र वार्ता गरिरहेको छ। खानेपानी विभागसँग सहकार्य गरेर पाँच सय घरधुरीको लागि छुट्टै आयोजना सञ्चालन गर्ने चरणमा पुगेका छौं। वडा कार्यालयले वडामा खानेपानी व्यवस्थापनको लागि २० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। त्यसैले अबको साढे तीन वर्षभित्रै वडामा खानेपानीको पर्याप्त आपूर्ति गर्ने योजना बनाएको छु। वडा कार्यालयले तत्कालै एउटा ड्रिप बोरिङ खनेर खानेपानीको व्यवस्थापन गर्नेतर्फ लागेका छौं।

तपाईँको वडामा फोहोरमैला जभाभावी फ्याँकिएका देखिन्छन्, सरसफाई गर्नुुहुन्न ?
वडामा सहरीकरण तीव्र गतिमा भइरहेको छ। जसको कारणले पछिल्लो समय फोहोरमैलाको समस्या देखिएको छ। केही सार्वजनिक स्थानमा फोहोरमैलाका डुंगुर देखिन थालेका छन्। वडामा दुई वटा निजी कम्पनीले फोहोरमैला संकलन गरे पनि पर्याप्त हुन सकेको छैन। त्यसैले कहिलेकाहीँ सार्वजनिक स्थानमा फोहोरमैला देखिएको हो। चाँगुनारायण नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि दीर्घकालीन योजना बनाइरहेको छ। अबको केही वर्षमा व्यवस्थित ढंगले व्यवस्थापन गर्नेछौं। अर्काेतर्फ वडामा खेतीयोग्य जमिन भएकाले कुहिने फोहोरमैला मलखादको रूपमा प्रयोग भइरहेको छ। प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बेला भएको छ।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ ?
वडामा करिव चार सय रोपनी सार्वजनिक जग्गा छ।  वडामा रहेका सार्वजनिक जग्गाको उचित संरक्षण र सम्भार गर्न सकेका छैनौं। वडामा केही रोपनी सार्वजनिक जग्गा मिचिएकै छन्। यति नै भन्ने यकिन तथ्यांक छैन। वडा कार्यालय अहिले पूर्वाधार निर्माण र कार्यालयको सुशासनमा केन्द्रित भएकाले पनि सार्वजनिक जग्गा संरक्षणमा ध्यान पु-याउन सकेका छैनौं। त्यसैले आगामी आर्थिक वर्षदेखि व्यवस्थितरूपमा सार्वजनिक जग्गाको संरक्षण गर्ने योजनासहित अघि बढ्नेछौं।

तपाईँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ ?
२०७२ सालको भूकम्पले वडामा करिब ११ सय भूकम्पपीडतको घर पूर्ण क्षति भएका थिए। तीमध्ये आधाजसो भूकम्पपीडितले आफ्नो घर बनाइसकेका छन्। वडाका सम्पूर्ण भूकम्पपीडितले पहिलो किस्तावापतको राहत रकम बुझिसकेका छन्। दोस्रो किस्ता पाउने भूकम्पपीडितको संख्या साढे तीन सय जति छ। अहिले धमाधम भूकम्पपीडितको भवन बनिरहेको छ। वडामा रहेका करिव एक सय भूकम्पपीडितले भवन निर्माण गर्न सकेका छैनन्। उनीहरूसँग पर्याप्त रकम नभएकाले नै समस्या देखिएको हो। लम्बेतान प्रक्रिया र कानुनी जटिलताले गर्दा केही भूकम्पपीडितले राहत वापतको रकम पाएका छैनन्। वडामा भूकम्प प्रतिरोधात्मक भवन बनाउन २० लाख रूपैयाँभन्दा धेरै लाग्ने गर्छ। केही भूकम्पपीडितले रकम अभावकै कारणले पनि भवन बनाउन सकिरहेका छैनन्।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड १५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। विनियोजित बजेटबाट ३८ योजना अघि सारेका थियौं। तोकिएको समयमा नै सम्पूर्ण योजना निर्माण सम्पन्न गरेका छौं। वडा कार्यालयले नयाँ सडकको ट्रयाक खोल्ने, भएका सडक मर्मतसम्भार तथा स्तरोन्नति गर्ने, खानेपानी र ढल निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढाइरहेका छौं। चालू आर्थिक वर्षको लागि पनि एक करोड ६० लाख रूपैयाँको बजेट विनियोजन गरेका छौं। वडा कार्यालयदेखि लोकतान्त्रिक चोकसम्मको ११ सय मिटर सडकको लागि एक करोड रूपैयाँ विनियोजन गरेका छौं। यो आवमा सात सय ५० मिटर सडकमा ढल बिछ्याउने र तीन सय ५२ मिटर सडक कालोपत्रे गर्ने योजना अघि सारेका छौं। उक्त सडक क्रमागत योजनाअन्तर्गत कालोपत्रे गर्नेछौं। त्यस्तै गरी खानेपानी, सडक लगायतका अन्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
मेरो कार्यकालसम्म वडालाई पूर्वाधारमैत्री र सुशासनयुक्त बनाउने योजना छ। सकेजति सडक, खानेपानी र ढलको दीर्घकालीन योजना बनाएर काम गरिरहेका छौं। वडा ऐतिहासिक चाँगुनारायण मन्दिर नजिकै पर्छ। त्यसैले चाँगुनारायण मन्दिर परिसरमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाएर समृद्ध वडा बनाउने लक्ष्य राखेको छु। चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्म नयाँ पदमार्ग बनाउनेतर्फ केन्द्रित भइराखेका छौं।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १४ मंसिर २०७५ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App