४ वैशाख २०८१ मंगलबार
अन्य

लोकप्रिय पञ्जाबी फुड

लाइनैसँग राखिएका थरिथरिका खानाका स्टलहरू। स्टलका भित्तामा बलिउडका चर्चित पुराना कलाकारका पोस्टर टाँसिएका थिए।

सेफहरू माटोको भाडामा विभिन्न थरिका खान्की पकाउन व्यस्त थिए भने वेटरहरू पाहुनाको स्वागतका लागि आतुर।

टाउकोमा पञ्जाबी फेटा बाँधिएर उभिएका वेटरहरू जुस दिएर पाहुनालाई स्वागत गर्दै थिए। उनीहरूले एकै किसिमको पहिरन लगाएका थिए। स्टलमा आरामदायी तरिकाले बसेर खाने व्यवस्था मिलाइएको थियो। लाग्थ्यो– कुनै पञ्जाबको ढावामा पुगिएको छ। तर, यो दृश्य पञ्जाबको ढावाको होइन, शुक्रबार सोल्टी होटलमा राखिएको पञ्जाबी फुड फेस्टिबलको हो।  

पञ्जाबी ढावाबाहिर राखिएको कृत्रिम ट्रक, बाँसको चित्राले तयार पारिएको ढावा निकै आकर्षित देखिएको थियो। पञ्जाबी खानाको स्वाद लिइरहेका पाहुनाहरू पञ्जाबी गीतमा झन् आनन्दित देखिन्थे।

सोल्टी होटलले आयोजना गरेको फुड फेस्टिबलमा भारतीय राजदूत मञ्जिभ सिंह पुरीले रिवन काटी ढोल बजाएर ‘ह्याप्पी सिंङदा ढावा’ को सुरुवात गरेका थिए।

‘ह्याप्पी सिंङदा ढावा’मा थरिथरिका पञ्जाबी परिकार खान सकिन्छ। यहाँका परिकारको स्वाद र सजाइएको डेकोरेसनले जोकोहीको पनि मन लोभ्याउन सक्छ।

रामेश्वर खत्रीले सेफको रूपमा काम गरेको २६ वर्ष भइसक्यो। उनी त्यहाँका मुख्य सेफ हुन्। उनी भन्छन्, ‘ह्याप्पी सिंङदा ढावा’को लागि भारतको पञ्जाबबाट पञ्जावी फुडका अनुभवी सेफ मगाइएको छ, हाम्रो उद्देश्य पाहुनालाई चित्तबुझ्दो खाना खुवाउन सकियोस् भन्ने हो।’

केही लोकप्रिय पञ्जाबी परिकार
काठमाडौंको सोल्टी होटलले आयोजना गरेको फुड फेस्टिबलमा राखिएको ‘ह्याप्पी सिंङदा ढावा’ मा राखिएका पञ्जाबी फुडका लोकप्रिय परिकारमध्ये केही यसप्रकार छन्।

सर्सोदा साग, मकेकी रोटी
सर्सोदा साग, मकेकी रोटी पञ्जाबी परिकारमध्ये चर्चित छ। सर्सोको सागलाई खुडेर लेदो बनाएर तयार पारिन्छ। जिरा, लसुन र सुकेको खुर्सानीको स्वादमा तयार पारिने सर्सोको सागमा मकैको रोटी निकै रुचाइने सेफ खत्री बताउँछन्। मकैको पिठो, नुन, मैदाको थोरै मात्रा मिलाएर तयार पारीएको पिठोबाट रोटी तयार पारिन्छ। मकैको रोटीलाई तन्दुरमा राखेर पकाउदा मकैको रोटीको स्वाद निकै मिठो आउने खत्री बताउँछन्  

छोले भटुरे
छोले भटुरे पञ्जाबी खानाको परिकारमा रुचाइएको खानाको परिकार हो। छोला र भटुरेको पारखी जो कोहि हुन सक्छ। ठूलो चनामा गरम मसलाको प्रयोग गरेर तयार पारिएको छोला पञ्जाबीहरूको मुख्य डिस नै रहेको खत्री बताउँछन्। उनी भन्छन्, ‘पञ्जाबी डिसमा छोले भटुरे मन नपराउने र यसको बारेमा थाहा नपाउने सायदै कोही होला।’
यो नेपाली भान्छामा पनि निकै रुचाइएको परिकार रहेको उनको भनाइ छ। घरमा सजिलै बनाउन सकिने भएकाले छाले भटुरे नेपालीहरूको प्रिय परिकार बनेको उनले बताए।

दाल मखनी
दाल मखनी पञ्जाबीले रुचाइको परिकार हो। अडहरको दाल र राजमा मिसाएर तयार पारिने दाल मखनीमा क्रिम र बटरको स्वाद पाउन सकिन्छ। दाल मखनी प्रायः तन्दुरी नान, रोटी र भातसँग खाने गरिन्छ। दाल मखनीलाई सानो आँचमा पकाएर तयार पारिने भएकाले गरम मसलाको स्वादले निकै स्वादिलो हुने खत्री बताउँछन्।

कडी पकौडा
पकौडा कडीमा, प्याज र बेसनबाट पकौडा तयार पारिन्छ भने दहीबाट कडी बनाइन्छ। कडीमा थोरै बेसन मिसाएर गरम मसला र आवश्यक अन्य मसलाको प्रयोग गरेर तयार पारिएको कडीमा बेसन र प्याजबाट तयार पारिएको पकौडा माथिबाट राखेर एकछिन पकाएर तयार गरिन्छ। पकौडा र कडीको स्वाद निकै रुचाइएको सेफ खत्री बताउँछन्। 

पनिर टिक्का
पनिर टिक्का स्पाइसी स्वादको हुनाले मरमसला खान रुचाउनेहरूको मन पर्ने खानाको परिकार हुन सक्छ। पनिरका पारखीहरूलाई यसको स्वाद निकै मनपर्ने खत्रीको अनुभव छ। यो भेजिटेरियनहरूको लोकप्रिय परिकार रहेको उनी बताउँछन्। पनिर र मसलाको कम्बिनेसन मिलाउन सके यो अझै स्वादिलो बन्ने खत्रीको भनाइ छ।

राजमा चावल (भात)
राजमा दाल (गेडागुडी) को परिकार हो। अन्य दाललाई बनाउने तरिका र राजमालाई बनाउने तरिकामा केहि फरक रहेको खत्री बताउँछन्। राजमा चावल पञ्जावीको मात्रै होइन, नेपालीको पनि मनपर्ने परिकार हो। पछिल्लो समय नेपालीहरूको भान्छामा समेत यो परिकार पाक्ने गरेको छ। यसलाई गरम मसला, टमाटर र प्याज राखेर बनाए अझै स्वादिलो हुन्छ।

बटर चिकेन
चिकेन खान मनपराउनेहरूको लागि पञ्जाबी बटर चिकेन मनपर्ने खानाको परिकार हुन सक्छ। म्यारिनेट गरि एक घन्टासम्म राखिएको चिकेनलाई तेलमा प्याज र अन्य फुराइएका मसलासँगै सानो आँचमा फ्राई गरेपछि, क्रिम र बटर राखेर सानो आँचमा केही बेर पकाएपछि यो परिकार तयार हुन्छ। बटर चिकेनमा बटरको स्वाद पाउन सकिन्छ। बटर चिकेनलाई रोटी अथवा नानसँग खान सकिन्छ।

मुर्गा मलाइवाला
मुर्गा मलाइवालामा क्रिम र बदामको छुट्टै स्वाद पाउन सकिन्छ। मासुमा राखिने गरम मसला, लसुन, अदुवाको पेस्टलगायत मसलाको प्रयोग गरेर यो परिकार बनाइन्छ। यो परिकार धेरैको रोजाइमा परेको खत्री बताउँछन्। चिकेनलाई क्रिमको स्वादमा खान सकिन्छ।

भट्टिँदा मुर्गा
भट्टिँदा मुर्गालाई चिकेनको लेग पिसबाट तयार गरिन्छ। रातभर म्यारिनेट गरिएको लेग पिसलाई चारकोल ग्रिलमा मजाले पकाइन्छ। जुसी र क्रन्ची मिक्स भएको भट्टिँदा मुर्गा पञ्जाबीहरूको मनपर्ने परिकार मानिन्छ।

प्रकाशित: १४ मंसिर २०७५ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App