coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

स्वस्थ रहन पार्क

कोही घ्यूकुमारीको जुस सुरुप्प तान्दै थिए त कोही ब्याटमिन्टनमा रमाउँदै। कोही पार्कभित्रको गोरेटो बाटोमा दौडिरहेका छन्। तन्नेरी उमेरका देखिने कोही गाउँदै, पढ्दै र अन्य सिर्जनात्मक काममा व्यस्त देखिन्थे। मंगलबार बिहानै ललितपुरस्थित युएन पार्कमा पुग्दा यस्तै दृश्य देखियो।

रमाइलो गर्न, घाम ताप्न, भलाकुसारी जस्ता क्रियाकलाप गर्न पार्कमा पुगिन्छ भन्ने धेरैलाई लाग्न सक्छ। तर, उपत्यकाका पार्कमा पछिल्लो समय सिर्जनशीलता र शारीरिक अभ्यासको लागि पुग्नेको संख्या पनि उत्तिकै बढ्दो छ। ललितपुरको युएन पार्क पनि त्यसको एउटा उदाहरण हो। यो पार्कमा रमाउनेको भन्दा सिर्जना गर्ने, छलफल गर्ने, निर्णय र योजना गर्ने मानिसहरू बढी पुग्ने गरेका छन्। पार्कको एक छेउमा बसेर उनीहरू आफ्नो काम कारबाही र योजनाको बारेमा छलफल पनि गर्ने गर्छन्। मंगलबार एउटा यस्तै योजना बुन्दै थिए, च्यासलका रमेश महर्जन। उनी आफूले गर्ने कार्यालयका कामको बारेमा छलफल गर्न यही पुग्ने गरेको सुनाए। ‘पार्कमा आएपछि खुला भएर सोच्न पाइन्छ, हल्ला पनि हुँदैन,’ उनले सुनाए, ‘तर, जहाँतही पार्क छैनन् र पो समस्या छ।’

यहाँको पार्कमा धेरै थरिका मानिस भेटिन्छन्। रमाइलो गर्ने र व्यायाम गर्नेको संख्या त झन् बढ्दो छ। सहरको अस्वस्थकर खानेकुरा, वातावरणीय प्रदूषण, व्यस्त जीवनशैली र व्यायामको कमीले विभिन्न स्वास्थ्य समस्याहरू बढिरहेको बेला मानिसहरू आफूलाई स्वस्थ राख्न पार्कमा पुग्ने गरेको पाइन्छ।

प्रहरी निरीक्षकको तयारी गरिरहेका शंखमूल बस्ने विनय योगी (१९) ले युएन पार्कमा कसरत गर्न आएको सुनाए। ‘हामी यहाँ आउन थालेको महिनौं भयो। उनले भने, ‘यहाँ अव्यवस्थित भीडभाड र सवारीको साधनको टाँटाँटुँटुँ छैन, फेरि काठमाडौंमा अन्त व्यायाम गर्ने ठाउँ नै छैनन्। त्यसैले यहाँ आउने गरेको छु।’

नियमितरूपमा ९ वर्षअघिदेखि श्रीमतीसँग युएन पार्क ‘मनिङ वाक’मा आउन थालेको पर्जमान तपोलले आफ्नो शारीरिक समस्या हट्दै गएको बताए।

‘पार्कमा आउन थालेपछि सुगर नियन्त्रण भएको छ। प्रेसर पनि सन्तुलन भएको छ। यस्तो खुला ठाउँमा घुमेर गएपछि दिनभरि दिमाग ताजा हुन्छ,’ उनले भने, ‘लापरबाहीको कारणले नेपालमा २० प्रतिशतलाई सुगरको समस्या छ। अल्छी गरेर बिहान अबेरसम्म सुत्दा पूरै आलस्य हुने, मोटाउने, सुगर बढ्ने र प्रेसर हुने डरले नियमित यहाँ आएर कसरत गर्छु।’

युएन पार्कमा ‘मनिङ वाक’मा आउन थालेपछि स्वतन्त्र महसुस हुन थालेको ७७ वर्षीय जयराज शाक्यले बताए। ‘म १७ वर्षअघिदेखि यहाँ नियमित रूपमा आउने गरेको छु,’ उनले भने, ‘अरू ठाउँ खुला छैन। बिहान घुमेर गइसकेपछि दिनभरि दिमाग ताजा हुन्छ।’

थापाथलीकी ५७ वर्षीय वसन्ती जोशीले ‘मनिङ वाक’ सुरु गरेपछि स्वास्थ्य राम्रो भएको बताउँछिन्। ‘पोहोर जाडाको कारण ‘मनिङ वाक’ गर्न छाडेपछि  ह्वात्तै सुगर बढ्यो। अहिले ‘मनिङ वाक’ मा आउन थालेपछि फेरि सुगर नियन्त्रण आएको छ,’ उनले भनिन्, ‘यहाँ आएपछि मन प्रफुल्ल हुन्छ। ‘मनिङ वाक’ले मन र शरीरमा फुर्तिलोपन बढ्छ र त्यसै रोग निको हुने रहेछ।’

जीवन योग प्रयोगशाला युएन पार्कका अध्यक्ष रामप्रसाद पन्थीले योगसाधनाले पाचन, मांसपेशी, रक्तसंचार, श्वासप्रश्वास, स्नायु प्रणाली गरी शरीरका ९ वटै प्रणालीहरूमा समन्वयता तथा सन्तुलन आउने बताए। ‘अस्वस्थकर खानेकुरा, दूषित वातावरण र बेफुर्सदीले जीवनशैली कष्टकर बन्दै गएको छ,’ उनले भने , ‘हामीमा संगीतमय योगसाधनाले फुर्तिलोपन बढाउँछ र स्वस्थ रहन सहयोग पु-याउँछ।’

प्रकाशित: १४ मंसिर २०७५ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App