सम्मेलन र सम्यकस्मृति

शुक्रबार, १४ मङि्सर २०७५, ०८ : २१ सरोज धिताल

काठमाडौँ उपत्यकामा अनेक राष्ट्रिय कार्यक्रममात्र हुने हैन, वर्खायामलाई छलेर क्षेत्रीय, अन्तर्राष्ट्रिय सभा/सम्मेलन पनि बग्रेल्ती भइरहेका हुन्छन्। कुनै  ठुला हुन्छन्, कुनै साना। कुनैले प्रशस्त चर्चा पाउँछ, कुनैले कम। देशको संघीय राजधानी रहेको ऐतिहासिक उपत्यकामा यसरी क्षेत्रीय, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू भइरहनु र सस्ता घुमन्तेलाई मात्र हैन, सम्मानित पाहुनाहरूलाई समेत आतिथ्य प्रदान गर्ने अवसर भइरहनु राम्रै हो।

यस्ता पाहुना आउँदा हुने अर्को फाइदा पनि छ। आफ्नो घरायसी हालत के रहेछ भन्ने थाहा हुन्छ। त्यसकारण पनि यसलाई राम्रै अवसरका रूपमा लिनुपर्छ। अहिले फेरि हामी हाम्रो हैसियत देखिरहेका छौंँ। डेढ हजार पाहुना भित्रँदा सडक व्यवस्थापन गर्न यति गाह्रो भएको छ कि फेरि उही जोर÷बिजोरको खेल खेलाउनुपरेको छ। यो खेलमा दुःख पाउने जनताले हो। अर्थात जुन अन्तर्राष्ट्रिय कार्यक्रमको चर्चा भइरहेको छ, त्यसका लागि जनताले पनि जबर्जस्ती लगानी गरिदिनुपरेको छ, योगदान गर्नुपरेको छ– आफ्नो असुविधा, अप्ठ्यारा र अनावश्यक दुःखको मूल्यमा। जनतालाई जबर्जस्ती गर्न लगाइएको त्यो योगदानको कुनै मूल्य नहुनु अर्कै कुरा हो तर यति भने बुझ्नु आवश्यक छ– हाम्रो जस्तो पूर्वाधार, व्यवस्थापन क्षमता आदि हरेक पक्षमा  पछाडि परेको देशका लागि यस्ता कार्यक्रम कति महङ्गा भएका छन् भन्ने कुराको आकलन कति पैसा खर्च भएको छ भन्ने अर्थमा भन्दा पनि जनतालाई गर्न लगाइएको त्यही लगानीको अर्थमा हुनुपर्छ। कुन उद्देश्यका निम्ती, कति प्रभावकारी र ककसलाई प्रत्यक्ष फाइदा हुनेगरी भएका छन् यस्ता सभा/सम्मेलन ? जानिफकारहरूले हिसाबकिताब गरे निस्कँदो हो, सामान्यतया जनसाधारणलाई भने थाहा हुँदैन।

भर्खरै जन्मेका निर्दोष बच्चाहरू, हुर्किसकेका निर्मलाहरू, अनाहकमा दुःख पाउँछन्, मर्छन्। घाँसको भारी बोकेर फर्कंदै गरेकी आमा ‘आतङ्कवादी’ भनेर गोली खान्छिन्...। सम्भवतः यी सबै परिस्थितिका उपज हुन्।

अहिले जताजतै चर्चामा रहेको युपिएफ सम्मेलनलाई कसैकसैले ‘क्रिस्चियनहरूले गरेको’ भन्ने हल्ला गरे तापनि पाहुनामा सर्वाधिक चर्चित भने बौद्ध परिवारमा जन्मिएका बर्माकी अङ्सान स्यु क्यी र कम्बोडियाका हुन सेन बनेका छन्। उनीहरू बौद्धमार्गी भनेर चिनिनुको कारणमा खान्दानी परम्परा वा व्यक्तिगत आस्था जेसुकै होस्, बौद्धका मार्गको स्वत्वमा कति इमान्दार भएर उनीहरू कर्म गरिरहेका छन् भन्ने प्रश्नको उत्तर पनि जेसुकै आओस्, उनीहरूको उपस्थिति कार्यक्रममा फराकिलो सहभागिता देखाउनका लागि होस् वा इसाई ट्याग पुछ्नका लागि होस्, शान्तिका निम्ती भनिएको सम्मेलनमा शासकीय हैसियतका यी दुई पाहुनाको इतिहासमा अशान्तिका केही आला पुराना खतले सुनाउने कथा जे÷जस्तो होस्, यो हैसियतका पाहुना आउनु राम्रै कुरा हो। यो परिमाणको भेलाबाट देशले लिनुपर्ने र लिन सक्ने फाइदा भने लिनैपर्छ। तर त्यो के हो? जनसाधारणलाई अझै थाहा छैन।  

यो खाल्डोमा यस्तै ठूलो आकारका र उल्लेख्य तामझामका साथ हुने सभा/सम्मेलनबाहेक सयौँ ससाना कार्यक्रम पनि दिनहुँ भइरहेका हुन्छन्। तिनका उद्देश्य र प्रभावकारिताबारे पनि खोजी गरे पत्ता लाग्दो हो। तर धेरैजसो त्यति चर्चित हुँदैनन् र तिनको उपादेयताबारे जनसाधारणलाई खासै थाहा हुँदैन।

सधैँंझैंँ यो हप्ता पनि उपत्यकामा थरीथरीका विभिन्न कार्यक्रम भए होलान्। यिनैको भीडमा केही दिनअघि मात्र एउटा सानो कार्यक्रम भएको थियो जो सहभागीका निम्ती सार्थक थियो र सन्देशका हिसाबले महत्वपूर्ण। त्यो भेलाका पण्डित थिए– नाम चलेका मनोवैज्ञानिक रिचार्ड डेभिड्सन। पूर्वीय ध्यान पद्धति र आधुनिक मनोवैज्ञानिक अनुसन्धानका बीच सेतुको भूमिका निर्वाह गरेकामा धेरैबाट स्याबासी पाएका र बौद्धधर्मको पक्षपोषण गरेको भनेर केही पश्चिमा सहकर्मीबाट भने आलोचना पनि खेपेका यी ६८ वर्षीय विद्वान् आफ्नो प्रवचनभरि एउटै कुरामा विशेष जोड दिइरहेका थिए– साँच्चै स्वस्थ रहनु भनेको ‘सिप’को कुरा हो। र त्यो ‘सिप’ हो– करुणा। यो तथ्य रिचार्डले आफैँ कल्पना गरेको कुरा हैन। अरु वैज्ञानिकका शोधले समेत पहिल्यैदेखि बारम्बार पुष्टि गर्दै आएको कुरा हो– वासनापरक (हेडिनिक) खुसी र सम्यक (युडेमोनिक) खुसीले मानव शरीर प्रणालीमा पार्ने प्रभाव बिल्कुलै फरक हुन्छन्। करुणाको अभ्यासले सम्यक खुसी प्राप्त हुन्छ र त्यसको प्रभाव शरीरविज्ञानका हरेक पक्षमा सकारात्मक हुन्छ। ‘मै खाउँ, मै लाउँ, सुखसयल वा मोज म गरुँ...’ भन्नेहरू भने वासनापरक खुसी प्राप्त गर्न सक्छन् तर त्यसकिसिमको ‘खुसी’को प्रभाव भने हानिकारक हुन्छ।    

यति ठूलो सम्मेलनको चर्चा भइरहेको छ। यो सम्मेलनमा हाम्रो आजको कर्मले हाम्रो आफ्नै भोलि र भविष्यका पुस्ताका निम्ती कस्तो परिस्थितिसिर्जना गर्दैछौँ, कस्तो गर्नुपर्ने हो, यीबारेमा केही गम्भीर छलफल पनि भइदिए कति राम्रो हुँदो हो।

सहानुभूति, दया र करुणालाई हामीमध्ये धेरैजसो प्रायः एउटै ठान्दा रहेछौँ। यिनका बीचको तात्विक भिन्नताका बारेमा बौद्ध गुरुहरू बेलाबेलामा बोलिरहेका हुन्छन्। करुणा बोधिचित्तसँग जोडिएको कुरा हो। अरुलाई दुःखबाट मुक्त गर्ने स्वस्फूर्तता हुन्छ बोधिचित्तमा। त्यसैले आफ्नो सुविधा क्षेत्र (कम्फर्ट जोन) बाट कुनै पनि बेला बाहिर निस्किएर अरुलाई दुःखबाट मुक्त हुन मद्दत गर्न तत्पर रहन्छन् बोधिचित्त भएका मानिस। त्यो बोधिचित्तको आधार हो– करुणा। अरुका दुःखमा ह्वाँ ह्वाँ रुनुले कसैको कमलो मन देखाउँछ, करुणाका निम्ती त्यो हृदयमा ऊर्वर भूमि रहेछ भन्ने कुरा देखाउँछ। तर सहानुभूति नै आफैँ करुणा भने हैन। करुणाबिनाको सहानुभूति, जसमा अरुका पीडालाई आत्मसात गर्दै रुने काममात्र हुन्छ, दुःखको स्वत्व बुझ्ने र त्यसको निवारणको उपायबारे सोच्ने, दुःख निवारणको त्यो सुकर्ममा नै सामेल नभई आफैँमात्रै दुःखीमात्र हुँदा कसैलाई केही फाइदा हुँदैन। प्रश्नोत्तरका क्रममा रिचार्डले त्यो भिन्नता  स्पष्ट पार्दै भने– ‘करुणाबिनाको सहानुभूति ‘विषालु’ हुन सक्छ, त्यसबाट कुनै सकारात्मक उपलब्धि हुँदैन।’ हो, मन कमलो छ भने त्यहाँ करुणा विकास गर्न सम्भव भने हुन्छ तर कोमल मन आफैँमा करुणा भने हैन रहेछ।

बर्मेली नागरिकका लागिमात्रै श्रद्धेय ‘डाउ स्यु’ (स्यु म्याडम) वा ‘आम्ये स्यु’ (स्यु आमा) बनेकी हैनन् आङ सान स्यु क्यी। संसारभरिकै मानिसका निम्ती त्यति प्रिय भएकी थिइन् ती। उनी त करुणाकी खानी हुनुपर्ने हो। तर रोहिन्ज्याको सवालमा आफ्नो सुविधा क्षेत्रबाट निस्कन किन नसकेकी होलिन् ? यो सहरमा भइरहेको यत्रो शान्ति सभामा यो प्रश्न उठेछ भने उनले के उत्तर देलिन् ? छोक्न्यि रिन्पोचे भन्छन्– हामीमध्ये जसको मनमा पनि बुद्ध चित्त बेलाबेलामा झुलुक्क देखा पर्न सक्छ। तर त्यो प्रकाश बीजलाई ज्वाला बनाउन भने मेहनत गर्नुपर्छ। ‘डाउ स्यु’ले प्राप्त गरेको नोबेल पुरस्कार त्यो झिल्कोका निम्तीमात्रै थियो त? के त्यो कहिल्यै ज्वाला बन्न सकेन? कि सत्ताको इनारमा, छेउछाउका जर्सा’पहरूका डरमा त्यो झिल्को प-यो र म-यो?

कुनै पनि घटना हुनुको कारण हुन्छ। त्यो घटना हुने परिस्थिति हुन्छ। ‘कारण’ प्रायः मानिसको कर्मसँग प्रत्यक्ष जोडिएको हुन्छ भने ‘परिस्थिति’ अनेक मानिसको कर्मको योगसँग। दुःख नपाउनुपर्ने असल मानिसहरूले इतिहासमा अनेक दुःख पाएका छन्। मर्नै नपर्ने मानिस अनाहकमा मारिएका छन्। नालन्द विश्वविद्यालयका विद्वान्हरू, शिक्षार्थी र भिक्षुहरू, महत्वाकांक्षी आततायी पराईहरूबाट क्रूरतापूर्वक त्यत्तिकै मारिएका थिए। सिन्धु उपत्यकाको त्यति पुरातन सामाजिक न्यायपूर्ण सभ्यता त्यसै तहसनहस भएको थियो। भर्खरै जन्मेका निर्दोष बच्चाहरू, हुर्किसकेका निर्मलाहरू, अनाहकमा दुःख पाउँछन्, मर्छन्। घाँसको भारी बोकेर फर्कंदै गरेकी आमा ‘आतङ्कवादी’ भनेर गोली खान्छिन्...। सम्भवतः यी सबै परिस्थितिका उपज हुन्।

परिस्थिति धेरै मानिसको कर्मको योगको उपज हो। विगतका केही पुस्ता र हाम्रा कर्मले तयार गरेको परिस्थिति हो अहिलेको अशान्ति, वातावरणीय समस्या, मानव जातिका विरुद्ध अनेक जीवाणुले गर्न थालेको महायुद्ध। विगत र हाम्रो पुस्ताकै संयुक्त कर्मले सिर्जना गरेको परिस्थिति हो हामीलाई प्राप्त शान्ति, न्याय र समृद्धिको सम्भावना पनि। हामी प्रत्येक पल भावी पुस्ताका निम्ती र आफ्नै भोलिका निम्ती अनेक परिस्थिति तयार गर्दैछौंँ। निभेको प्रकाशबीज जस्तो भएकी स्यु क्यी र ‘बुद्धम् शरणम् गच्छामि’ भन्दै, सुन्दै हुर्केर पनि कठोर तानाशाहका रूपमा चिनिएका हुनसेनका कर्महरू पनि हाम्रा कर्मसँगै एकाकार हुने हुन्।

यति ठूलो सम्मेलनको चर्चा भइरहेको छ। यो सम्मेलनमा हाम्रो आजको कर्मले हाम्रो आफ्नै भोलि र भविष्यका पुस्ताका निम्ती कस्तो परिस्थितिसिर्जना गर्दैछौँ, कस्तो गर्नुपर्ने हो, यीबारेमा केही गम्भीर छलफल पनि भइदिए कति राम्रो हुँदो हो। जनताको समेत ठूलो लगानी भइरहेकोछ यो जमघटमा।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad