coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कतै वृद्धाश्रम सञ्चालनमा, कतै अन्योलमा

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ वुङमा वृद्धाश्रम सञ्चालनमा आएको छ। गत असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो। सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति सर एडमन्ड हिलारीको सहयोगमा निर्माण भएको वृद्धाश्रममा अहिले छेस्कामका ८० वर्षीय सिंहबहादुर राई बस्दै आएका छन्। स्वास्थ्य क्लिनिक परिसरमा सञ्चालित १० जनाको क्षमता रहेको वृद्धाश्रम द पार्टनर्स नेपाल र पहाडी विकास तथा संरक्षण समूह वुङ नेपालको सहयोगमा सञ्चालनमा आएको हो।

वृद्धाश्रममा हरेक वडाका दुई/दुई जना कोटा निर्धारण गरी परिवारमा कोही नभएका वा परिवारबाट अपहेलित वृद्धवृद्धा छनोटको कार्य चलिरहेको सञ्चालक समितिका कोषाध्यक्ष पर्खिधन नाछिरिङले जानकारी दिए। उनले भने, ‘गाउँघरमा कष्टकर रूपमा एक्लो जीवन बिताइरहेका वृद्धवृद्धाका लागि आश्रम निकै उपयोगी ठानिएको छ।’

‘सर एडमन्ड हिलारी स्मृति संग्रहालय तथा वृद्धवृद्धा हेरचाह केन्द्र’ नाम दिइएको आश्रममा सुविधासम्पन्न आवासका साथमा बेग्लै भान्साकोठा, सुरक्षित पिउने पानी, हिँडडुल गर्न खुला चौर, मनोरञ्जनका लागि टेलिभिजनको व्यवस्था मिलाइएको छ। आश्रमनजिकै स्वास्थ्य क्लिनिकसमेत सञ्चालनमा छ। सिंहबहादुर राईले एक्लोपनको व्यथा साट्दै भने, ‘निकै दुःखका साथ काटिरहेको जिन्दगीलाई यो आश्रमले सहज बनाएको छ।’ वृद्धाश्रम निर्माणमा सहयोग गरेको महाकुलुङ गाउँपालिकाले आश्रम सञ्चालनका लागि १० लाख विनियोजन गरेको छ। गाउँपालिका अध्यक्ष सागर किरातीले सञ्चालनमा निरन्तर सहयोग गर्ने बताए। उनले भने, ‘डाँडामाथिको घामजस्तै बनेका एक्ला वृद्धवृद्धाको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु स्थानीय तहको धर्म हो। त्यसकारण पनि आश्रम सञ्चालनमा बर्सेनि सहयोग गर्नेछौं।’ उनले आश्रम निर्माणले एक्लो जीवन बिताउन घर छाडेर खर्कतिर जाने वृद्धवृद्धालाई सहज हुने विश्वास व्यक्त गरे।

मंसिरभरिमा १० जना वृद्धवृद्धा छनोट गरी आश्रम सञ्चालनमा ल्याउने सञ्चालक समितिको तयारी छ।

नेचामा वृद्धाश्रम सञ्चालनमा अन्योल
जिल्लाकै नेचासल्यान गाउँपालिका–३ नेचावेतघारीमा निर्माण सम्पन्न भइसकेको वृद्धाश्रम सञ्चालनमा अन्योल देखिएको छ। ०७२ सालमा निर्माण सुरु गरी गत वर्ष सम्पन्न गरिएको दुईतले चारकोठे उक्त वृद्धाश्रम कसले सञ्चालन गर्ने भन्नेबारे अन्योल देखिएको हो। आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकाको ५ लाख र त्यसअघि पटकपटक गाविसबाट विनियोजित रकम गरी १० लाख रुपैयाँभन्दा बढीको वृद्धाश्रम निर्माण गरिएको हो।

आश्रम सडकको छेउमा र वृद्धवृद्धालाई घुमफिर गर्न तथा घाम ताप्न खाली ठाउँ नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्। ज्येष्ठ नागरिक सञ्जालको अगुवाइमा बनेको आश्रम सञ्चालन स्थानीय स्तरबाटै हुनुपर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलले पूर्वाधार निर्माणमा सहयोग गरे पनि आफ्नै मातहतमा सञ्चालन गर्न भने नसकिने स्पष्ट पारे। उनले भने, ‘सरोकारवालाकै भेलाबाट सञ्चालक समिति गठन गरी सञ्चालन गरे गाउँपालिकाले सक्दो सहयोग गर्नेछ। सञ्चालनको जिम्मा लिनुपर्छ भन्ने पक्षमा भने गाउँपालिका छैन।’

सञ्जालका अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईले परिवारबाट अपहेलित वृद्धवृद्धा आए राख्ने बताए पनि सञ्चालनको प्रस्ट खाका भने बनिसकेको छैन। ८३ वर्षीय भट्टराईले नै वृद्धाश्रम निर्माणका लागि करिब १५ आना जग्गा निःशुल्क प्रदान गरेका हुन्। आश्रम क्षेत्रमा एउटा शौचालय र शिव–पार्वतीको मन्दिरसमेत स्थापना गरिएको छ। एक वर्षअघि वृद्धाश्रम सञ्चालनका लागि भन्दै एसियन हेरिटेज फाउन्डेसनले मनोरञ्जनका सामग्री (हार्मोनियम, मादल र चाँप) का साथमा नगद ८ हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो।

फाप्लुको वृद्धाश्रम अलपत्र
यता, सोलु दूधकुण्ड नगरपालिका–४ फाप्लुमा २०६७ सालबाट निर्माण सुरु गरिएको वृद्धाश्रमले अझै पूर्णता पाउन सकेको छैन। जिल्ला अस्पताल फाप्लुदेखि लगभग २ सय मिटर माथि रहेको वृद्धाश्रममा चारवटा कोठा छन्। वृद्धाश्रम सेवा सदनको भवन निर्माण सुरु भएदेखि हालसम्म ३० लाखभन्दा बढी खर्च भइसकेको छ। भवन निर्माणका क्रममा अनियमितता भएको भन्दै स्थानीयहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दासमेत दर्ता गराएका छन्।

वृद्धाश्रम व्यवस्थित हुन आवश्यक पर्ने खानेपानी, विद्युत्, किचेन तथा कार्यालयसमेत तयार भएका छैनन्। भवन निर्माणका लागि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले पटकपटक गरी २४ लाख बजेट उपलब्ध गराएको थियो भने तत्कालीन जिल्ला विकास समिति र हालको सोलु दूधकुण्ड नगरपालिकाले समेत बजेट उपलब्ध गराएको छ। तर, वृद्धाश्रमका संस्थापक अध्यक्ष आङङिमा लामाले बजेट अभावले समयमै भवन निर्माण सम्पन्न गर्न नसकिएको बताए। उनलले भने, ‘टुक्रे बजेटका कारण आश्रम निर्माणमा समस्या आएको हो। यस्तै अवस्था रहे भवन निर्माणको कामले पूर्णता पाउन केही वर्ष पर्खनुपर्छ।’

प्रकाशित: १४ मंसिर २०७५ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App