coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अझै भएन संसद् भवन निर्माणको सुरु

काठमाडौं - सरकारले नयाँ संसद् भवन सिंहदरबारको पुतली बगैंचामा बनाउने भनिए पनि भवन निर्माणको सुरसार अझै गरेको छैन। सरकारले संसद्को नयाँ भवन सिंहदरबारमा बनाउने विषयमा गत साउनमा नै निर्णय गरे पनि नयाँ संसद भवन कुन मोडेलमा बनाउने भन्ने विषयमा निर्णय हुन नसक्दा सहरी विकासअन्तर्गतको भवन विभागले यससम्बन्धी काम थाल्न सकेको छैन।

दुवै संसद्का संसद् सचिवालय र संसद बैठक र समितिका बैठकहरू र संसदीय दल बस्ने सक्ने किसिमको भवन निर्माण गर्न लागिएको भए पनि कति बैठकहरु राख्न मिल्ने भन्ने विषयमा निर्णयमा नपुगिएको सहरी विकास मन्त्रालयले जनाएको छ। अहिले राष्ट्रियसभाका ६९ र प्रतिनिधिसभाका २७५ गरी ३ सय ३० सांसद सदस्य, प्रतिनिसधसभाका १०, राष्ट्रियसभाका ४ र संयुक्त ३ समिति गरी १७ समिति र मुख्य दुई दल र साना ३ दलको संसदीय दल रहनेगरी बनाउने वा संसदीय दललाई बाहिर राख्ने विषयमा निर्णय भएको छैन।

‘सहरी विकासका मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले संसद् सचिवालयसँग मोडालिटीको विषयमा छलफल भइरहेको बताए। हामीले एउटा मोडालिटी पठाएका छौं। त्यसबारे संसद् सचिवालयले निर्णय गरेर पठाएको छैन,’ उनले भने। संसद् सचिवालयले कस्तो भवन बनाउने हो, त्यसको खाकाबारे छलफल भइरहेको संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले बताए।

मन्त्रिपरिषद्को गत साउन ८ गतेको निर्णयबाट पुतली बगैंचामा नयाँ संसद् भवन बनाउने निर्णय गरेको थियो। संसद् भवन बनाउने ठाउँ नभएपछि जुद्ध शमशेरले १९८९ मा निर्माण गरेको ऐतिहासिक महŒव बोकेको पुतली बगैंचा मासेर संसद् भवन बनाउन लागिएको हो। संसद् सचिवालयले वार्षिक १५ करोड भाडा तिरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रहेको भवनलाई संसद भवन बनाएको छ। यो भवन पनि मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ।

सरकारले दुई वर्षभित्र संसद् भवन बनाउने उद्देश्यले पुतली बगैंचामा ठाउँ छनोट गरे पनि अहिलेसम्म कुन मोडालिटीमा बनाउने हो सो को निर्णय हुन नसकेपछि नयाँ संसद् भवन बनाउन कठिनाइ भइरहेको हो। विगतमा प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक पुरानो संसद् भवन (ग्यालरी बैठक कक्ष) मा सञ्चालन हुँदै आएको थियो।

संविधानसभाको निर्वाचनपछि सांसदको संख्या ६ सय १ पुगेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् बैठक राखिएको थियो। २ सय ५ सिट क्षमता रहेको ग्यालरी बैठक कक्ष भएको भवन २०७२ सालको भूकम्पपछि क्षतविक्षत अवस्थामा पुगेको छ। सो भवन पुरानो भवन र सद्दे भए पनि संसद् बैठक राख्न सकिने अवस्था भने थिएन। जसबाट २०६५ साल अघि नै नयाँ संसद् भवन निर्माणको खाँचो हुँदै आएको थियो। तर यसविषय विगतको संसद् तथा सरकारले कुनै कदम नचालेपछि नयाँ भवन निर्माण हुन सकेको थिए।

राष्ट्रियसभाका अध्यक्ष मन्त्रीनिवासमा
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मन्त्रिनिवास पुल्चोकमा बस्दै आएका छन्। राष्ट्रियसभाका अध्यक्षको लागि निवास नपाइएपछि सरकारका मन्त्रीहरूको निवासमा उनलाई अर्काे व्यवस्था नहुन्जेल मन्त्रिनिवासमा राखिएको सरकारका एक अधिकारीले बताए। ‘हामीले उहाँको निवास राख्ने खालको घर भेटेनौ घर नभेटेपछि उहाँ अहिले मन्त्रिनिवासमा हुनुहुन्छ,’ उनले भने। राष्ट्रियसभाका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष तिमल्सिना मन्त्रिनिवासमा बस्दै आएका छन्। सभामुख कृष्णबहादुर भने बालुवाटरस्थित सभामुख निवासमा बस्दै आएका छन्। उपसभामुख शिव माया तुम्बाहाङ्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालाई भने सरकारले भाडाको घर खोजेको जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७५ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App