coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंकको कर्जा लगानी आक्रामक, निक्षेप संकलन सुस्त

काठमाडौं - कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरु निक्षेप संकलनमा भने सुस्त देखिएका छन्। साढे पाँच महिनाको अवधिमा २८ वटा वाणिज्य बैंकहरुले ९४ अर्ब निक्षेप संकलन गर्दा एक खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांक नागरिकले पाएको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव चर्किंदै गएको बेला बैंकहरु कर्जा लगानीतर्फ आक्रामक र निक्षेप संकलनमा सुस्त रहेको तथ्य बाहिर आएको छ। बैंकहरुको आक्रामक लगानी रणनीतिकै कारण लगानीयोग्य रकम घटेको नेपाल राष्ट्र बैंकको भनाइ छ। बैंकरहरु भने राष्ट्र बैंकको आरोप स्वीकार्न मान्न तयार छैनन्। उनीहरुले सरकारको ढुकुटीमा रहेको रकम खर्च हुन नसक्दा लगानीयोग्य पुँजी अभाव भएको तर्क गरिरहेका छन्।

सरकारको ढुकुटीमा कात्तिक मसान्तसम्म दुई खर्ब १६ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए।

साढे पाँच महिनामा ९४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले लगानी भने एक खर्ब ७७ अर्ब गरेका छन्।

गत आर्थिक वर्षको अन्त्यमा सरकारले खर्च गरेको रकम बैंकिङ प्रणालीमा आएपछि बैंकहरुले चालु आवको साउनदेखि कर्जा लगानीलाई आक्रामक बनाएका थिए। साउनयता निक्षेपभन्दा कर्जा प्रवाह अत्यधिक गरेपछि बैंकहरुमा लगानीयोग्य पुँजी अभाव हुन पुगेको हो।

अघिल्लो वर्ष पनि आक्रामक रुपमा लगानी गरेका कारण बैंकहरुले तरलता अभाव झेल्नुपरेको थियो। यो वर्ष पनि सरकारको ढुकुटीमा रहेको रकम खर्च नहुने हो भने लगानीयोग्य पुँजीको अभाव अझै चर्किने बैंकर बताउँछन्।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्म बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। गत शुक्रबारसम्ममा निक्षेप संकलन बढाएर २५ खर्ब ६४ अर्ब पु-याएका छन्। यो अवधिमा बैंकहरुले ९४ अर्ब निक्षेप संकलन बढाएका छन्।

कर्जा भने सो अवधिमा एक खर्ब ७७ अर्ब रुपैयाँले बढाएका छन्। गत आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्म २१ खर्ब ११ अर्ब लगानी गरेका बैंकहरुले गत शुक्रबारसम्ममा २२ खर्ब ८८ अर्ब लगानी पु-याएका छन्। यो अवधिमा बैंकहरुले निक्षेपको तुलनामा करिब दोब्बरले कर्जा बढाएका छन्।

बैंकहरु बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव भएको तर्क गरिरहँदा पनि कर्जा विस्तारमा संयमित देखिएका छैनन्। मंसिरको पहिलो साता बैंकहरुबाट दुई अर्ब निक्षेप घट्दा समेत पाँच अर्बभन्दा बढी कर्जा परिचालन भएको देखिन्छ।

उद्योगी, व्यवसायीहरु मंसिर लागेपछि अझै बढी ऋण माग्न आउने गरेको बैंकर बताउँछन्। तर, लगानीयोग्य रकम अभावले बैंकहरु ठूलो परिणाममा कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन्।

अहिले केही बैंकहरुसँग लगानीयोग्य पुँजी भए पनि एक दर्जन बैंकमा लगानी गर्ने रकमको अभाव भइसकेको छ। ‘केही बैंकहरु ऋण दिन सक्ने अवस्थामा छैनन्,’ एक बैंकरले भने। बैंकहरुले सिसिडी रेसियोको ८० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। त्योभन्दा माथि पु-याए नेपाल राष्ट्र बैंकले कारबाही गर्छ। यसको अर्थ बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँसम्म मात्र लगानी गर्न पाउँछन्।

सीमित बैंकसँग मात्र केही लगानीयोग्य रकम छ। औसतमा बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो¬) करिब ७८ प्रतिशत पुगेको छ। ‘सिसिडी रेसियो यसबाट एक प्रतिशत बिन्दुले बढाएर ८९ प्रतिशत पु-याउँदा मात्र पनि २५–३० अर्ब रुपैयाँ लगानीयोग्य पैसा बैंकहरुसँग हुन्छ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यो रकमले एक महिना पनि लगानी गर्न पुग्दैन।’

सरकारले आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने परिपाटी अन्त्य नगर्ने हो भने मंसिरपछि लगानीयोग्य रकमको अभाव हुने निश्चित भएको बैंकर बताउँछन्। ‘सरकारले खर्च गर्ने परिपाटी बदल्नुपर्छ,’ ती प्रमुख कार्यकारी अधिकृतले भने, ‘अन्यथा गत वर्षभन्दा यस वर्ष लगानीयोग्य पुँजी अभावको समस्या चर्किने निश्चित छ।’

नेपाल राष्ट्र बैंक भने बैंकहरुले भनेजस्तो लगानीयोग्य पुँजीको अभाव भइनसकेको बताउँछ। रेमिट्यान्स बढेकाले पनि लगानीयोग्य पुँजी केही बढ्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ। तर, त्यसले मात्रै लगानीयोग्य रकमको समस्या समाधान गर्न नसक्ने विज्ञको भनाइ छ। असोजसम्म विदेशमा काम गर्न गएका नेपालीले पठाएको रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा ३७.३ प्रतिशतले बढी छ। तीन महिनामा दुई खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले निक्षेपमा उच्च ब्याज दिँदै निक्षेप संकलन गरिरहेका छन्। बैंकहरुले मुद्दतीमा १० प्रतिशत ब्याज दिएर पनि निक्षेप संकलन गरिरहेका छन्। त्यसरी संकलन गरेको निक्षेप १४ प्रतिशतसम्म ब्याजमा लगानी गरेका छन्।

प्रकाशित: १३ मंसिर २०७५ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App