coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘निसन्तानको पीडा दुवैलाई बराबर’

काठमाडौं – नायिका नम्रता श्रेष्ठ फिल्म ‘मेघा’ पछि ‘प्रसाद’मा श्रीमतिको भूमिकामा देखिँदैछिन्। तर ‘मेघा’ भन्दा ‘प्रसाद’मा उनको भूमिका फरक छ। फिल्म ‘प्रसाद’मा नायक विपिन कार्कीसँग जोडी बाँधे पनि नम्रता र विपिन निसन्तान दम्पती चरित्रमा छन्।

पहिलोपटक निसन्तान श्रीमति ‘नारायणी’को चरित्रमा देखिएकी नम्रतालाई आफ्नो चरित्र रोमाञ्चक र चुनौतिपूर्ण दुवै थियो। वास्तविक जीवनमा विवाह र सन्तानको अनुभव नलिएकी उनलाई यो चरित्र अभिनय करियरका लागि नयाँ परीक्षा सरह नै थियो। ‘मेरा लागि यो चरित्र निकै चुनौतिपूर्ण थियो। मैले वास्तविक जीवनमा अनुभव नै नगरेको भूमिका निभाएको थिएँ। मैले अहिलेसम्म काम गरेका फिल्ममा पनि यस्तो चरित्र ननिभएकाले पनि मलाई शुरुमा निकै गाह्राे भएको थियो,’हालैको भेटमा उनले भनिन्,‘सुटिङ सेटमा अभिनय गरिरहँदा मेरो वास्तविक जीवनमा पनि यस्तो भयो भने के होला भन्दै झस्किन्थें। अभिनयमा डुबाईबाट बाहिर निस्केपछि मैले त अभिनय पो गरिरहेको छु भनेर आफूलाई सम्हाल्थें।’

स्क्रिप्टको अध्ययन गरिरहँदा नम्रताले आफ्नो चरित्रलाई बलियो बनाउन चरित्र अध्ययन गरिन्। उनले रंगकर्मी सरिता गिरीबाट सहयोग लिइन्। ‘बच्चा नहुँदाको पीडालाई बुझ्न म टाढा जानै परेन। मेरा दिदी तथा साथीभाईको निसन्तान पीडालाई मैले पहिल्यैदेखि नियालिरहेको थिएँ,’नम्रता खुलिन्,‘हाम्रै वरीपरी दैनिक देखिइरहने यस्तै पात्रको व्यवहारले ‘नारायणी’ चरित्रलाई न्याय दिन मद्दत ग-यो।’

निर्देशक दिनेश राउत निर्देशित यो फिल्ममा काम गरेपछि निसन्तानको पीडालाई नम्रताले नजिकबाट अनुभव गरेकी छन्। ‘निसन्तान भएपछि आमाले ठूलो पीडा भोग्छिन् होला भन्ने लागेको थियो। तर बुवाले पनि उस्तै पीडा भोग्दा रहेछन्। त्यो पीडा समाजले लगाउने अनेक लान्छना रहेछ,’नम्रताले भनिन्।

फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेत नायक विपिनको साथीको भूमिकामा छन्। जो विपिन र नम्रताको निसन्तान पीडाबाट फाइदा लिन खोजिरहेका हुन्छन्। ‘फिल्मको ट्रेलरले मेरो चरित्र केही मात्रामा खुलाएको छ। म अहिलेसम्म देखिएका फिल्ममा ‘लाइट आर्टिष्ट’का रुपमा देखिएको थिएँ। तर ‘प्रसाद’मा मेरो चरित्र बिल्कुल फरक छ। यो फिल्म मेरा लागि विशेष छ किनकी यो फिल्मले निश्चल चिनाउने पनि फिल्म छ है भनेर दर्शकमा छाप छोड्नेमा आशावादी छु।’ उनले भने।

अघिल्ला फिल्ममा ‘रफटप’ लुक्समा देखिएका निश्चल ‘प्रसाद’मा सामान्य चरित्रमा देखिँदैछन्। ‘फिल्मका निर्देशकले मलाई सामान्य बन्नुपर्छ भन्नुभएको थियो। त्यही सामान्य रुप यो फिल्ममा छ,’निश्चल खुले,‘हरेक निर्देशकको कार्यविधि र काम गर्ने मापदण्ड आफ्नै किसिमको हुन्छ। तर ‘प्रसाद’मा मैले फरक मापदण्डमा रहेर काम गरेको छु। मैले निर्देशक दिनेशलाई कहिँ कतै मात्र यसो गरौन भनेर सुझाव दिन पाएँ।’

प्रेमकथा र थ्रिलर फ्लेबरको फिल्म निर्देशन गरिसकेका निर्देशक दिनेश ‘प्रसाद’लाई समाजको कथा भन्न रुचाउँछन्। ‘प्रसाद हामीले समाजमा देखिरहेको र मानिसले भोगिरहेको कथा हो। फिल्म हेरेपछि दर्शकले यस्तो कथा सुनेको या देखेको अनुभव गर्छन्,’दिनेशको दाबी थियो,‘मान्छेको दाम्पत्य जीवनमा कस्तो कुराले फाटो ल्याउँछ। त्यो अवस्थामा पात्रको सोच कस्तो बन्छ भन्ने कुरा ‘प्रसाद’ले देखाउँछ। निसन्तान दम्पत्ति दर्शकलाई फिल्मले समाधानको उपाय पनि सिकाउनेछ।’

यही फिल्ममार्फत पत्रकार तथा समिक्षक सुशील पौडेल फिल्म लेखनमा ‘डेब्यु’ गर्दैछन्। ‘कतै पढेको, कतै देखेको र समाजमा निरन्तर रुपमा घटिरहने घटनालाई ‘प्रसाद’मा राखेको छु। यो विषय देख्दा सामान्य भनेर छोडेका थियौं। तर यो भित्र ठूलो पीडा रहेछ,’सुशीलले भने,‘यस्तो विषयमा अहिलेको समाजले महिलाको पक्षबाट कहिल्यै बोल्दैन। पुरुषलाई अर्को बिहे गर्न उक्साईरहन्छ। यस्तो समयमा पात्रको मनोविज्ञान कस्तो हुन्छ भन्ने विषय फिल्ममा राखेका छौं।’

आगामी मंसिर २१ गतेबाट प्रदर्शन हुने फिल्ममा बसुन्धरा भुषालको पनि अभिनय छ। सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व छ।

प्रकाशित: १३ मंसिर २०७५ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App