coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पशुपति क्षेत्रमा ५ हजार बिरुवा रोपिने

पशुपति क्षेत्रमा वृक्षरोपण गरिँदै। तस्बिर : नागरिक

काठमाडौं - जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले पाँच हजार बिरुवा रोप्ने अभियान थालेको छ। वृक्षरोपण अभियानमा विभिन्न संघसस्थासँग सहकार्य गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बाँदरको संख्या धेरै भएका कारण बिरुवालाई तार जाली लगाई संरक्षण गर्ने जिम्मा कोषको हुनेछ,’ कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए। पशुपति क्षेत्रका वनकाली, भण्डारखाल, कैलाशडाँडा, मृगस्थली, किराँतेश्वरलगायतका खाली स्थानमा बिरुवा लगाइने पराजुलीले बताए। बोटबिरुवा लगाउँदा वन्यजन्तुलाई बासस्थानमा टेवा पुग्नुका साथै पशुपति क्षेत्रमा हरियाली बढ्ने उनले बताए। कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायतका बिरुवा रोपिएको छ।

ठूला रुखका मुनि नयाँ बिरुवा हुर्काउन गाह्रो छ भने पशुपति क्षेत्रका बाँदरले नयाँ बिरुवा उखलेर फ्याक्ने गर्दा नयाँ बिरुवा हुर्काउन सजिलो भने छैन।

अभियान सुरु गर्दै कोषले सिभिल बैंकसँगको सहकार्यमा तीन सय विरुवा रोपिसकेको छ। सिभिल बैंकले आफ्नो आठौं वार्षिकोत्सवका अवसर पारेर ३ सयभन्दा बढी बिरुवा रोपी अभियानको थालनी गरेको कोषले जनाएको छ।

ुपशुपति क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन पाँच हजार बिरुपा रोप्ने अभियान सुरु गरिएका हो,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए। अभियान सफल पार्न आम नागरिकलगायत सबै लाग्नुपर्ने उनले बताए। यस क्षेत्रलाई हरियाली वातावरण तथा रमणीय स्थल बनाउन सके पशुपति घुम्न आउनेहरुलाई सुविस्ता हुने उनले बताए।

आगामी दिनमा विभिन्न संघसंस्थासँग समन्वय गरी गुरुयोजना बनाई सशक्त ढंगबाट अघि बढाइने कोषले जनाएको छ। यस क्षेत्रमा मुख्यतया धार्मिक तथा पूmल प्रजातिको बिरुवा रोपिने कोषले जनाएको छ। वृक्षारोपण अभियानले वातावरणीय टेवा पुग्नुका साथै तथा सौन्दर्यमा समेत सघाउ पुग्ने आशा कोषको छ।

एउटा बिरुवा हुुर्काउन लगभग ५ वर्ष लाग्ने र त्यसका लागि करिब १४ हजारसम्म खर्च लाग्ने अधिकृत पराजुलीले बताए। ५ हजार बिरुवा रोप्न ५ वर्षको योजना ल्याइएको बताउँदै पराजुलीले यसलाई सबै मिली सफल बनाउनु पर्ने बताए। यदी कसैले बिरुवा रोपेर हेरचाह गरेनन् भने त्यसको संरक्षण कोषले नै गर्ने उनले बताए।
बिरुवा हुर्काउन चुनौती

पशुपति क्षेत्रको शिवपुरी बाबा आश्रममा केही अघि कुमारी बैंकको सहकार्यमा झन्डै एक सय पचास बिरुवा रोपिएको थियो। बारसहितको बिरुवा व्यवस्थापन गर्नुपर्ने भएकाले लागत बढ्न गई एक सय बिरुवा रोप्न झन्डै पाँच लाख खर्च भएको थियो। अहिले बाँदरबाट जोगाएर बिरुवा हुर्काउन ठूलो चुनौती भएको आश्रम स्रोतले बताएको छ। सो वृक्षरोपण हुनुभन्दा केही वर्षअघि पनि आश्रममा एक वनस्पति विज्ञको सल्लाहमा दश फिट खनेर दुई वटा रुद्राक्षको बिरुवा लगाइए पनि सो बिरुवा सप्रन सकेन।

मुख्यतः बाँदरका कारण नयाँ बिरुवा हुर्काउन साह्रै नै गाह्रो हुने गरेको छ। बिरुवालाई तार जालीले ढाकिए पनि बाँदरले रातमा बार सबै उखेल्ने गरेको र भोलिपल्ट बिहान फेरि बार मिलाउने गरिएको छ। ‘एक त ठूला रुखका मुनि नयाँ बिरुवा हुर्काउन गाह्रो छ। त्यसमाथि पशुपति क्षेत्रका बाँदरले नयाँ बिरुवा हुर्कनै दिँदैनन्,’ पशुपतिमा नियमित योग ध्यान गर्न आउने प्रभाकर आचार्यले भने, ‘अव्यवस्थित र बञ्जर भइसकेको पाशुपत क्षेत्रमा बिरुवा रोप्नु राम्रो हो तर हुर्काउन भने सजिलो छैन।’

प्रकाशित: १३ मंसिर २०७५ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App