coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

ट्युसन पढ्न रसुवाबाट काठमाडौं

पार्वतीकुण्ड माविका विद्यार्थी। तस्बिरः हिमनाथ/नागरिक

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा सञ्चालित विद्यालयका विद्यार्थी यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा तयारीका लागि काठमाडौं गएका छन्।

गाउँपालिकाका तीनवटा माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थी विगतका वर्षहरूमा पनि ट्युसन पढ्न काठमाडौं जाने गरेका थिए। परीक्षा नजिकिन थालेपछि जिल्लाको माथिल्लो क्षेत्रस्थित विद्यालयका विद्यार्थी बाहिरिने गरेको पार्वतीकुण्ड मावि(गत्लाङ)का प्रधानाध्यापक अमरलाल यादवले बताए। ट्युसन पढ्न काठमाडौं जाने परम्परा नै बसेकाले यसलाई रोक्न नसकिएको उनले बताए।

परीक्षा दिने तयारीमा रहेका रसुवाका विद्यार्थी कात्तिकदेखि नै विद्यालय छाडेर काठमाडौं गएपछि विद्यालयका पठनपाठन प्रभावित भएका छन्।

गत वर्षको तुलनामा यस वर्ष कमै मात्र विद्यार्थी गएका र उनीहरूलाई पनि फर्काउने प्रयास भइरहेको विद्यालयले जनाएको छ। यो विद्यालयबाट यस वर्ष २२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये आधा विद्यार्थी काठमाडौं गइसकेका छन्।

परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले कात्तिकबाटै विद्यालय छाडेर अन्यत्र गएपछि पठनपाठन प्रभावित हुने गरेको छ। ‘परीक्षा दिने समयमा मात्र ती विद्यार्थी विद्यालय आउँछन,’ प्रधानाध्यापक यादवले भने, ‘यसले पठन–पाठनमा समस्या हुने गरेको छ।’

गाउँमा पढ्न उपयुक्त वातावरण नहुने भएकाले परीक्षा आउन करिब पाँच महिना बाँकी छँदा विद्यार्थीले गाउँ छाड्ने गरेको अभिभावक बताउँछन्। गत्लाङस्थित नेपाल राष्ट्रिय मावि, गोल्जुङस्थित पार्वतीकुण्ड मावि र हाकुस्थित हाकु माविमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले दसैं तिहारको विदासँगै विद्यालय जान छाड्ने गरेका छन्।

विद्यालय जान छाडेर उनीहरू जिल्लाको स्याफ्रु, कालिकास्थान र काठमाडांैमा ट्युसन पढ्न जाने गरेको नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक नवीन लामाले बताए। ‘यसपटक हाम्रो विद्यालयबाट ट्युसन पढ्न विद्यार्थी बाहिरिएका छैनन्,’ उनले भने, ‘यसपटक जसोतसो टिकाएका छौं।’

सत्तरी प्रतिशत हाजिरी पु-याउनुपर्ने भएकाले यो बानीले धेरै असर पारिरहेको पार्वतीकुण्ड माविका प्रधानाध्यापक यादवले बताए। ‘गत वर्षको तुलनामा हाम्रो विद्यालयबाट थोरै मात्र विद्यार्थी बाहिरिएका छन्,’ उनले भने, ‘परम्परा एकैचोटि हटाउन नसकिने रहेछ।’

यसअघि विषयगत शिक्षक अभावले विद्यार्थीले विद्यालय छाड्ने गरेका थिए। तर यो वर्ष सबै विषयका शिक्षक भएकाले कम विद्यार्थीले मात्र स्कुल छाडेको प्रधानाध्यापक यादवले बताए।

गाउँमा बसेर पढ्दा घरायसी काम गर्नुपर्ने, विद्यालयमा विषयगत शिक्षक अभाव, सामाजिक परम्परा र देखासिकीका कारण विद्यालय छाड्ने क्रम बढेको हो। करिब ६ महिना गाउँको विद्यालयमा पढेर बाँकी ५ महिना अन्यन्त्र पढ्न गए तापनि शैक्षिकस्तर सुधार नभएको प्रधानाध्यापक यादवको भनाइ छ।

यता अभिभावक भने विद्यालयमा राम्रो पढाइ नहुने भएकाले छोराछोरीलाई पढ्नका लागि काठमाडौं पठाउने गरिएको बताउँछन्। गत्लाङका पेम्बाजेमो तामाङले भने, ‘सधैं काठमाडौंमै राखेर पढाउन त खर्चले धान्दैन। जाँच आउने बेलामा भए पनि काठमाडाैं पढ्न पठाउने गरेका छौं।’

प्रकाशित: १३ मंसिर २०७५ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App