coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोडमा ‘ब्याक’ गर्दा दुर्घटना

सुर्खेत- तीन वर्षअघि मात्रै ट्याक खुलेको बाँकी–बाहाकोट सडक खण्डको डाङ्ग्रे मोडमा बुधबार बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो। सुर्खेतबाट बाहाकोट (साविक विशाला गाविसको केन्द्र) जाँदै गरेको भे१च २२०७ नम्वरको बोलेरो जिप बुधबार विहान आठ बजेतिर दुर्घटनामा परेको थियो।

जिपमा रहेका आठ जना यात्रु मध्ये ठाँटीकाँध गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही, ३० वर्षीय निर्मल वम, ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही, ४६ वर्षीया रत्ना शाही र ठाँटीकाँध–४ का दिलिप शाहीको मृत्यु भयो। राजेन्द्र र निर्मलको घटनास्थलमै र बाँकीको उपचारका लागि सुर्खेत ल्याउने क्रममा मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिए।

प्रहरीका अनुसार साँधुरो सडक र अधिक मोडका कारण जिप दुर्घटना भएको हुनसक्छ। ‘दुर्घटना भएको ठाउँमा सिधै गाडी मोडेर लिन सकिन्न, मोडको छेउनेर पुर्याएर गाडीहरु ‘ब्याक’ गर्नुपर्छ’ डिएसपी पोखरेलले भने, ‘ब्याक गर्ने क्रममा ‘कन्ट्रोल’ गर्न नसकेर खसेको हुनुपर्छ।’ डाङ्ग्रे मोडबाट जिप ४० मिटर तल खसेको छ।

डिएसपी पोखरेलले चालकको पनि मृत्यु भइसकेकाले दुर्घटनाको यकित कारण खुल्न नसकेको बताए। चालक रमेश शाहीको उपचारका लागि सुर्खेत ल्याउने क्रममा मृत्यु भएको थियो। स्थानीयका अनुसार तत्कालिन गाविस कार्यालयले बाँकी–बाहाकोट सडकको ट्याक खोलेको थियो। ‘पहाडी क्षेत्र, प्राविधिक अध्ययनविनै डोजरले खनेकाले सडक साँघुरो र अधिक मोडहरु छन्’ स्थानीय भक्तबहादुर शाहीले भने, ‘अधिकांस मोडहरुमा गाडी ब्याक गरेर घुमाउनुपर्छ।’ दुर्घटनास्थलदेखि साविक विशाला गाविसको केन्द्र बाहाकोट पुग्न डेढ घण्टा लाग्छ।

दुर्घटनामा ठाँटीकाँध–१ का २८ वर्षीय शम्शेर बम, ३० वर्षीय जुद्ध सुजी र २८ वर्षीया मनसरा राष्कोटी पनि गम्भीर घाइते भएका छन्। उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ।

सुर्खेतबाट नगेन्द्र उपाध्याय, दैलेखबाट गोविन्द केसी

 

 

प्रकाशित: १२ मंसिर २०७५ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App