coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रेखा थापाले प्रत्येक जिल्लामा १० ‘बहादुर छोरी’ बनाउने

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउत र नायिका रेखा थापा । तस्बिर : नागरिक

जनकपुरधाम– छोरा छोरीबीचको विभेद अन्त्य गर्न प्रदेश २ सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा नायिका रेखा थापाले सघाउने भएकी छन्। उनले अभियान सफल पार्न र समाज रुपान्तरण गर्न गाउँगाउँ पुगेर छोरीलाई बहादुर बनाउने उद्घोष गरेकी हुन्।

मंगलबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतद्वारा आयोजित पत्रकार सम्मेलनमा नायिका थापाले भनिन्, ‘हरेक जिल्लामा कम्तीमा १० बहादुर छोरी बनाउने उद्देश्यका साथ अगाडि बढेकी छु।’ उनले एक दियोले अर्को बाले जस्तै एक बहादुर छोरी बनाएपछि त्यसले पनि कैयौं बहादुर छोरी बनाउने विश्वास व्यक्त गरिन्। उनले ग्राउण्ड लेभलमा पुगेर महिला हिंसा, छोरी छोरीबीचको विभेद, बालविवाह अन्त्य गर्ने खालको अभियान चाँडै सुरु  गरिने जानकारी गराइन्।
‘फिल्म सुटिङका क्रममा छोरीहरुको धारणा बुझ्दा अधिकांशले छोरी भएर जन्मिएकोमा दुःख व्यक्त गरेको थाहा पाएँ’, उनले भनिन्, ‘छोरीहरुको दुःख सुन्दा साह्रै पीडा भयो। त्यसैले अब गाउँगाउँ पुगेर समाज रुपान्तरण गर्ने अभियान चलाउने निष्कर्षमा पुगेकी छु।’ सामाजिक रुपान्तरण गर्न नै आफू फिल्म खेलें तर मिथ्या सावित भएपछि अब ग्राउण्ड लेभलमा गएर अभियान चलाउन खोजेको उनले बताइन्।

नायिका थापाले आफू जस्तै मधेसका हरेक छोरीले आत्मनिर्भरको स्वाद चाख्न पाउनुपर्ने धारणा राखेकी छन्। छोरी जन्मिने बित्तिकै समाजले कमजोर मानसिकता बनाइदिने गरेकोले अबको दिनमा छोरी पनि चाहेको सबै काम गर्न सक्ने शिक्षा समाजले दिइयोस् भन्ने चाहना रहेको उनले बताइन्। उनले प्रदेश २ सरकारले ल्याएको कार्यक्रम ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान प्रशंसनीय भएको बताउँदै मधेसका छोरीहरुले बल्ल अभिभावक पाएकोमा खुसी व्यक्त गरेकी छन्।

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश प्रहरी भर्ना गर्दा ५० प्रतिशत महिना सहभागी गराउनु पनि ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानको एउटा पाटो भएको दाबी गरे। उनले प्रदेश सरकारले अभियान सुरु भएपछि केही स्थानीय तहले पनि छोरी जन्मिने बित्तिकै बैंक खाता खोलिदिने र केही रकम पनि जम्मा गरिदिने कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गरे। उनले अभियानका क्रममा चाँडै साइकल वितरण गर्न लागेको पनि जानकारी दिए। 

उनले अभियानमा नायिका थापाले सघाउने कार्यक्रम सञ्चालन गरेपछि समाज चाँडै रुपान्तरिक हुने र छोरा–छोरी बीचको विभेद अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १२ मंसिर २०७५ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App