coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘वाइडबडी खरिदमा अनियमितता भएको भेटिए कारबाही गर्छौं, सोधभर्ना गराउँछौं’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाडडबडी जहाज खरिद प्रकरणमा अनियमितता भएको भेटिए कारबाही गर्ने स्पष्ट पारेका छन्। 

जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेको र मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको बताउँदै मन्त्री अधिकारीले भने, ‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाइयो भने हामी शोधभर्ना गराउँछौं। सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं।’ यद्यपी उनले निगमलाई असफल पार्नको लागि प्रोपागाण्डा फैलाउने काम कसैबाट गर्न नहुने पनि जिकिर गरे। 

उनले वाइडबडी जहाज खरिद प्रक्रिया २०७१ सालबाटै सुरु भएको र २०७४ सालमा खरिद प्रक्रिया पूरा भएको सुनाए। उनले भने, ‘यो सरकार आएको एक दई महिनापछि मात्रै वाइडबडी आएको हो। त्यसैले जहाज खरिद प्रक्रिया, निर्णय प्रक्रिया, भुक्तानी र बैना पठाउने सबै काम योभन्दा अगाडिको सरकारको पालमा सकिसकेको थियो।’ जहाज खरिदको सबै प्रक्रियामा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार सहभागी भएको उनले स्पष्ट पारे। 

वाइडबडी आइसकेकोले अब यसलाई चलाउनुपर्ने उनको भनाई छ। तर, खरिद प्रकरणमा अनियमितता र गलत भएको पाइए कारबाही गर्ने अधिकारीले प्रतिबद्धता जनाए। उक्त वाइडबडी जहाज अहिले दैनिक करिब ७ घण्टामात्रै चलिरहेकोले अब यसलाई बढाएर दैनिक १३ देखि १४ घण्टासम्म पुर्याउने उनको भनाई छ। उनले आगामी फेब्रुअरीबाट जापानको ओशाका र मार्चबाट चीन उडान भर्नेपनि जानकारी दिए। उनले मार्चपछि जहाज ‘फुल–फ्लेज्ड’मा सञ्चालन गरिने जनाए। 

उनले नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउनको लागि यसको गन्तब्य बढाउन र फराकिलो पार्ने काम भैरहेको पनि जानकारी दिए। उनले भने, ‘निगमलाई निजीकरण गर्दैनौं। बरु, हामी कम्पनी मोडेलमा चलाउँछौं। नेपाल टेलिकमजस्तो कम्पनी मोडेलमा चलाउँछौं। २ वटा जहाज खरिद गर्नको लागि सरकार आँफै जमानत बसेको छ। अब हामी निगमको व्यवस्थापन सुधार्छौं। हाम्रो पहिलो प्राथमिकता भनेको नै व्यवस्थापन सुधार्ने नै हो। निगमले आँफै कमाउँछ र तिर्छ। सधैं ऋण दिएर हुँदैन्। कमाउन र चलाउन सक्छ।’ 

फरक प्रसंगमा उनले भ्रमण वर्ष २०२० भव्यताका साथ मनाउन गैरहेको सुनाउँदै कम्तीमा पनि भ्रमणमा वर्षमा २५ लाखभन्दा बढी पर्यटकहरु आउने सम्भावना देखिएको बताए। 

उनका अनुसार आगामी ९ महिनाभित्र भैरवा अन्र्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ। उनले भने, ‘त्यस्तै पोखरा विमास्थलको पनि काम द्रुत गतिमा भैरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेको काम भैरहेको छ। अहिले मुलुकमा २६ वटा ठाउँमा हवाई सेवा सञ्चालनमा छन्। यो वर्षदेखि राजविराज, सुर्खेत र दाङमा नयाँ गन्तब्य सुरु गरेका छौं।’

सम्पदा पूननिर्माणको कामपनि भएको सुनाउँदै काठमाडौंमा मात्रै ७ वटा विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु रहेको उल्लेख गर्दै उनले यी सबैको पुनर्निर्माणको काम चलिरहेको स्पष्ट पारे।

प्रकाशित: १२ मंसिर २०७५ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App