४ वैशाख २०८१ मंगलबार
समाज

चालू आर्थिक वर्षभित्र निजी आवासको पुनर्निर्माण सकिने

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघीय संसदको विकास समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता गरेका मध्ये ७७ प्रतिशत ९७ लाख २७ हजार १ सय २३ ले निजी आवास पुनर्निर्माण भएको र त्यसमध्ये ४३ प्रतिशतले निर्माण सम्पन्न गरेको जानकारी दिए।

उनले गुनासो सुनुवाई, एकीकृत बस्ती, परम्परागत बस्ती, बस्ती स्थानान्तरण  र जोखिममा परेका वर्गको घर निर्माणको समयावधि भने कार्यकारी समितिले निर्धारण गरे अनुसार हुने बताए।

अनुदान लिएर अहिलेसम्म घर पुनर्निर्माण नगरेकाहरुलाई घर पुनर्निर्माण गर्न आग्रह गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले झुठा विवरण पेश गरी अनुदान लिएको भए पुस मसान्तभित्र फिर्ता गर्न आग्रह गरे।

शिक्षा, स्वास्थ्य, सरकारी भवन, सुरक्षा निकायका भवन, सम्पदाहरु पुनर्निर्माणमा भएको प्रगति विवरण पेश गर्दै  उनले प्राधिकरणको बाँकी अवधि दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने बताए।

बैठकमा प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले पहिला छुट भएका वास्तविक भूकम्प पीडितको पहिचान गर्न समस्या नरहेको उल्लेख गर्दै स्थानीय तहबाट प्रमाणीत भएर आए भूकम्प पीडितहरुले अनुदान पाउन सक्ने बताए।  

बैठकमा बोल्ने अधिकांश सभासद्हरुले पुनर्निर्माणको प्रगति सन्तोषजनक भएको टिप्पणी गर्दै बैठकमा प्रस्तुत कार्ययोजना अनुसारका कामहरु अघि बढाउन आग्रह गरेका थिए।

बैठकमा सभासद्हरु जीपछिरङ लामा, गौरीशंकर चौधरी, गणेश पहाडी, केदार सिग्देल, यज्ञराज सुनुवार, रामबहादुर विष्ट, विनाकुमारी श्रेष्ठ, महेन्द्रराय यादव, अनिल झा लगायतले सुझाव दिए।

प्रकाशित: १२ मंसिर २०७५ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App