७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

१५ प्रतिशत कामदार कटौती गर्ने जिएमको घोषणा

कामदार कटौतीको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी। तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जिएम)ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ।

सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक पुनःसंरचना गर्नुपरेको जनाएको छ। नयाँ योजनाअनुसार उपभोक्ताको बदलिँदो मागका कारण कम्पनीका सातवटा प्लान्ट बन्द गरिनेछ भने बजारमा लोकप्रिय देखिएका ट्रक र एसयुभीको उत्पादन बढाइनेछ।

साथै कम्पनीले विद्युतीय सवारीसाधनको उत्पादनमा ध्यान दिने जनाएको छ। कम्पनीको उक्त योजनासँगै अमेरिकी सेयरबजार वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। अमेरिकी र क्यानडाका नेताले कम्पनीको उक्त कदमको विरोध गरेका छन्। साथै जिएमसँग आवद्ध अमेरिकी र क्यानेडाली मजदुर युनियनले कडा शब्दमा आलोचना गरेका छन्। कम्पनीले आफ्ना उत्पादन प्लान्ट विदेश लैजान खोजेको भन्दै मजदुरले आलोचना गरेका हुन्।

जिएममा कार्यरत एक लाख ८० हजार कामदारमध्येबाट १५ प्रतिशत कटौती गर्ने पछिल्लो योजनाले खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असर पर्नेछ। राष्ट्रपतिको ‘भोटबैंक’को रूपमा रहेका ओहायो र मिसिगन राज्यमा प्लान्ट बन्द हुनेछन्।

जिएमका प्रमुख कार्यकारी अधिकृत म्यारी बार्राले एक वक्तव्य प्रकाशित गर्दै कम्पनीलाई विश्व बजारमा तीब्र प्रतिस्पर्धी र नाफामूलक संस्थाका रूपमा स्थापित गर्न पुनःसंरचना गर्नुपर्ने आवश्यकता देखिएको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताले विश्वास गरेको कम्पनीले अमेरिकी प्लान्ट नै बन्द गर्ने घोषणा गरे त्यो अक्षम्य हुने चेतावनी दिएको एएफपीले उल्लेख गरेको छ। राष्ट्रपति ट्रम्पले बन्द भइसकेका प्लान्ट खोल्न र रोजगारी सिर्जना गर्न अमेरिकी कम्पनीसमक्ष पटकपटक आग्रह गरिरहेका छन्।

जिएमले अर्को वर्ष क्यानडाको ओन्टारियोस्थित ओसावा प्लान्ट तथा अमेरिकाको मिसिगनस्थित हाम्ट्राम्क र ओहायोस्थित लर्ड्सटाउनका प्लान्ट बन्द गर्नेछ। कम्पनीले दक्षिण कोरियाको गुन्सान प्लान्ट बन्द गर्ने यसअघि नै घोषणा गरिसकेको छ। टोरन्टोबाट उत्तरपूर्व करिब ६० किलोमिटर टाढा रहेको ओसावा प्लान्ट सन् १९५३ मा स्थापना भएको थियो। यो कारखानामा हाल करिब दुई हजार आठ सय श्रमिक कार्यरत छन्।

यस कारखानामा चेभ्रोलेट, जिएमसी पिकअपका साथै चभ्रोलेट इम्पाला र क्याडिल्याक सेडानको उत्पादन हुने गर्छ। ओसावाका मेयर जोन हेनरीले यो खबर सत्य होस् भन्ने चाहेको बताएका छन्। ओन्टारियो प्रान्तमा जिएमका अरु तीनवटा प्लान्ट छन्। जिएमको नयाँ योजनबाट यी कारखानामा असर पर्ने वा नपर्ने अझै स्पष्ट भइसकेको छैन। गत महिना, कम्पनीले खर्च कटौती गर्न उत्तर अमेरिकाका कारखानामा कार्यरत श्रमिकको संख्या कटौती गर्ने घोषणा गरेको थियो।

सो योजनाबाट अमेरिका, क्यानडा र मेक्सिकोका कारखानामा कार्यरत करिब ५० हजार श्रमिक प्रभावित हुने बताइएको छ। यीमध्ये करिब १८ हजार अर्थात् करिब ३६ प्रतिशतको रोजगारी गुम्ने अनुमान गरिएको छ। पहिलो चौमासिकमा जिएमको आय दुई अर्ब ५० करोड डलर थियो। अमेरिकी करवृद्धि र बिक्रीमा आएको मन्दीका कारण कम्पनीको आयमा नकारात्मक प्रभाव परेको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App