विकास विशेषज्ञताको प्रश्न

बुधबार, १२ मङि्सर २०७५, ०८ : ४४ पुरुषोत्तम दाहाल

नेपालको सन्दर्भमा राजनीतिक नेतृत्वले किन कुशल शासन दिन सकिरहेको छैन ? किन व्यवस्थापन राम्रो गर्न सकिरहेको छैन ? नीति तर्जुमा र कार्यक्रमको सही अवधारणा विकास गर्ने ज्ञान किन देखिँदैन ? यसो गर्ने कुनै कला वा सिप राजनीतिक नेतृत्वमा किन पाइँदैेन ? के नेपालका राजनीतिकर्मीहरू अयोग्य नै हुन् त ? कि कुनै अन्य स्वार्थी कारणहरूले उनीहरूको क्षमता प्रकट र प्रयोग हुन नसकेको हो ? यी प्रश्नको सही विश्लेषण गर्नुपर्ने भएको छ। एकजना राजनीतिकर्मी र  बौद्धिक व्यक्तित्व ऋषिकेश तिवारीले केही दिनपहिले मात्र राष्ट्रिय दैनिक नयाँ पत्रिकामा यसबारे लामो विश्लेषण प्रस्तुत गरेका छन्। उनले नेपालको सन्दर्भमा राजनीतिकर्मी अर्थात् ‘पोलिटिकल एक्टिभिस्ट’ र ‘डेभलप्मेन्ट एक्सपर्ट’ को ‘फ्युजन’ हुनुपर्ने निष्कर्ष निकालेका छन्।

राज्यपद्धति रहेसम्म राजनीति मुख्य विषय हो राज्यको। राज्यमा अन्तर्निहित अवयवहरू सबै नै राजनीतिबाट निर्देशित हुन्छन्। राज्यको मूल कानुन, नियम, विधि–विधानले राज्य र राज्यमा बसोबास गरिरहेकाहरूलाई संगठित र अनुशसानबद्ध बनाएको हुन्छ। राज्य र त्यसमा बसोबास गर्ने आमनागरिक अराजक भए भने निश्चय पनि त्यो राज्य द्वन्द्व, हिंसा, र विघटनको संघारमा पुग्छ। राज्यको संगठित रूपलाई सुरक्षित गराउने हो भने राज्यमा संविधान, कानुन र नीति÷नियमले प्रभावकारी भूमिका खेलिरहनुपर्छ। तर संविधान, कानुनवा नीति÷नियम राज्यका बासिन्दाको विश्वास र सहभागितामा मात्र निर्मित हुनैपर्छ। केही टाठाबाठा वा केही दल वा एक दलको इच्छा र विवेकमा मात्र बनेको कानुनलाई जनताले मान्छन् भन्ने हुँदैेन।

लोकतन्त्रको अर्थ पनि यही हो। राज्यमा बिनाभेदभाव सम्पूर्ण नागरिकको पहुँच र सहभागिता। सभ्य संसारको परिचय अहिले आमनागरिक सहभागितासँग जोडिएको अवस्था छ। आविष्कारको वा कुनै सिर्जना र अनुसन्धानको विषयबाहेक सबैमा राज्यले निर्देशन गरिरहेको हुन्छ। यी विषयमा राज्यका नीति कमैमात्र आकर्षित हुने गर्छन्। राज्यले समग्रतामा नियन्त्रण गरेपनि आविष्कार, सिर्जना वा स्वतन्त्र अनुसन्धानमाथि हस्तक्षेप गर्नसक्देैन। तर यो नियम निर्दलीय, निरंकुश अधिनायकवादी राजनीतिक प्रणालीमा विश्वास राख्ने र तद्नुरूप प्रयोग गर्ने राज्यको हकमा लाग्छ भन्ने हुँदेैन। के नेपालका राजनीतिकर्मीहरूले विकास विशेषज्ञ र व्यवस्थापन विशेषज्ञहरूको सहभागिता राजनीतिक प्रणाली वा राजनीतिक दलमा गर्न नसकेकै कारण असफलता निरन्तर हुँदै गएको हो त ?

राजनीतिकर्मीहरूले कुनै पेसाव्यवसायमा विशेषज्ञता हासिल गरेकाहरू, आफ्नो व्यवस्थापन कुशलताले समृद्धिको शिखर चुमेकाहरू, अर्थ र विकासका सम्पूर्ण सूत्रहरूलाई जीवनमा उतारेकाहरू, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, जलउपयोग, पर्यटन, विकास,सुरक्षा, राष्ट्रको भाषा, कला,साहित्य, संस्कृति,सम्पदा आदि अनेक क्षेत्रका ज्ञाताहरूलाई राजनीतिको मूलधारमा स्थान नदिएकै कारण नेपालको विकास पछाडि परेको हो कि ? यी प्रश्नको एकमुष्ट उत्तर के हुनसक्छ भने निरन्तर राजनीति गर्नेहरूले राजनीतिक दल र त्यसमा आबद्ध सदस्यहरूलाई मात्र राजनीतिको मूलधार ठानेकै कारण असफलता बेहोर्नु परिरहेको हुनसक्छ। राजनीति राष्ट्रको मूल भएपनि अन्य धेरै अवयवको समवेत संयोजन र सहकार्यमा राज्य टिकिरहेको हुन्छ। राजनीतिक प्रणालीको सफलता वा असफलतामा राजनीतिकर्मीहरूमात्र यसकारण जिम्मेवार ठानिनु गलत हुनेछ। तर राजनीतिको मूल वृक्षमा अन्य पक्षलाई जोड्न सकिएन भने निश्चय पनि त्यसबेला राजनीतिले नै असफलताको जिम्मेवारी लिनुपर्ने हुन्छ।

निरन्तर राजनीति गर्नेहरूले राजनीतिक दल र त्यसमा आबद्ध सदस्यहरूलाई मात्र राजनीतिको मूलधार ठानेकै कारण असफलता बेहोर्नु परिरहेको हुनसक्छ।

नेपालमा आधुनिक परिवर्तनको ढोका २००७ सालको जनक्रान्तिले खोलेको हो तर त्यसपछि अनेक राजनीतिक नेतृत्व र प्रणालीहरू आए पनि ती स्थायी हुनसकेका छैनन्। समयान्तरमा ठूला राजनीतिक परिवर्तन र सरकार परिवर्तनका घटनाहरू नै यस भनाइका जीवन्त उदाहरण हुन्। ३० वर्षको राजतन्त्रको सक्रिय नेतृत्व छाड्ने हो भने बाँकी करिब४ दशकसम्म जनताका नेताका हातमा शासनसत्ता रह्यो। २०१५ सालमा बिपी कोइराला जस्तो सैद्धान्तिक दार्शनिक र रणनीतिकुशल नेताको नेतृत्व पनि १८ महिनाभन्दा बढी टिक्न सकेन। के कारणले हो ? के राजा महेन्द्रको महत्वाकांक्षामात्र यस निम्ति जिम्मेवार छ ? कि उत्तर–दक्षिणमा तत्कालमा रहेका राजनीतिक नेतृत्व र तिनीहरूको भय, प्रतिस्पर्धा वा इष्र्या र अनिच्छाका कारण बिपीको सत्ताको आयु २० महिना पनि नपुगेको हो त? किन ? अहिले हामीले स्वतन्त्ररूपले विचार गर्नुपर्ने भएको छ।

यद्यपि बिपी कोइरालाले आफ्नो प्रधानमन्त्रित्वकालमा धेरै विज्ञविशेषज्ञलाई राजनीतिको मूलधारमा जोड्ने प्रयास नगर्नुभएको होइन। तर छोटो समयका कारण उहाँ त्यसमा सफल हुनुभएन। राजाको प्रत्यक्ष नेतृत्वमा शासन टिक्नुमा विभिन्न क्षेत्रका विशेषज्ञहरूको व्यापक सहभागिता नै मुख्य कारण थियो। २०४६ को परिवर्तनले केही थोरै विशेषज्ञलाई सत्तामा जोडे पनि थोरैमात्र राजनीतिको मूलधारसँग स्थायीरूपमा जोडिन पुगेका छन्। राजनीतिले विज्ञहरूलाई पृथकरूपमा देख्न पुग्यो र राजनीतिकर्मीहरू निर्णायक स्थानमा रहनपुगे। केही हदमा साम्यवादी दलहरूले विशेषज्ञहरूलाई राजनीति र सत्ताको अवयवमा सहभागी गराएको देखिन्छ। साम्यवादी दलहरूले सबै क्षेत्रमा आफ्नो सञ्जाल खडा गरेको अवस्था छ। कठोर सिद्धान्तको पक्षधरता रहे पनि उनीहरूको वैधानिक प्रयोग निकै खुकुलो देखिन्छ। समयअनुकूल विधान उपयोग गर्न साम्यवादी दलहरूमा सहज देखिन्छ। गतसाल असोजमा एकता घोषणा गरेका नेकपा माले र माओवादीहरूले विधानबिना नै समायोजन गर्ने सफलता पाएका छन्। उनीहरूले केन्द्रदेखि तल्लो तहसम्म एकता गर्दा विधानको भन्दा अवसर अनुकूलताको सिद्धान्त लागु गरेका छन्।

अहिलेको प्रमुख साम्यवादी दल नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वतहदेखि तल्लो तहसम्म २०२५ सालपछि राजनीतिमा जोडिएको पुस्ता हावी छ। उनीहरू विगत निर्दलीय पञ्चायतकालमा भूमिगत नाउँमा राजनीति र औपचारिक नाउँमा शासकीय सुविधादेखि व्यापार÷व्यवसाय सबैमा संलग्न भएका थिए। अहिले पनि नेपाल कम्युनिस्ट पार्टीमा विद्यालय सञ्चालक, स्टेसनरीका मालिक, सञ्चारका हस्ती, स्वास्थ्य क्षेत्रका मालिकहरू, ठेक्कापट्टा, वैदेशिक रोजगारी, सहकारी सबै क्षेत्रमा प्रभाव राख्नेहरूको वर्चस्व छ। सरकारी राष्ट्रसेवकहरूमा समेत साम्यवादी दलहरूको बलियो पकड छ। राष्ट्रिय गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको प्रत्यक्ष लाभ लिनेहरूमा नेपालमा साम्यवादी दलसँग सम्बद्धहरूको नै बहुलता देखिनु मूलतः उनीहरूको रणनीतिक क्षमता हो भनेर स्वीकार गर्नुपर्छ।

२०४६ सालको परिवर्तनपश्चात् सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसमा बलिदान, त्याग र आन्दोलनको इतिहासको असंख्य कथा बोक्नेहरूको प्राधान्यता थियो। करिव ५ दशकदेखि निरन्तर लोकतन्त्रका लागि लडेको पुस्तामा स्वाभाविकरूपले शासकीय इच्छा हुनु अन्यथा होइन। तर शासकीय इच्छासँग नवीनधारहरूलाई समेत सहभागी गराउनुपर्ने थियो। नवीन धार राजनीतिमा मात्र सीमित हुँदेैन। फरक व्यवसाय, पेसा, कुशलता, सिप, ज्ञान पनि फरक धारमा पर्छन्। एउटा कुनै मानिस राज्यलाई कर बुझाएर समृद्ध भएको छ भने राजनीतिक दलले उसको सिप, ज्ञान र कुशलतालाई आफ्नो राजनीतिक लक्ष्यकालागि उपयोग गर्ने उदारता देखाउनु उपयुक्त हुन्छ। राम्रो उद्योगी, राम्रो व्यवसायी, समृद्ध किसान, असल सञ्चारकर्मी, स्थापित लेखक, साहित्यकार, कलाकार, राष्ट्रको विकासमा सहयोगी सेवाक्षेत्रका विज्ञहरू, क्षमतावान् कूटनीतिज्ञ र राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीहरू, स्वास्थ्य, शिक्षा, वातावरण, व्यवस्थापन, कानुन, श्रम अनेक क्षेत्र छन् जसमा अनेक प्रतिभा छन्। तर तिनलाई राजनीतिमा जोड्नेभन्दा पनि दलको मियोमा रहेका सीमितहरूले मात्र दल हाँक्ने, लोकतन्त्र जोगाउने, समग्र विकास गर्ने सोचलाई अनुदारतापूर्वक प्रयोग गरिरहेको अनुभव भएकोछ।

के नेपालका राजनीतिकर्मीहरूले विकास विशेषज्ञ र व्यवस्थापन विशेषज्ञहरूको सहभागिता राजनीतिक प्रणाली वा राजनीतिक दलमा गर्न नसकेकै कारण असफलता निरन्तर हुँदै गएको हो त ?

निर्वाचनका समयमा समृद्धहरूका ढोकामा आसन जमाउनेहरूले राजनीतिको मूलधारमा त्यस्ता सफल व्यक्तिहरूलाई सकेसम्म निषेध गरिरहेका हुन्छन्। यो आफैंमा विरोधाभाषपूर्ण देखिन्छ। एकप्रकारले २०४६ को परिवर्तन असफल हुनुमा पनि राजनीतिक कारणमात्र जिम्मेवार छैन। राजनीतिमा विज्ञहरूको संलग्ता नहुनुको एक कारण हुनसक्छ। २०६३ को परिवर्तनले अझै सही दिशा समात्न सकेको छैन। बीचमा आएको साम्यवादी नेतृत्वले आफैँ निर्णायक हुने भ्रम पाल्दा धेरै कुरा गुमाउनुपरेको थियो। राजनीति त्यसै गिजोलिन पुग्यो। तर सुशील कोइराला जस्ता सोझो र एकोहोरो नेतृत्वले दायाँ–बायाँ नहेरी राष्ट्रलाई स्थायित्व प्रदान गर्ने प्रयास गरेको थियो। अहिले अर्कै घुम्तीमा पुगेको छ राजनीति।

संयोगवश यतिखेर नेपाली कांग्रेस आफ्नो दलको विधान परिमार्जनमा सक्रिय छ। केही दिनपश्चात् हुने महासमिति बैठकले विधानलाई पारित गर्ने होला। नेपाली कांग्रेसमा अब हिजो त्याग तपस्या गरेको पुस्ता घट्दै गएको छ। अबका १० वर्षभित्रमा त्यो यातनाभोग गरेको, संघर्ष गरेको पुस्ता अवशिष्ट भएर त्यसको कथा पढ्नेहरू वा सुन्नेहरूको पुस्तामात्र अगाडि बढ्ने हुन्छ। अहिले संघर्षको कालखण्डबाहेक सर्वाधिक कमजोर, निरुत्साहित, अनुशासनहीन, अराजक चरणमा छ भनेर कतिपयकोणबाट नेपाली कांग्रेसलाई मूल्यांकन गरिँदैछ। यस्तो कांग्रेसलाई सशक्त, सबल र सामयिक गतिदिनका लागि व्यवस्थापकीय कुशलता, विज्ञता, सफलता जोसँग छ र जसले नेपालको लोकतान्त्रिक आन्दोलनलाई निहीत स्वार्थभन्दा पृथक रहेर बृहत् स्वार्थका निम्ति सहयोग पुर्याउन सक्छन् त्यस्तालाई मूल राजनीतिकधारमा सहभागी गराउने उचित ढोका विधानले निर्माण गर्नु उपयुक्त हुन्छ।

नेपाली कांग्रेसलाई सशक्त बनाउन विद्यमान पुरातन सोच र क्षमताले मात्र पुग्देैन। सामन्ती चिन्तन र आत्मकेन्द्रित मूल्यांकनले नेपाली कांग्रेसलाई पार लगाउनु सम्भव हुँदेैन। राजनीतिमा विज्ञता र सफलता अर्थात् मित्र ऋषिकेश तिवारीकै शब्दमा पोलिटिकल एक्टिभिज्म र डेभलपमेन्ट एक्सपर्टिज्मको फ्युजन सिंगो राजनीतिमा हुनुपर्छ। त्यसमा पनि आजको नेपाली कांग्रेसका लागि यो सूत्र गम्भीर विचारणीय र प्रयोग्य छ। विज्ञेषु किमधिकम्।







यसमा तपाईको मत