१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मर्निङ वाक घाम लागेपछि मात्र

म‌ंसिर ११ गतेको उपत्यकाको आौसत प्रदुषण तह।

दृष्टि काठमाडौँले अनुगमन गर्दै आएको राजधानीको वायु प्रदूषणको दैनिक विवरण उसकै सौजन्यमा नागरिक दैनिकले सार्वजनिक गर्दै आएको थियो, केही अघिसम्म। तर आजभोलि त्यस्तो विवरण उक्त दैनिकमा पढ्न पाइएको छैन। विगतमा यसको विवरण दैनिक नियाल्ने जो कोहीले जाडो याममा हुने उपत्यकाको वायु प्रदूषणको बढ्दो रफ्तार सहजै थाहा पाउन सक्छन् र सोहीअनुसार आ–आफ्नो हिँडाइको समय तय गर्न सक्छन्। पुरानो अभिलेख पल्टाई आ–आफ्नो हिँडाइको समय तय गर्न सके त्यो नै सबैभन्दा व्यावहारिक र उत्तम उपाय हुन्छ होला सर्वसाधारणका लागि।

कचौरा आकारमा रहेको काठमाडौँ खाल्डोमा हावा चल्ने दिशा पूर्व–पश्चिम मात्रै हो भन्छन् जानकारहरू। अवस्थिति र भू–बनोटका कारण हुरी–बतासकै गतिमा हावा चल्यो भने मात्रै यहाँको प्रदूषित हावा उपत्यकाबाट हुत्तिएर बाहिरिन सक्छ अन्यथा यहीँ रुमल्लिरहन्छ भन्छन् यसका अध्येताहरू। त्यही प्रदूषित हावामै हामी सबै आ–आफ्नो फोक्सो ‘सफा’ गरिरहेका हुन्छौँ, बिहानी हिँडाइसँगै। अर्थात् प्रदूषित हावा फेर्दै बाँच्न उपत्यकावासी अभिशप्त छन् अहिले। तर सरकारी पक्ष भने यसमा बेखबर (?)  भएको हो कि भन्ने भान भइरहेको छ सबैलाई। समाचारका हेडलाइन र सम्पादकीय त्यतैतर्फ सोझिएका देखिन्छन् आजभोलि।

उपलब्ध तथ्यांकअनुसार वायु प्रदूषणको तहलाई नियाल्दा दैनिकजसो वर्षा हुने भएकाले वर्षायामका बिहानीहरू तुलनात्मक हिसाबले हिउँदको भन्दा स्वच्छ हुने गरेका देखिन्छन्। गर्मी याममा तापक्रम पनि ज्यादा हुने हुनाले सखारै मर्निङ वाकमा निस्कने सबैलाई बिहानी शीतलताको स्पर्श लाभदायक नै हुन्छ होला सायद। तर हिउँद याममा उपत्यकाको धुलो, सवारी साधनबाट निस्कने धुवाँलगायत इट्टाभट्टाको उत्सर्जनको अतिरिक्त यदाकदा फोहोरमैलासहितको घरायसी घुरान खुला रूपमा जलाउने प्रवृत्तिका कारण निस्कने कार्बन मोनोक्साइड (?) समेतका विषाक्त कणहरू उपत्यकाको वायुमण्डल बिगार्ने प्रमुख कारक तत्व भएकाले यी र यस्तै तत्वहरू वायुमण्डलमा रहिरहँदा उपत्यकावासीले बाध्य भएर सोही विषाक्त कणसहितको धुमिल मौसमी हावामा दैनिक श्वास–प्रश्वास गर्नु परिरहेको छ।

हामी जोकोहीले स्कुले जीवनमा विज्ञान विषयको अध्ययन गर्दा हासिल गरेको ज्ञान र तथ्य के हो भने प्रकाश संश्लेषण (फोटोसिन्थेसिस्) को सिद्धान्तअनुसार प्रत्येक बोट–बिरुवाले आफूलाई आवश्यक पर्ने खाना (ग्लुकोज) बनाउँछ। बोट–बिरुवाका लागि अत्यावश्यक रसद–पानीको कच्चा पदार्थ, घामको उज्यालो, जमिनमुनिको खनिजयुक्त पानी र हावामा तैरेको कार्बनडाइअक्साइड नै हो। यिनकै सहारा लिएर बोट–बिरुवाले आफ्नो क्लोरोफिलयुक्त पातमार्फत आफूलाई चाहिने ग्लुकोज बनाउँछन्। यो समयमा बोट–बिरुवाले वायुमण्डलमा भएको कार्बनडाइअक्साइड लिएर अक्सिजन फ्याँक्छन्। त्यसैले जतिधेरै बोट–बिरुवा हाम्रो वरपर हुर्काउन सक्यो त्यति नै स्वच्छ वायु प्राप्त हुन्छ भनिएको हो। उक्त अक्सिजन हामी सबैको प्राणवायु हो भन्ने तथ्य पनि हामी सबैलाई धेरै पहिलेदेखि थाहा भएकै सत्य हो।

विज्ञानले प्रमाणित गरेको अर्को सत्य के पनि हो भने, केही अपवादबाहेक बोट–बिरुवाले पनि रातमा हामीले जस्तै अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याँक्ने गर्छन् आफ्नो श्वास–प्रश्वासका लागि। अध्ययन–अनुसन्धानका ठेली पल्टाउँदा पीपल, तुलसी, एलोबेरा जस्ता केही सीमित बोट–बिरुवाले मात्रै चौबीसै घण्टा वायुमण्डलमा अक्सिजन फाल्ने क्षमता राख्छन्। यद्यपि यिनले पनि दिउँसोको तुलनामा राति न्यूनमात्रामा अक्सिजन फाल्ने तथ्य अभिलेखहरूमा भेटिन्छ। त्यस्ता बोट–बिरुवाका प्रचुरता उपत्यकामा सायदै होला। भएका पीपलका बोट पनि बाटो विस्तारका बाधक मानी काटिएका छन्, कैँयन् स्थानमा। क्रमशः साँघुरिँदै गएको र पर्याप्त स्थान अभावका कारण गाउँघरमा जस्तो मठसहितको तुलसीको बोट सबैका घर–आँगनमा पक्कै छैनन्, उपत्यकामा। कहीँ–कतै नर्सरीमा वा घरका छत वा कौसीमा रहेका गमलामा सजिएका हुन सक्छन् यदाकदा तुलसी र एलोबेराका केही बोट सौखका रूपमा।

जाडोको पारो चढेसँगै रातको चौथो प्रहर अर्थात् बिहानीपख उपत्यकाको वातावरण कठ्यांग्रिदो चिसोमा रूपान्तरित हुन्छ। यही बेलादेखि उपत्यकावासीको दौडधुप सुरु हुन थाल्छ कोही काममा (प्रायः स्कुल–कलेज, पत्र–पत्रिका वितरक, तरकारी व्यवसायीलगायत दूध ढुवानी आदि) त कोही बिहानको ताजा हावा (?) मा टहलिन। यस्तो समयमा अघिल्लो साँझ दिउँसोभरिको तापक्रमले गर्दा जमिनबाट उडेर सम्भवतः वायुमण्डलको माथिल्लो तहमा पुगेको धुलो–धुवाँका कणयुक्त विषाक्त वायु पुनः रात छिप्पिँदै जाँदा वायुमण्डल चिसिँदै जानेक्रममा आकार र ओजनअनुसारका विभिन्न तौलका कणहरू थर्मल इन्भर्सन एवं गुरुत्वाकर्षणका कारण क्रमशः जमिनतर्फ झरेको, झर्दै गरेको वा झर्ने तरखरमा हुन्छन्।

एकाबिहानै मर्निङवाकमा निस्कँदा बिग्रँदो मौसमसँगै घुर्मैलो वायुमण्डलमा अन्तरघुलित अवस्थामा लुटपुटिएर रहेको विषाक्त सोही कणसहितको वायु घुम्दैफिर्दै हाम्रो नजिकको वायुमण्डलमा आइपुगेको हुनसक्छ। त्यसैले बिहानीपख, वायुमण्डलको तल्लो तहमा फोक्सोसम्मै पुग्नसक्ने खालका सूक्ष्म कणयुक्त हावा चलिरहेको हुनसक्छ। सखारै मर्निङ वाकमा निस्कँदा सोही वायु लिनुपर्ने बाध्यताको विकल्प हामीसँग हुँदैन। त्यसका अतिरिक्त माथि भनिएझैँ सूर्योदयको लालिमा अर्थात् उज्यालो जमिनमा नझरुन्जेल हाम्रो वरपर भएका प्रायः सबै बोट–बिरुवाले खाना बनाउन सक्दैनन् तर अक्सिजन लिएर वायुमण्डलमा कार्बनडाइअक्साइडको घनत्व भने बढाइरहेका हुन्छन् श्वास–प्रश्वासका क्रममा। त्यसैले वायुमण्डलमा अक्सिजनको मात्रा न्यून र कार्बनडाइअक्साइडको मात्रा बढी हुनसक्छ बिहानीपख। उपत्यकाको भौगोलिक बनोट र स्वरूप हेर्दा सखारै मर्निङ वाकमा निस्केर आफ्नो फोक्सो ‘रिचार्ज’ गर्न खोज्ने जोकोही डुलुवा धुलोका कण मिश्रित कार्बनडाइअक्साइडयुक्त वायुको सिकार हुन पुग्ने हो कि (?) भन्ने चिन्तालाई मत्थर गर्न एक अध्ययन नै गर्नुपर्ने अवस्था आएको छ भन्दा अतिशयोक्ति नहोला।

सके सबै उमेर समूहकाले नभए पनि ४० वर्ष उमेर काटेपछि चिकित्कले प्रायः सबैलाई आधादेखि एक घण्टासम्म पसिना आउनेगरी मर्निङ वाक (बिहानी हिँडाइ) का लागि सुझाव दिने गरेको भए पनि जाडोयाम सुरु भएसँगै मुटु, दम र उच्च रक्तचाप भएका मानिसहरूले खाली पेटमा ननिस्कने, कठ्यांग्रिने समस्या (हाइपोथर्मिया) बाट बच्न सखारै हिँडडुल गर्न नहुने राय–सुझाव दिने गरेका छन्, विगत केही वर्ष यतादेखि। उसो त जाडो याममा यसै पनि जोकोहीको रक्तचाप बढ्ने बताउँछन् चिकित्सकहरू। त्यसैले उपत्यकाको जाडोमा सखारै मर्निङ वाकमा निस्केर घर फर्कंदै गर्दा बाटोमै ढलेका, कोही घर पुगेपछि पनि बौरिन नसकी मृत्युवरण गरेका घटनाहरू पनि समाचारमा यदाकदा आउने गरेका र त्यस्ता घटनापश्चात् एकाएक चिकित्सककहाँ जचाउन धाउनेको लर्को (सिन्ड्रोम) पनि विगतदेखि तपाईं हामी सबैले देख्दै आएकै छौँ।

बिहानदेखि बेलुकासम्मै नाकमुख छोप्न मास्क लगाएर हिँड्नुपर्ने अवस्था भएकैले होला सायद ! आजकाल काठमाडौँ, स्वच्छ काठमाडौँ नभएर मास्कमाडौँमा रूपान्तरित भएको छ भन्छन् प्रायः सबै। दिनको लगभग ८ देखि १२ घन्टा मास्क लगाएर हिँडडुल गर्नु सामान्य नै भइसकेको छ र यसमा उपत्यकावासी पनि अभ्यस्त भइसकेका छन्।

जुनसुकै बेला मास्क लाउनैपर्ने भएपछि बिहान घामलागेपछि नै किन नहिँड्ने ? सखारै हिँड्नुको सट्टा घाम लागेपछि हिँड्नका लागि समयले साथ दिनेहरूलाई अक्सिजनको प्रचुरता मात्र नभई बिहानीपखको भिटामिन ‘डी’युक्त घाम पनि सहजै र सित्तैमा प्राप्त भइरहेको हुन्छ, चिकित्सकहरूका अनुसार। भिटामिन ‘डी’को कमीले हुने रोगहरूबाट मुक्ति पाउन कैँयन्ले आजभोलि भिटामिन ‘डी’का क्याप्सुल सप्लिमेन्टका रूपमा खाइरहेका भेटिन्छन्। त्यसैले तँछाड–मछाड गर्दै अरुभन्दा पहिले घाम नलाग्दै ताजा अक्सिजन लिई आफ्नो दैनिकी फुर्तिलो बनाउन हिँडेको व्यक्ति यमलोकको यात्रामा पो पुग्ने हो कि भन्ने खतरा उपत्यकाको बढ्दो रफ्तारमा रहेको वायु प्रदूषण, यसको कचौरे बनोट र कर्मथलो यहीँ भएकाले यहीँ बस्ने र रमाउने हाम्रो छनोट नै कतै घातक हुने हो कि भन्नेतर्फ पनि हामी सबैले सोच्नैपर्ने बेला आएको छ। यसलाई समय नभड्किँदै नसोच्ने हो भने हिउँदयामको उपत्यका विषाक्त ग्यासरूपी च्याम्बरमा पो रूपान्तरित हुँदै जाने हो कि (?) समय क्रमसँगै। सम्बन्धित पक्षको ध्यानाकर्षण समयमै नहुँदा यसको सम्बोधन गर्न ढिला भइसकेको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App