१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुरीति तोड्दै एकल महिलाले लगाए रातो लुगा

थाक्रे गाउँपालिकाका एकल महिला रातो लुगा लगाएपछि खुसी साट्दै। तस्बिरः सरिता श्रेष्ठ/नागरिक

धादिङ – श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हाम्रो समाजमा छ। तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामूहिक रूपमा रातो टीका र लुगा लगाएका छन्।

श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला गोमा तामाङले बताइन्। ‘समाजको नकारात्मक सोच हटाउन एकल महिला एक भएर अग्रसर हुनु जरुरी छ,’ उनले भनिन्, ‘श्रीमानलाई गुमाउनुपर्दाको पीडा बिर्साउन र समाजमा सम्मानपूर्वक बाँच्न हामीहरू रातो पहिरनमा सजिएका हौं।’

श्रीमानको मृत्युपश्चात् चुरापोते, सिन्दुर, टीका र रातो कपडा लगाउनु हुन्न भन्ने कुप्रचलनविरुद्ध यहाँका महिला जुर्मुराएका छन्। यहाँका एकल महिला समूह बनाएर विभिन्न सीपमूलक तथा कृषि काममा संलग्न भएका छन्। महादेवबेंसी बजारमा एकल महिलाको समूह बनाएर विभिन्न सीपमूलक तालिम तथा बचत गर्ने गरिएको छ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत थाक्रे गाउँपालिकाले मंगलबार दुई सयभन्दा बढी एकल महिलालाई भेला गराइ रातो टीका र रातो पहिरनसहित सम्मान गरेको हो। अन्धविश्वास र कुरीतिलाई जरैदेखि उखेल्न यो ठूलो सामाजिक अभियान भएको थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रूपाखेतीले बताइन्।

‘समाजमा एकल महिलालाई हेर्ने संकुचित दृष्टिकोणमा परिवर्तन ल्याउन रातो पहिरन प्रदान गरेका हौं,’ उनले भनिन्, ‘जनचेतना बढ्दै गएपछि यहाँका एकल महिला समाजका अगाडि निडरताका साथ रातो टीका र पहिरन लगाउने भएका हुन्।’ एकल हुँदा समाजमा अपहेलित हुनुपर्ने र एकल महिलालाई नै प्रायः बोक्सीको आरोप लगाउने प्रवृत्ति समाजमा छ। एकल हुँदा अनेकन समस्या भोग्नु परिरहेको र समाजकै डरका कारण चाहेर पनि रातो कपडा, चुरा, टीका लगाउन नपाएको गुनासो एकल महिलाले गर्ने गरेका छन्।

प्रकाशित: १२ मंसिर २०७५ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App