७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीकै मिलेमतोमा तस्करी

धनगढी – केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो। घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरीको सेटिङमा करोडौंका सामान तस्करी भइरहेको पुष्टि गरेको छ।

गत फागुनमा नागरिक दैनिकले प्रहरीको सेटिङमा दसौं करोडको सामान कसरी भित्रिन्छ भनेर समाचार प्रकाशित गरेको थियो। प्रहरीका विभिन्न कार्यालयलाई महिनाबारी बुझाएर हुने करोडौंको तस्करी रोकिएको छैन। धनगढीका विभिन्न चोर नाकाबाट प्रहरीको सेटिङमा राति ठूलो परिमाणमा समान भित्र्याइने गरेको स्रोतले दाबी गरेको छ।

‘अहिले पनि वडा नम्बर २, मसान घाटको नाका, बंगराकटानको नाकाबाट राति ठूलो परिमाणमा सामान भित्रिरहेका छन्,’ उनले भने। प्रहरीका हाकिमहरूले घुमुवा प्रहरी परिचालन गरेर महिनाबारी असुल्ने गरेका छन्। फोन संवादमा पनि तस्करी गर्ने सावन गुप्ताले विभन्न प्रहरी हाकिमलाई महिनाबारी पैसा दिने गरेको सुनिन्छ। प्रहरीले मासिक पाँच हजारदेखि १० हजार रुपैयाँसम्म बुझेर तस्करीका सामान ल्याउन दिएको खुलासा भएको छ।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय प्रमुख र संघीय एकाइ प्रहरी कार्यालयका प्रमुखबीच तस्करबाट पैसा उठाउने क्रममा हानाथाप हुँदा घुमुवा प्रहरी र तस्करीका सामान ओसार्नेबीच कुराकानी भएको अडियो टेप सार्वजनिक भएको हो। उक्त फोन संवादमा पैसाको मोलमोलाइ भएको सुनिन्छ।

घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरीको सेटिङमा करोडौंका सामान तस्करी भइरहेको पुष्टि गरेको छ।

घुमुवा प्रहरी जागिरबाट हटाइए, तस्करी रोकिएन

तस्करीबारे मिडियामा सार्वजनिक भए पनि यसअघि प्रहरीका हाकिमले प्रहरीको साँठगाँठमा तस्करी भइरहेको कुरा नकार्थे। तर अडियो संवाद नै सार्वजनिक भएपछि भने कारबाहीको निसाना तल्लो स्तरका घुमुवा प्रहरीलाई बनाए। यो अडियो सार्वजनिक भएपछि तीन जना घुमुवा प्रहरीलाई राजीनामा दिन लगाएर जागिरबाट हटाइएको छ।

‘हामीले महिनाबारी पैसा उठाउने हाकिमकै लाागि हो, दुईचार हजार आफूसँग राखे पनि उठाएका सबै पैसा उनीहरूलाई नै दिएको हो,’ राजीनामा दिन बाध्य एक घुमुवा प्रहरीले भने, ‘पेलानमा हामी तल्लो स्तरकालाई पारियो।’ कैलालीका विभिन्न नाकामा हुने तस्करी भने रोकिएका छैनन्। ‘केही नाकाबाट राति १२ बजेदेखि २ बजेका बीच अहिले पनि ठूलो मात्रामा सामान भित्रिने गरेका छन्,’ एक प्रहरीले भने।

घुमुवा प्रहरी र सीमा नाकामा रहेका युनिट प्रमुखलाई परिचालन गरेर प्रहरीका हाकिमले तस्करबाट महिनाबारी उठाउने गरेका छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख हरि ओलीले तस्करीबाट पैसा उठाउने कुरा सार्वजनिक भएपछि छानबिन गरिएको र केही प्रहरीलाई हटाइएको बताए। महिनाबारी असुलेर सामान भित्रिने कुरा बन्द गर्न लगाइएको पनि उनको दाबी छ।

घुमुवा प्रहरी अझै परिचालित

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमृुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरज केसीले कडाइ गर्न खोजे पनि प्रहरीको सेटिङमा भइरहेको तस्करी रोक्न सफल हुन सकेका छैनन्। तस्करी र आपराधिक गतिविधि नियन्त्रण गर्न गठित क्षेत्रिय अनुसन्धान ब्युरो(आर आइटी) र अञ्चल प्रहरी अनुसन्धान ब्युरो (जेड आइटी) ले तस्करी गर्नेहरूबाट महिनाबारी असुल्ने गरेका थिए।

डिआइजी केसीले यी दुवै ब्युरो विघटन गरिदिएका छन। डिआइजी आफूले घुमुवा प्रहरी राखेका छैनन्। उनले घुमुवा प्रहरी नराख्न भने पनि जिल्ला प्रहरी कार्यालय मातहत अहिले पनि तीन जना घुमुवा प्रहरी परिचालन गरिएको स्रोतले बताएको छ। सीमा प्रहरी चौकीका प्रमुख र जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीको सहयोगमा तस्करी भइरहेको स्रोतको दाबी छ। प्रहरी नायब महानिरीक्षक केसीले पहिले प्रहरीको सेटिङमा तस्करी हुने गरेको भए पनि अहिले पूरै बन्द गरिएको दाबी गरेका छन्।

जिल्ला प्रहरी कार्यालयले घुमुवा प्रहरी परिचालन गरेको भए हटाउन लगाउने र कुनै ठाउँमा तस्करीको सामान भित्रिरहेको भए रोक्ने उनले बताए। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख ओलीले भने आपराधिक गतिविधि अनुसन्धान गर्न सादा पोसाकमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले प्रहरी नायब निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिएको डिआइजी केसीले जानकारी दिए।

भन्सारमा राजस्व तिरेर भन्दा धेरै परिमाणमा सामान अवैध रूपमा कैलाली र कञ्चनपुरका नाकाबाट भित्रिने गरेको खुुलेको छ। प्रत्येक महिना दसौं करोड बराबरका सामान भन्सार छलेर यहाँ भित्रिने गरेका छन्। अवैध रूपमा भिœयाएर बिक्री गर्न र प्रयोग गर्न सम्भव नहुने वस्तु मात्र भन्सार भएर आउँछन्। कपडा, हार्डवेयरका सामान, मोटर पार्ट्स, सिमेन्ट, ब्याट्री, चिनी लगायतका वस्तु भारतबाट नेपाल अवैध रूपमा बढी भित्रिनेमा पर्छन्।

‘धनगढीका विभिन्न नाका, टीकापुरको खग्रौला, कञ्चनपुरका नाकाबाट भन्सार नतिरेका महिनामा करोडौंका सामान भित्रिन्छन्,’ विश्वस्त स्रोतले भन्यो।

सावन गुप्ताले हार्डवेयर लगायतका सामान बंगराकटान हुँदै धनगढी भित्र्याउने गरेको स्रोतको भनाइ छ। अंकित ट्रेडर्स, ग्वासी समैजी जनरल स्टोर, सिंह जनरल स्टोर, मिश्रा जनरल स्टोर, एबिआर जनरल स्टोर, रेखा फेन्सी लगायतका पसलमा भारतबाट कपडा भित्रिने गरेको स्रोतको दाबी छ। ठूलो परिमाणमा हार्डवेयरका सामान बिक्री गर्ने पसलहरूमा वालाजी ट्रेडर्स, हरिओम हार्डवेयर, पृती इन्जिनियरिङ हार्डवेयर लगायत छन्।

व्यवासायीको समान अवैध रूपमा भित्र्याउन भारत र नेपाल दुवै देशका ऐजेन्टले काम गर्ने गरेका छन्। तिनले भारतका कस्टमका कर्मचारी, एसएसबी र नेपालका विभिन्न प्रहरी एकाइ, सशस्त्र प्रहरी एकाइसँग सेटिङ मिलाएर अपैध रूपमा सामान भित्र्याउने गरेको स्रोतले बताएको छ। धेरै एजेन्ट भए पनि मुख्य रूपमा गौरीफन्टा नाकाबाट सामान भित्र्याउन काम गर्ने एजेन्ट गौरव गुप्ता(भारतीय), सन्तोष गुप्ता(भारतीय), सावन गुप्ता( भारतीय), जयनारायण, भीम खड्कालगायत ऐजेन्ट छन् भने खग्रौलामा धनसिंह साउद रहेको स्रोतले जानकारी दिएको छ।

डान्सबार, १२ महिना जुवा खेलिने ठाउँ, होटल, कवाडीका पसल, अन्य आपराधिक गतिविधि हुने ठाउँ र व्यक्तिबाट पनि प्रहरीले महिनाबारी असुल्ने गरेको स्रातले दाबी गरेको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App