६ वैशाख २०८१ बिहीबार
समाज

होला त सैनिक आचरण सुधार ?

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले दसैंका बेला आयोजना गरिएको पत्रकार सम्मेलनमा सेनाको सांगठानिक र आचरण सुधार गर्नेबारे बोलेका थिए। उनले सेनामाथि लाग्ने गरेको भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने र सेनाभित्र हुने भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई प्राथमिकतामा राख्ने बताएका थिए।

थापाले प्रधानसेनापतिको जिम्मेवारी सम्हाले यता केही सुधारात्मक प्रयास गरेका छन्। उनले सेनाको जिम्मेवारी सम्हालेलगत्तै पहिले बन्द गर्ने भनिएको आर्मी अफिसर्स क्लबलाई गैर सैनिकलाई पार्टी प्यालेसका रूपमा प्रयोग गर्नमा रोक लगाएका थिए। भदौ साउन २४ गते देखि कामु सेनापतिको जिम्मा पाएका थापाले आफूले जिम्मेवारी लिएपछि पहिले देखि नै गर्ने भनिएको उक्त निर्णयलाई वैधानिकता दिएका थिए।

प्रधानसेनापति थापाको नेतृत्वमा कात्तिक २७ गते पहिलोपटक सैनिक आचरण, संस्थाको अपेक्षा र जिम्मेवारीका विषयमा नेतृत्व सम्वाद सुरु भएको छ। सैनिक आचरणमा सकारात्मक सुधार ल्याउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा उपहार लिने दिने प्रचलन, आर्थिक अनियमितता (भ्रष्टाचार) र भनसुन गरी तीनवटा शीर्षकमा छलफल गरिएको थियो। यो कार्यक्रमलाई चैत मसान्तसम्ममा चरणवद्ध रूपमा जुनियर नेतृत्व तहसम्म लैजाने र यसले सेनाको आचरण सुधारमा महŒवपूर्ण भूमिका खेल्ने सेनाको दाबी छ।

यस किसिमको संवादले नेपाली सेनाका विभिन्न तहका नेतृत्व वर्ग र अधिकृतहरुमा ऐन, नियम, आदेश, निर्देशन तथा सैनिक आचारसंहिताबारे सचेतना फैलाउन मद्दत गर्ने सेनाको दाबी छ। यस्तो कार्यक्रमले नेपाली सेनामा पनि नेपालले अनुमोदन गरिसकेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी कार्यान्वयनसम्बन्धी कार्ययोजना २०६९ कार्यान्वयनमा सहयोग पुग्ने सैन्य नेतृत्वको बुझाइ रहेको छ।

थापाले सेनाको जिम्मेवारी सम्हालेलगत्तै पहिले बन्द गर्ने भनिएको आर्मी अफिसर्स क्लबलाई गैर सैनिकलाई पार्टी प्यालेसका रूपमा प्रयोग गर्नमा रोक लगाएका थिए।

नेपाली सेनाले यसअघि एउटैस्थानमा रहेका फरक–फरक कार्यालयमा राष्ट्रपति, प्रधानसेनापति तथा मातहतको विभागीय प्रमुखका तस्बिर राख्ने गरेको थियो। अहिले सेनाले एउटा स्थानमा एक सेटमात्र तस्बिर राख्न सुरु गरेको छ। यो सांगठानिक सुधारकै कार्यक्रमअन्तर्गतको कार्यक्रम रहेको र यसले आर्थिक मितव्ययीता पनि हुने सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी बताउँछन्।

थापाले नेपाली सेनाको नेतृत्व सम्हालेलगत्तै आचरणविपरीत काम गर्ने अधिकृतसहितका १ सय ८० जना सैनिकमाथि कोर्ट मार्सल लगाइयो। संगठनको हितविपरीत काम गर्ने सैनिकलाई कारबाही गर्न अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीकै पालामा आदेश भए पनि त्यसको कार्यान्वयन थापाकै पालामा भयो। सेनाको नेतृत्व सम्हालेलगत्तै सांगठानिक सुधार गर्ने प्रतिबद्धता जनाएका थापाले सुरु गरेका केही सकारात्मक कामले उनी संगठनमा सुधार गर्न खोजेको संकेत हुन्छ।

यस अघीको सैन्य नेतृत्वले औपचारिक कार्यक्रमको आयोजना गरी मिडियालाई प्रत्यक्ष सामना गरेका उदाहरण निकै कम हुने गर्थे। तर प्रधानसेनापति थापाले भने दशैको शुभकामनाको अवसरमा आफै उपस्थित बनेर नेपाली सेनाका विविध पक्षमाथि गरिएका प्रश्नको आफैंले जवाफ दिने प्रयत्न समेत गरे। उक्त कार्यक्रममा सहभागी कतिपयले प्रधानसेनापति आफैले मिडियालाई फेस गर्नु पनि सकारात्मक पक्ष भएको टिप्पणी गरेका थिए।

प्रधानसेनापति थापाले पछिल्लो समय सेनाभित्र शैक्षिक प्रमाणपत्रको विषय पनि उठाएका छन्। विगतमा नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाएका आरोपसमेत सैनिक अधिकारीमाथि लाग्ने गरेकोमा यसपटक उनले माथिल्लो दर्जादेखि तल्लो दर्जाका सैनिकलाई आफ्नो सक्कली सर्टिफिकेट पेस गर्न निर्देशन दिएका छन्। यसले सेनाभित्रको सैनिक आचरण सुधार गर्न र गलत कागजात पेस गरी जागिर खाने प्रवृत्तिलाई अन्त्य गर्ने रक्षा मामिलाका जानकारहरू बताउँछन्। रक्षा मामिलाका जानकार डा. उमेश भट्टराई प्रधानसेनापति थापाले सेनाभित्र रहेका बेथितलाई सुधार गर्न खोजेको बताउँछन्। भट्टराई प्रधानसेनापति थापाले सुरु गरेका सुधारका काम नीतिगत तहमा कति सुधार हुन्छन् भन्ने कुरा भने हेर्न बाँकी नै रहेको बताउँछन्।

‘उहाँले गर्न खोजेका काम राम्रो नै देखिन्छ, कतिपय विषयको सुधार गर्न सुरु भएको पनि देखिन्छ, तर त्यो नीतिगत तहमा देखिन्छ या देखिँदैन भन्ने कुरा हेर्न बाँकी नै छ,’ उनले भने। सेनाको माथिल्लो तहमा सर्टिफिकेटको खोजी गर्नु सकारात्म भन्दै भट्टराईले विगतमा पनि सर्टिफिकेट र उमेर सच्याउने प्रवृत्तिले सेनालाई भद्रगोल बनाएको बताउँछन्। नक्कली सर्टिफिकेट पेस गरेर जागिर खानेहरूलाई पत्ता लगाए मात्र पनि त्यसले समाजमा सकारात्मक सन्देश जाने उनी बताउँछन्।

विगतका गलत नजिरलाई सुधार गर्न सकेमा त्यो सेनाका लागि ठूलो उपलब्धि हुने डा. भट्टराई बताउँछन्। असहिले सेनाभित्रका गलत नजिरलाई भत्काउन सके पछिको पुस्ताले गल्ती नदोहोर्याउने उनको भनाई छ। अहिले सुरु गरिएका काम धेरै राम्रा भएपनि त्यसले पछिसम्म निरन्तरता पाउने नपाउने भन्ने विषय हेर्न बाँकी नै रहेको उनी बताउँछन्।

संगठानीक सुधारको संकेत गरेका थापामाथि आफ्नै जुनियरमाथि अन्याय गरेको आरोपसमेत लाग्ने गरेको छ। बढुवा सिफारिसमा अन्याय गरेको भन्दै सहायक रथी नैनराज दाहालले प्रधानसेनापति थापा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै हालेका छन्। हालै अर्का उपरथी अनुज बस्न्यातले पनि रिक्त रहेको स्थानमा समयमै बढुवा नगरेर आफूलाई अवकाश दिन लागेको भन्दै उपप्रधान एवं रक्षा मन्त्रीसमक्ष उजुरी दिएका छन्। बस्न्यात नेपाली सेनामा वरिष्ठतम् अधिकारी हुन्।

प्रकाशित: १२ मंसिर २०७५ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App