१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्तिप्रक्रियाका सूत्रधार चक्र

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले बास्तोलाको ४५ औं दिनको पुण्यतिथिमा मंगलबार राजधानीमा आयोजना गरेको श्रद्धाञ्जली सभाका सहभागी । तस्बिर : विजय गजमेर/नागरिक

काठमाडौं – प्रमुख राजनीतिक दलका नेताहरूले नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने प्रमुख सूत्रधारका रूपमा स्मरण गरेका छन्।

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले बास्तोलाको ४५औं दिनको पुण्यतिथिमा मंगलबार राजधानीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा नेताहरूले माओवादीको हिंसात्मक आन्दोलनलाई शान्तिपूर्ण बाटोमा ल्याउन बास्तोलाले खोलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनको प्रशंसा गरे।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको शान्ति प्रक्रियामा उनको योगदान अतुलनीय रहेको चर्चा गरे। ‘माओवादीसँग वार्ता गर्ने भनेकै चक्रजी हो,’ उनले भने,

‘गिरिजा बाबु (गिरिजाप्रसाद कोइराला) लाई लगेर माओवादीसँग भेट गराएकै उहाँले हो।’ माओवादीलाई शान्ति प्रक्रिया ल्याउन आफूले खेलेको भूमिकाबारे बास्तोलाले कहिल्यै प्रचार नगरेको उल्लेख गर्दै देउवाले भने, ‘आफूले नगरे पनि धेरै मान्छेले जस लिने गरे पनि उहाँले आफैंले गरेको कामको कतै पनि प्रचार गर्नुभएन।’

पार्टी नेताहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच चुलिएको विवाद समाधानका लागि बास्तोलाले समन्वयकारी भूमिका खेलेको स्मरण गर्दै उनले भने, ‘कांग्रेसलाई विभाजन हुनबाट रोक्न टुटिसकेको वार्तालाई जोड्न र एकताका लागि उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो।’

प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले चक्र बास्तोला २०५८ सालमै राजतन्त्र अन्त्य गरेर गणतन्त्रमा जान तयार रहेको स्मरण गरे। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले माओवादीसँग वार्ताका लागि गठन गरेको समिति सदस्यका रूपमा बास्तोलालाई भेटेको सम्झँदै तत्कालीन माओवादी वार्ता टोली सदस्यसमेत रहेका महराले भने, ‘शान्तिप्रक्रियाका अप्रत्यक्ष सूत्रधार चक्रजी नै हो।’

अनौपचारिक छलफलले समस्याको सही समाधानमा पुग्न सकिने बास्तोलाको बुझाइकै आधारमा तत्कालीन प्रधानमन्त्री देउवासहितका नेताहरूसँग पटकपटक छलफल भएको उनले जानकारी दिए। उनले भने, ‘सूचना र अध्ययन मात्र होइन, ठीक समयमा ठीक ढंगले राजनीतिक विश्लेषण गर्न सक्ने खुबी उहाँमा थियो।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालीको लोकतान्त्रिक मात्र होइन, शान्तिप्रक्रियामा बास्तोलाको योगदान अतुलनीय रहेको स्पष्ट पारे। विद्रोही चेत र परिवर्तनको पक्षमा बास्तोला निरन्तर उभिएको बताउँदै तत्कालीन माओवादी वार्ता टोली सदस्य ज्ञवालीले भने, ‘लोकतान्त्रिक शासन व्यवस्था स्थापना र न्यायलाई प्रत्याभूति गर्ने कुरामा उहाँले निरन्तर जोड दिइरहनुभयो।’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले तत्काल निर्णय लिन सक्ने नेताका रूपमा बास्तोलालाई सम्झिए। ‘निर्णय यथास्थितिका लागि होइन, परिर्वतनको पक्षमा हुन्थ्यो,’ उनले भने, ‘उहाँ अड्केर बस्ने होइन, अघि बढिहाल्ने नेता हुनुहुन्थ्यो।’

कार्यक्रममा बास्तोलाकी धर्मपत्नी कुसुमले नेता बास्तोलाको रेखदेखमा योगदान दिने सबैको प्रसंशा गर्दै धन्यवाद दिइन्। कांग्रेस सभापति शेरबहादुर देउवाले बास्तोला पत्नी कुसुमले चाहे पार्टी केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका छन्।

प्रकाशित: १२ मंसिर २०७५ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App