७ वैशाख २०८१ शुक्रबार
कला

आहा ! कति सुन्दर बागमती

काठमाडौं –  बाघद्बारदेखि सुरु भएको बागमती नदीको काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य खण्ड चोभारको गल्छी हो। पहिले उपत्यका एउटा दह जस्तो थियो। बागमतीको अन्त्य हुने ठाउँ यही दह नै थियो। प्राचीन किंवदन्ती अनुसार चीनबाट आएका मञ्जुश्रीले चोभारको डाँडा काटेर गल्छी बनाइ यहाँको पानी बाहिर पठाएर मानव वस्ती विकास गर्न सघाए। त्यतिबेलाको कञ्चन पानी यतिबेला बागमतीमा भेट्न सकिन्न। डुङ डुङ गन्हाउने बागमतीको पानी आसपास उभिन पनि हरकोही असहज मान्छन्।

तर गएको शनिबार त्यहाँ क्यानभास ठड्याउन पुगेका कलाकारले भने बागमती सौन्दर्य बयान गर्नेे चित्र बनाए। मञ्जुश्री पार्कबाट बनेको चित्र होस बा पारि जलविनायक किनारबाट बनेका चित्र नै किन नहुन् कञ्चन बागमतीको रङ चित्रमा भरिए। झलक केसीले चोभारको पुल तलबाट बाहिरिदै गरेको बागमती र जलबिनायक मन्दिरको सुन्दर संयोजन चित्रमा गर्न भ्याए। उनको चित्र बनेपछि हेर्ने अर्का कलाकार रामकृष्ण भण्डारीले भने, ‘अहा ! कस्तो राम्रो बनेछ चित्र ,बाहिर गन्हाए पनि चित्रमा भने हेरिरहुँ र बसिरहुँ झै लाग्यो।’ उनले भने किनार नगई पुलछेउबाट परजाँदै गरेको बागमती र जलविनायकको चित्रांकन गरे।

कलाकार दीपेन्द्र बनेपालीले पनि बागमतीको सुन्दरतालाई चित्रमा कैद गर्न छाडेनन्। ऐतिहासिक स्थलमा बगेको बागमतीको कञ्चन पानीको कल्पनाले उनको चित्रको हराभरापनमा रङ थप्यो। राजेन्द्र याकामी, विनोद महर्जन, प्रकाश मानन्धर, सुष्मा श्रेष्ठ, दीपना शर्मा राजेन्द्र याकामी, विनोद महर्जन, विक्रम प्रजापति, प्रकाश मानन्धर, दिवेश प्रधान लगायतले मञ्जुश्री पाक आसपास बसेर परको हात्तीवन, खोकनाको छेउसम्म पुग्दै गरेको बागमती र हरियाली सुन्दरतालाई चित्रमा महत्व दिए। राकेशचन्द्र श्रेष्ठ लगायतले भने भूकम्पपछि पुननिर्माण भैरहेको जलविनायक मन्दिरभित्रको मर्म चित्रमा ओगटे।

राजधानीका विभिन्न स्थान विचरण गर्दै बाहिरिने क्रममा चोभारको गल्छी काट्दै गर्दा बागमती जलविनायकको छेउ पुग्छ। जुन स्थान बागमतीमा कोही डुबेर हराएमा खोज्ने पहिलो स्थल त्यही गल्छीपारि हो। भव्यपुल हुँदै बग्ने बागमती पुल काट्नासाथै भुमरीमा परिणत हुन्छ। त्यही भुमरीमा बगेर आउने शव र फोहरका थुप्रो केही समय अडिने गर्छ। त्यो स्थल त्यसैले पनि झन् दुर्गन्धमय छ।

‘त्यो दुर्गन्ध र फोहर चित्रमा भने छैन’ आयोजक शनिबारीय कला कार्यशालाका सहजकर्ता दिवेश प्रधानले भने, ‘बागमतीको यो दुर्गन्ध हटाउनुपर्छ भन्ने अभियानलाई साथ दिन पनि कार्यशालाले सघाएको छ।’ बागमती सरसफाई अभियानले सयौं दिन पार गरिसक्दा अझै बागमती सङ्लिन सकेको छैन। त्यसैले पनि कलाकार सुन्दर बागमतीको परिकल्पना चित्रमा उतार्दै जनचेतना छर्न उत्रिएको उनको भनाइ थियो। चोभार ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रुपले सुन्दर स्थान भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक कर्ण महर्जनले उल्लेख गरे।

उनका अनुसार नेपाल यात्रामा आएका मञ्जुश्रीले चोभारको डाँडा काट्यो भने वस्ती बसाउन सकिन्छ भन्ने सोचेर चन्द्रहंस खड्गले डाँडा काटेर निकास बनाए।

वैज्ञानिक अध्ययनले भने करिब ३० हजार वर्षअघि यहाँ जम्मा भएको पानीले चोभार डाँडाको नरम चट्टान चोट्याएर आफै बाहिर निस्केको भनाइ रहेको उनले औंल्याए। जसका कारण बिस्तारै पानी कम हुँदै करिब दसहजार वर्ष अघिबाट यहाँ वस्ती वस्न थालेको हो।

नेपालकै दोस्रो लामो गुफा, टौदह ,कीर्तिपुर जस्ता ऐतिहासिक तथा धार्मिक महत्वको जलविनायक यहीँ अवस्थित रहेकाले यसको पर्यटकीय महत्व बढेको जलविनायक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष सुजिन्द्र महर्जन बताउँछन्। ‘कलाकार यसरी यहाँ आएर चित्र कोरिदिँदा एक त आन्तरिक पर्यटन प्रवद्र्धन भएको अर्को यहाँको बातावरणीय सुन्दरता प्रवद्र्धन गर्न आम मानिसलाई चेतना छर्न सघाउन पुगेको छ’, महर्जनले सुनाए।

वन तथा आसपासका क्षेत्रगरि चोभार २३ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ। शनिबार नै जलरंग कोर्ने कलाकारको अर्को समूहले भने बसन्तपुर क्षेत्रको ऐतिहासिक सुन्दरतालाई चित्रमा संगालेका थिए। चोभारको बागमती बनाउने कलाकारले समेत दिउँसो बसन्तपुर पुगेकार थप चित्र कोरेका थिए।

प्रकाशित: १२ मंसिर २०७५ ००:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App