७ वैशाख २०८१ शुक्रबार
अर्थ

हरियो तरकारी किनिनसक्नु !

काठमाडौं– साग एक पाउ (२ सय ग्राम) को २५ रुपैयाँ, काउली पाउकै ३० रुपैयाँ । साग, काउली मात्र होइन, उपत्यकाको खुला बजारमा अहिले २५/३० रुपैयाँ पाउभन्दा सस्तो हरियो तरकारी पाउनै मुस्किल छ । मूल्य अचाक्ली बढेपछि तरकारी पाउमा हिसाब हुन थालेको छ, किलोको भाउ किन्न त के, सुन्नै नसकिने भएको छ ।

चाडबाड नजिकिएसँगै बजारमा तरकारीको भाउ एकाएक अकासिएपछि उपभोक्ता आत्तिएका छन् । नेपाल राष्ट्र बैंकले ८.६ हाराहारी मूल्यवृद्धि भएको तथ्यांक सार्वजनिक गरिरहँदा तरकारीको भाउ भने २ सय प्रतिशतसम्म बढेको छ ।

उपभोक्ताका अनुसार अहिले बजारमा प्याजबाहेक सबै हरियो तरकारीको मूल्य छोइनसक्नु छ । कालिमाटी तरकारी बजारमा गत वर्षको असोज ९ गते ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काउली आइतबार २ सय प्रतिशतले बढेर १ सय ३५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यही काउली खुला बजार हुँदै उपभोक्तासम्म पुग्दा किलोको १ सय ५० रुपैयाँसम्म पर्छ ।

मूल्यवृद्धि ९ प्रतिशत हाराहारी रहे पनि हरियो तरकारी दुई सय प्रतिशतसम्म बढ्यो

कालिमाटीको तरकारी बजारभाउ गत आर्थिक वर्ष र यस वर्षको तुलना गर्दा ४५ रुपैयाँ धार्नीको आलु बढेर १ सय १५, घ्युसिमी ४५ बाट १ सय २५, घिरौंला ३५ बाट ५५, करेला ५५ बाट १ सय २५, भिन्डी ६५ बाट ९५  र हरियो खुर्सानी ५५ बाट बढेर ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

व्यापारीले तरकारीमा न्यूनतम १० देखि अधिकतम २० प्रतिशत नाफा राखेर बेच्ने दाबी गरे पनि बजारमूल्यमा भने एकरुपता छैन । तरकारी महँगो भएपछि गृहिणीलाई कसरी खर्च धान्ने पिरलो छ ।
तरकारी पाउकै २५÷३० रुपैयाँ परेपछि भान्सा चलाउन हम्मे परेको कमलपोखरीकी गंगा खतिवडा बताउँछिन् । ‘सानो परिवारलाई एक छाक टार्न साग मात्र कम्तीमा दुई पाउ चाहिन्छ,’ मैतीदेवीमा तरकारी किन्दै गरेकी खतिवडाले भनिन्, ‘तरकारी अचाक्ली महँगो हुँदा घरखर्च चलाउनै मुस्किल भयो ।’

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरको दामनलगायत क्षेत्रमा उत्पादन भएको तरकारी उपत्यकाको कालिमाटी तरकारी बजार, टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखेलगायतका खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्दा चौगुणासम्म महँगो हुने गरेको छ ।

मूल्यवृद्धि नियन्त्रणमा सरकारी प्रयास फितलो हुँदा व्यापारीले मनपरी मूल्य बढाइरहेका छन् । एकतर्फ उत्पादन घटेको बहानामा तरकारी महँगिएको छ भने अर्कोतर्फ व्यापारीले मनोमानी ढंगले भाउ तोक्दा उपभोक्ता मारमा छन् ।

दैनिक उपभोग्य वस्तुसँगै तरकारीको भाउ बढेपछि आम्दानीले घरव्यवहार चलाउनै हम्मे परेको बागबजार बस्दै आएकी सुनिता परियारले बताइन् । ‘तरकारीको भाउ धान्नै नसक्ने भयो,’ टेलरिङ व्यवसाय गर्ने परियारले भनिन्, ‘अब बालबच्चालाई हरियो तरकारी कसरी खुवाउने ?

निम्न आम्दानी भएका, ज्यालादारी काम गर्ने, विद्यार्थी मारमा परेका छन् । व्यापारीले अधिक नाफा राख्ने गरेको काभ्रेका किसान प्रमोद बस्नेतले बताए । ‘हामीसँग सस्तोमा लगेर महँगोमा बेच्छन्,’ उनले भने,

‘बीचका व्यापारीले धेरै नाफा खाए । किसान र उपभोक्ता सबै ठगिएका छन् ।’
माग अनुपातमा तरकारी बजारमा नआएकाले महँगो भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।

‘चाहिएजति तरकारी नआउँदा भाउ बढेको हो,’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरले भने, ‘तरकारी बारीमा उत्पादन घट्दा बजारमा असर प¥यो ।’ उपत्यकामा दैनिक करिब १८ सय÷२ हजार टन खपत हुने गरेकोमा अहिले १३÷१८ टन मात्र उपत्यका भित्रिने गरेको उनले बताए ।  ‘चाहिएजति तरकारी नपाएपछि स्वाभाविक रुपमा मूल्य बढ्ने भो,’ घिमिरेले भने, ‘सकेसम्म तुलनात्मक रुपमा सस्तोमा तरकारी उपलब्ध गराउने प्रयासमा छौं ।’

माग बढेपछि तरकारीको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  

वर्षाका कारण उत्पादन घट्दा मूल्य बढेको कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले बताए । यो वर्ष पानी धेरै परेकाले ढुवानीमा समेत समस्या भएको उनले सुनाए ।

‘अहिलेको उत्पादन बेमौसमी हो,’ जिसीले भने, ‘पानी धेरै परेकाले तरकारी उत्पादन घट्यो ।’
काठमाडौं भित्रिने बाटोले ढुवानीमा अप्ठ्यारो हुँदा व्यापारीले यहाँ नल्याएर बाहिरी सहरमा लगेका छन् ।’ नारायणगढ—मुग्लिन सडक र उपत्यका प्रवेश मार्गमा घन्टौं जाम परेकाले त्यसको असरसमेत देखिएको उनले बताए । ‘पूर्वबाट आउने तरकारी पनि आएको छैन,’ जिसीले भने, ‘ग्रामीण कच्ची सडकमा पनि गाडी नगुडेकाले गाउँबाट बजारमा तरकारी ल्याउन पनि कठिनाइ भएको छ ।’ वितरण प्रणाली पनि व्यवस्थित नभएको उनले जनाए ।

व्यापारीले विभिन्न बहानामा चर्को मूल्य असुल्दा तरकारी बजार असन्तुलित भएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । ‘तरकारी मूल्यको ठेगानै छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘दिनदिनै मूल्य बढाएका छन् तर नियमन गर्ने निकाय मौन छ ।’
तरकारमिा केही व्यापारीले कार्टेलिङ गरिरहेको उनले बताए । ‘किसानसँगको खरिद र बिक्री मूल्यको कुनै ठेगान छैन,’ उनले भने, ‘उपभोक्ता ठग्नेलाई कारबाही नहुँदा मनोमानी बढेको हो ।’

दैनिक उपभोग्य खाद्यवस्तु, मासुलगायत क्षेत्रमा अनुगमन गरे पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तरकारी बजार अनुगमन गरेको छैन ।

विभागका निर्देशक लक्ष्मण श्रेष्ठ बजार अनुगमन नियमित भइरहेको दाबी गर्छन् । ‘तरकारीमा पनि गुनासो आए अनुगमन गर्छौं,’ श्रेष्ठले भने, ‘गुणस्तरको विषयमा सचेत छौं ।’

प्रकाशित: ११ आश्विन २०७३ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App