७ वैशाख २०८१ शुक्रबार
खेल

एनआइसी एसियालाई दोहोरो सफलता

कुमारी बैंक र एनएमबी बैंकबीच खेल हुँदै । तस्बिर : नागरिक

काठमाडौं – एनआइसी एसिया बैंक सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटमा मंगलबार दोहोरो जित निकाल्दै समूह ‘ए’ मा शीर्ष स्थानमा पुगेको छ। एनआइसी समूहको दुई खेलमै अपराजित रहँदै चार अंकसहित शीर्ष स्थानमा छ। तीन टोलीको समूहमा एनआइसीले मंगलबार नेपाल लाइफ इन्सुरेन्स र भारतीय दूतावासमाथि जित रचेको थियो।

त्रिभुवन विश्वविद्यालयको क्रिकेटमा मैदानमा भएको आफ्नो पहिलो खेलमा एनआइसी बैंकले नेपाल लाइफ इन्सुरेन्समाथि १० रनको जित निकालेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको एनआइसीले निर्धारित पाँच ओभरमा ४ विकेट गुमाउँदै ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

एनआइसीका लागि सन्जोग शर्माले २४ रन र सुमित श्रेष्ठले नटआउट १२ रन बनाएका थिए। लाइफ इन्सुरेन्सको बलिङमा नवीन भेटवालले २ विकेट र रसिक खड्काले एक विकेट लिए। जबाफी लक्ष्य पछ्याएको लाइफ इन्सुरेन्सले पूरै ओभर खेल्दै तीन विकेटको क्षतिमा ५० रन मात्र बनाएको थियो।

लाइफ इन्सुरेन्सका लागि अलराउन्ड प्रदर्शन गरेका रसिक खड्काले नटआउट ३१ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। एनआइसीका समीर क्षेत्री र सुमित श्रेष्ठले समान एक विकेट लिएका थिए।

दोस्रो खेलमा एनआइसीले भारतीय दूतावासमाथि चार विकेटको जित निकाल्दै दोस्रो सफलता हात पारेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको दूतावासले निर्धारित ५ ओभरमा तीन विकेट गुमाउँदै ३८ रन बनाएको थियो। उसका लागि एआर निसंकले मात्र दोहोरो अंकमा रन बटुल्दा सर्वाधिक ११ रन बनाएका थिए।

एनआइसीका लागि सुमित श्रेष्ठले एकै ओभरमा दुई विकेट लिँदै पाँच रन मात्र खर्चिएका थिए। सन्जोग श्रेष्ठले एक विकेट निकालेका थिए। जबाफी ब्याटिङमा उत्रिएको एनआइसीले २.५ ओभरमा २ विकेट गुमाउँदै ४३ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो। उसका लागि सुमित श्रेष्ठले अविजित १६ रन बनाउँदै जित दिलाए।  भारतीय दूतावासका नीरज कुमारले एकै ओभरमा दुई विकेट निकाले पनि एनआइसीको जित रोक्न सकेनन्।

अन्य खेलमा नेपाल एसबिआई बैंकले मेगा बैंकलाई ३० रनले, एनएमबी बैंकले कुमारी बैंकलाई १२ रनले, आइएफसी फाइनाइन्सले जनता बैंकलाई ५ विकेटले, नेपाल टेलिकमले सनराइज बैंकलाई ४ रनले, मेगा बैंकले आइएमई ग्रुपलाई २२ रनले, जनता बैंकले एनसिसी बैंकलाई ५ विकेटले र नबिल बैंकले सूर्य नेपाललाई ५ विकेटले पराजित गरे।

प्रकाशित: ११ मंसिर २०७५ २३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App