७ वैशाख २०८१ शुक्रबार
खेल

शिवराम शीर्ष स्थानमा

काठमाडौं – शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार ६ अन्डर ६२ स्कोर बटुल्दै शीर्ष स्थानमा छन्। पार–६८ को रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा शिवरामले संयुक्त दोस्रो स्थानमा रहेका भुवन नगरकोटी र एमेच्योर गल्फर टंकबहादुर कार्कीमाथि दुई स्ट्रोकको अग्रता बनाएका छन्। भुवन र टंकले समान चार अन्डर ६४ को कार्ड बनाएका छन्।

शीर्ष प्रोफेसनल गल्फर शिवरामले पहिलो नाइनमा दुई अन्डर ३२ स्कोर बटुलेका थिए। तर, दोस्रो नाइनमा सुधार गर्दै थप चार अन्डर ३० स्कोरको प्रदर्शन गर्न सफल भए। त्यस क्रममा तेस्रो र पाँचौँ होलमा बर्डिज प्रहार गरेका शिवरामले चौथो होलमा भने इगल गरे। त्यसअघि दोस्रो होलमा बोगी खेपेका शिवरामले नवौँ होलमा पुनः बोगी दोहोर्याए।

दोस्रो नाइनको दशौँ र १६औँ होलमा बर्डिज प्रहार गरेका शिवरामले १३औँ होलमा भने इगल गरे। भुवन नगरकोटीले भने दुवै हाफमा समान दुई अन्डर ३४ स्कोर गरेका थिए। पहिलो, तेस्रो र चौथो होलमा बर्डिज प्रहार गरेका भुवनले एक मात्र बोगी नवौँ होलमा खेपेका थिए। ब्याक नाइनमा चार बर्डिज प्रहार गर्ने क्रममा भुवनले दशौँ, एघारौँ, तेह्रौं र १४औँ होलमा सफलता प्राप्त गरे। तर, भुवनले १२औं र १७औं होलको सट भने खेर फालेका थिए।

यता, पहिलो नाइनमा चार अन्डर ३० स्कोर बटुलेका टंकबहादुर कार्कीले दोस्रो नाइनमा भने इभन पार ३४ को कार्ड बनाएका थिए। पहिलो नाइनको पहिलो, दोस्रो र पाँचौं होलमा बर्डिज प्रहार गरेका टंकले चौथो होलमा भने इगल गरेका थिए। तर, छैटौं होलमा भने टंकले बोगीको सामना गरे। ब्याक नाइनमा भने टंकले १०औं र ११औं होलमा बर्डिज प्रहार गर्दा १३औं र १४औं होलमा बोगी खेपेका थिए।

धनबहादुर थापा र रामे मगरले पनि समान तीन अन्डर ६५ स्कोर गर्दै संयुक्त चौथो स्थानमा अग्रता बनाएका छन्। छैटौँ स्थानमा रहेका विकास अधिकारीले पनि पहिलो दिन दुई अन्डर ६६ स्कोर बनाएका छन्। भेट्रान प्रोफेसनल गल्फर दीपक मगर र एमेच्योर गल्फर सुवास तामाङले पनि नवौँ स्थान बाँडेका छन्।

यी दुईले पहिलो दिन इभन पार ६८ को कार्डमा खेलेका थिए। ११औँ स्थानमा एमेच्योर गल्फर विपिन तामाङ, प्रो. गल्फर सूर्यप्रसाद शर्मा र भुवनकुमार रोक्का रहेका छन्। यी तीनैले एक ओभर ६९ को खराब प्रदर्शन गरेका थिए।

प्रतियोगितामा ३३ प्रो. गल्फर र आठ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका छन्। दुई राउन्डको समाप्ति (३६ होल) पछि कट अप निर्णय लागू हुनेछ। तेस्रो राउन्डमा २१ प्रो. र ६ एमेच्योर गल्फरले स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले ९५ हजार र उपविजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: ११ मंसिर २०७५ २३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App