८ वैशाख २०८१ शनिबार
समाज

पेसा परिवर्तन गर्दै बादी समुदाय

अछाम- साँफेबगर नगरपालिकामा बसोवास गर्दै आएका बादी समुदायले पेशा परिवर्तन गर्न थालेका छन्। सुल्पा, मादल बनाइ गाउँगाउँ गएर बेचेर र नाचगान गरेर जिबीको पार्जन गर्दे आएका साँफेबगरका बादीहरुले आफ्नो पेशा परिवर्तन गर्न थालेका हुन्।

साँफेबगर नगरपालिका–४, मष्टामाण्डौको बुढीगंगा नदीको किनारमा बसोबास गर्दे आएका उनीहरुले अहिले ब्यापार र कुखुरापालन गर्न थालेका छन्। वडा कार्यालयले दुई परिवारलाई आयआर्जनका लागि ५०/५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। मिठ्ठु बादीले पसल सञ्चालन गरेकी छन् भने शान्ता बादीले कुखुरा पाल्न खोर व्यवस्थापनमा लागेकी छिन्। बादी समुदाय भन्ना साथ नाचेर, मागेर खानुपर्छ अरु व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफुले खुद्रा व्यापार सुरु गरेको मिठ्ठुले बताइन्। ‘पहिलेको जस्तो मागेर खाने अवस्था छैन,’ उनले भनिन् ‘मागेर अब सबैले दिदैनन्। सुल्पा मादल पनि पहिलेको जस्तो बिक्री हुँदैन। जीवन धान्न व्यापार सुरु गरेकी छु।’ पहिलेको जमानामा हामीले आफ्नो गुजारा जे जसरी हुन्छ चलायौं अब छोराछोरीलाई पनि पढाउनु पर्ने भएकाले आयआर्जनको लागी व्यापार गरेको उनले बताइन्।

शान्ता पनि कुखुरापालन गर्ने मनसायले खोर बनाउन थालेकी हुन्। वडा कार्यालयले सहयोग गरेपछि उनी खुशी छिन्। श्रीमान् भए जेनतेन गुजारा चल्थ्यो तर उनका श्रीमान्  बितेको सात वर्ष भयो। श्रीमानको मृत्युपछि उनी समस्यामा छिन्। ‘पैसा नहुँदा केही गर्न सकिएको थिएन,’ उनले भनिन् ‘अब मागेर खाने जमाना गए, गाउँघरमा मागेर जीवन चलाउन सकिंदै, खेतीपाती गर्नलाई जमिन छैन। कुखुरापालन गरेर आत्मनिर्भर बन्ने सोचमा छु।’ जिविकोपार्जन र आयआर्जनका लागि सहयोग प्रदान गरिएको वडाध्यक्ष बालगिरी कुँवरले बताए। ‘समाजको गलत हेराइ र अपहेलनायुक्त जीवन बिताउन बाध्य पारिएका उनीहरुको जीवनस्तर उकास्नका लागि सहयोग दिएका छौं,’ उनले भने, ‘गरिब निमुखा पछाडि पारिएका बर्गको उत्थानका लागि विभिन्न आयआर्जनका कार्यक्रमहरु वडाले गर्दै आएको छ।’

अल्पसंख्यकको रुपमा चिनिने बादी समुदायका दुई परिवार यो वडामा तीन पुस्तादेखि बस्दै आएका छन्। सरकारको जनता आवास कार्यक्रम अन्तर्गत सहरी विकासले दिएको दुई लाख २५ हजार रुपैयाँले घर निमार्ण गरेपछि बादी समुदायलाई राहत मिलेको छ। नदी किनारमा बसोबास भएकाले उनीहरुले बर्सेनि बाढीको पीडा भोग्दै आएका छन्।

 

प्रकाशित: ११ मंसिर २०७५ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App