coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माण गरिने

पटिहानीस्थित राप्ती नदीमा डुंगा सयर गर्दै पर्यटक। तस्बिर : सविता/नागरिक

चितवन – सरकारले सार्वजनिक गरेको एक सयौं नयाँ पर्यटकीय गन्तव्यमा चितवनको पटिहानी पनि परेको छ। नेपाल भ्रमण वर्ष २०२० का लागि लक्षित गरेर सार्वजनिक गरिएका नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पहिटानीसँगै माडीको सोमेश्वर डाँडालाई पनि समावेश गरिएको छ। भरतपुर महानगरपालिका–२२ को पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ।

सयवटा गन्तव्यभित्र पर्न सफल पटिहानीमा पर्यटनको प्रशस्त सभावना रहेको वडाध्यक्ष विष्णुराज महतो बताउँछन्। सौराहाको सफारी पर्यटन जस्तै जिप सफारी, हात्ती सफारी र डुंगा सफारी पटिहानीमा रहेको छ। सफारी पर्यटनसँगै पटिहानीको मौलिकतालाई जोगाउँदै ‘टिपिकल परिकार’ पटिहानीलाई चिनाउने उनको योजना छ।

‘नयाँ गन्तव्यमा पर्नु खुसीको कुरा छ,’ उनी भन्छन्, ‘पहिचान र प्रचार आवश्यक छ, चुनौती पनि धेरै छन्।’ पटिहानीसँग बेलसर र वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वन जोडिएका छन्। यी सामुदायिक वनका जैविक मार्ग पटिहानी आइपुग्ने पर्यटकलाई जैविक विविधता, वन्यजन्तु देखाउन उपयोग गरिँदै आइएको छ। महानगरपालिकाको वडा नं २२ को क्षेत्रफल ८.७ वर्ग किलोमिटर रहेको छ। 

पटिहानीमा चारवटा थ्री स्टार होटेल सञ्चालनमा छन्। नौवटा पर्यटकीय सुविधा दिने होटल पनि छन्। तीनवटा थ्री स्टार र चारवटा पर्यटकीय सुविधाका होटल बन्दैछन्। ठूला होटेलमा तीन सय ३२ स्तरीय बेड सुविधा छन्। साना होटलमा करिब एक सय ५० को संख्यामा बेड क्षमता रहेको वडाध्यक्ष महतोले जानकारी दिए। पटिहानीभित्र रहेका पर्यटकीय गन्तव्यलाई समावेश गरेर एकीकृत योजना बनाएर अघि बढ्ने तयारी गरिएको उनी बताउँछन्।

पटिहानीमा रहेको कमल पोखरी, छितामाई मन्दिरसँगै कसराको विक्रमबाबा लगायतलाई समेटिने उनले बताए। जंगल भिल्ला रिसोर्टका सञ्चालक गणेश शर्मा पौडेल गएको वर्षको तुुलनामा करिब २५ प्रतिशतले पर्यटक आगमन बढेको बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेकाले दुर्लभ वन्यजन्तु हेर्नकै लागि धेरै पर्यटक आउने गरेको उनको अनुभव छ। ‘प्राकृतिक सुन्दरतामा आनन्द रहेर बस्न मन पराउँदा रहेछन्,’ उनी भन्छन्, ‘शान्त वातावरण र भीडभाड धेरै नहुनाले पटिहानी पर्यटकको रोजाइ बनिरहेको छ।’

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पटिहानी ‘भर्जिन स्पट’ को रुपमा रहेको बताउँछन्। निकुञ्ज घुम्न लाखौं पर्यटक आउने गरेकोमा सौराहालाई मात्र इन्ट्री प्वाइन्टको रुपमा हेरिएको उनले बताए। नयाँ पर्यटकीय गन्तव्यमा परेको पटिहानीले जल, जमिन, जंगलसँगै जलचर, जनावर र जनशक्तिलाई हेरर पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने उनी बताउँछन्। 

प्रकाशित: ११ मंसिर २०७५ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App