coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

वीरगन्जको बाइपास सडक अतिक्रमणमुक्त बनाइँदै

वीरगन्ज घण्टाघर क्षेत्रबाट पत्रुगाडी लैजादै। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – वीरगन्जको विभिन्न सडकमा लामो समयसम्म राखिएका पत्रु (कबाड) गाडी जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगन्ज महानगरपालिकाको कार्यालयले नियन्त्रणमा लिन थालेको छ।

गाडी धनी, ग्यारेजका सञ्चालक र कबाडका पसलवालाले त्यस्ता पत्रु गाडी आफ्नो निजी ठाउँमा नराखी सडक किनारमा थन्काउने गरेका छन्। यसले गर्दा सडक अतिक्रमणमा परेर कुरुप र साँघुरो देखिएपछि सडक खाली र सफा गराउन थालिएको हो।

त्यसैगरी घर–टहरा, बिक्री गर्ने निर्माण सामग्री वा अरु सामान राखेर सडकमा गरिएको अतिक्रमण हटाउन वीरगन्जको बाइपास सडकमा डोजर र प्रहरी खटाइएको छ। एक महिनाभित्र सयौं ठाउँको अतिक्रमण हटाइसकिएको छ।

सडकलाई व्यवस्थापन गर्न यस्तो अभियान समन्वयात्मक रुपमा थालिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। ‘महानगरपालिकाको कार्यालयको नियन्त्रणमा त्यस्ता थोत्रा गाडी राख्ने गरिएको छ,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘सडक र आवागमन व्यवस्थित गर्नका लागि जथाभावी पार्किङ रोक्ने प्रयास पनि थालिएको छ।’

उठाइएका पत्रु गाडी सप्रमाण आउनेलाई महानगरपालिकाको कार्यालयले अब उपरान्त सडकमा गाडी नराख्ने सर्तमा जरिवाना लिएर फिर्ता गरिरहेको प्रशासकीय अधिकृत सुमन श्रेष्ठले बताए। ‘अरु कतिपय गाडीको दाबी गर्न महिना बितिसक्दा पनि कोही नआएको अवस्था छ, कार्यालयले अब एउटा निश्चित समय तोकेर सार्वजनिक सूचना गर्ने छ,’ उनले भने, ‘त्यसपछि पनि कोही आएन भने त्यस्ता गाडीलाई विभिन्न निकाय सम्मिलत समिति बनाएर लिलामीमा लैजानु पर्ने हुन्छ।’ लिलामीको रकम कार्यालयको कोषमा आम्दनी बाँधेर जम्मा गर्ने उनले बताए।

जथाभावी पार्किङ गरिएका मोटरसाइकल उठाएर ट्राफिक प्रहरी कार्यालयमा लैजाने र डेढ हजार रुपैयाँ जरिवाना लिएर दिने गरिएको प्रहरी उपरीक्षक ढकालले बताए। ‘वीरगन्जमा सवारी संख्याको हिसाबले सडक अपुग छ, त्यस्तै अतिक्रमणले पनि समस्या छ, अहिले यसलाई व्यवस्थित गर्ने प्रयास थालिएको हो,’ जनस्तरबाट महानगरपालिका कार्यालय र प्रहरीलाई यस कार्यमा सघाइरहेको ‘व्यवस्थित वीरगन्ज’ अभियानका संयोजक दिलिपराज कार्कीले भने, ‘महानगरपालिका कार्यालय आफैंले ठेक्कामा लगाएको पार्किङलाई अहिलेसम्म सुरु गराउन सकेको छैन, हामीले यसका लागि समेत पहल गर्दै छौं।’

प्रमुख व्यापारिक सहर वीरगन्जमा मालवाहक सवारीसाधन, सार्वजनिक यातायातका र निजी गाडीको अत्याधिक चाप छ। यसका लागि सडक व्यवस्थापन आवश्यक देखेर समन्वयात्मक किसिमले विभिन्न निकाय, संघ–संस्था र व्यक्तिहरु लागिपरेको ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए।

प्रकाशित: ११ मंसिर २०७५ ०५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App