coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा कुटाकुट

काठमाडौं – अनलाइन कारोबार पूर्ण कार्यान्वयनको माग गर्दै नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता र पुँजी बजार विश्लेषकबीच कुटाकुट भएको छ।

लगानीकर्ताका चारवटै संगठन (नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजी बजार लगानीकर्ता संघ र नेपाल पुँजी बजार संघ)का प्रतिनिधि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार बिहान १० बजे पुगेका थिए। उनीहरुले अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै धर्ना र नाराबाजी गरेका थिए।

अनलाइन कारोबार पूर्ण रुपमा कार्यान्वयनको माग गर्दै धर्ना र नाराबाजी गरिरहेका बेला पुँजी बजार विश्लेषकका रुपमा परिचित विष्णु बस्यालले लगानीकर्ताकै माझमा नेप्से अब नौ अंकमा झर्ने बताएका थिए। त्यही निहुँमा उनलाई लछापछार गरिएको थियो।

सेयर बजार सुधारको माग गर्दै नेप्सेमा भेला भएका लगानीकर्ता तथा सेयर बजार विश्लेषकबीच भनाभन भई हात हालाहातसम्म भएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले बताइन्।

लगानीकर्ताहरु नेप्सेले कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा देखिएको कमजोरी तथा बजार सुधारको माग गरिरहेका छन्। अनलाइन विस्तारको रणनीतिक काम अवरुद्ध हुँदा आम लगानीकर्ताबीच चरम निराशा उत्पन्न भएको छ। पुँजी बजारका १५ लाखभन्दा बढी लगानीकर्ताको १४ खर्बभन्दा बढीको सम्पत्ति सुरक्षामा गम्भीर चुनौती देखापरेका लगानीकर्ताले बताउँदै आएका छन्।

‘पूर्ण अनलाइन कारोबार प्रणाली र पुँजी बजार सुधार तथा विस्तारका रणनीतिक काम अगाडि बढाउने लगायत विषयमा नियमनकारी निकायलाई दबाब दिँदै आएका छौं,’ पोख्रेलले भनिन्, ‘यसअघि नै नेप्सेलाई ज्ञापनपत्र बुझाएका थियौं।’ नियमनकारी निकायको उदासीनताले पुँजी बजारमा गम्भीर समस्या उत्पन्न भएको उनको भनाइ छ।

सञ्चालनमा आएको २० दिन हुँदा पनि अनलाइन कारोबार प्रणाली प्रभावकारी हुन सकेको छैन। लगानीकर्ताले छिटोभन्दा छिटो पूर्ण स्वचालित अनलाइनमार्फत काम गर्न युजर नेम र पासवर्डको व्यवस्था गर्न माग गर्दै आएका छन्।

नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले लगानीकर्तालाई युजर नेम र पासवर्ड मंसिर २३ गतेदेखि वितरण गरिने भएको बताएका छन्। ‘अगामी जनवरीदेखि दिने भनिएको थियो,’ उनले भने, ‘लगानीकर्ता बढी हतार गरेकाले मंसिर २३ गतेदेखि नै युजर नेम र पासवर्ड दिँदैछौं।’

सिस्टममा सुधार प्रक्रिया जारी रहेको उनले बताए। अन्य देशमा पनि अनलाइन सुरु गर्दा केही समय यस्तै समस्या देखिएको उल्लेख गर्दै साउदले छोटो अवधिमा समस्या समाधान हुने जानकारी दिए। ‘सेयर बजार घटेको आक्रोश छँदैछ त्यसमाथि अनलाइनमा सानातिना समस्याले पनि लगानीकर्तालाई सताइरहेको छ,’ उनले भने, ‘अनलाइनबाट कारोबार हुँदा ६० प्रतिशतसम्म सेयर बढ्छ भनिरहेको बेला घट्दा समस्या आएको हो। सेयर बजार घट्ने र बढने कुरा हाम्रो हातमा छैन।’ पूर्ण स्वचालित अनलाइन मंसिर २३ गतेदेखि लगानीकर्ताको हात हातमा पुर्याउने साउदको भनाइ छ।

नेप्सेमा कुटाकुट भएकै दिन सोमबार नेप्से ६.८० बिन्दुले घटेर ११५९.८२ मा आइपुगेको छ। उक्त दिन एक सय ५५ कम्पनीको ३० करोड ८४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ। नौ लाख ९१ हजार सात सय ३० कित्ता सेयर खरिद–बिक्री भएका छन्। कुल १० वटा समूहको सेयर कारोबार भएकामा फाइनान्स समूहको सूचक माथि लागेको छ। बाँकी समूहका सूचक तल झरेका छन्।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह ८८.११ अंकले घटेको छ। वाणिज्य बैंक समूहको सूचक पनि ४.५४ अंकले तल झरेको छ। कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ। एनएमबिको दुई करोड २७ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो। कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था छन्।

प्रकाशित: ११ मंसिर २०७५ ०५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App