८ वैशाख २०८१ शनिबार
अर्थ

साउदी अरेबिया पुगेकै दिन जेल

भुपाल बस्नेतकी पत्नी सरिता । तस्बिर : रुद्र/नागरिक

काठमाडौं – बराहक्षेत्र नगरपालिका–२ सुनसरीका भुपाल बस्नेतको सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोच थियो। सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि।

वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे। तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ। उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन्। 

यस्तै अप्ठेरोले गर्दा वैदेशिक रोजगारीको सपना त्यागेका ३७ वर्षीय बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो। किनकि स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए। अनि २०७३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए।

एक मनले विदेश जाने र अर्को मनले नजाने अन्योलमै रहेको बेला सुरु गरेको दोस्रोपटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरीमा पुर्याएको छ। कमाउन साउदी पुगेकै दिन भुपाल पक्राउ परेका छन्। उनलाई अघिल्लोपटक साउदीमा भएको एक सडक दुघर्टनाको कारण देखाउँदै दोषी ठहर्याइएको छ। साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल (करिब २३ लाख रुपैयाँ) को जोहो गर्नुपर्ने भएको छ।

जेल मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल (करिब २३ लाख रुपैयाँ) को जोहो गर्नुपर्ने भएको छ।

६ वर्षअघि साउदीमा रहँदा सवारी चालकको काम गरेका भुपालको सडक दुर्घटनाको पुरानो मुद्दा बाँकी नै देखिँदा उनी विमानस्थबाटै पक्राउ परेको पत्नी सरिताले बताइन्। त्यतिखेर सवारी दुर्घटनामा साउदीका एक नागरिकको ज्यान गएको थियो। उक्त घटनामा उनको २५ प्रतिशत दोष देखिएको अदालतको फैसला थियो। तर, काम गर्दै आएको मालिकले अदालतको फैसला बमोजिमको ब्लड मनी तिरिदिने बताएका थिए। सोही सल्लाहमा उनी नेपाल फर्केको र १३ महिना घरमै बसेको सरिताले बताइन्। ‘पुरानो त्यो मुद्दा अझै मिलिसकेको रहेनछ,’ उनले भनिन्, ‘साहुले झुठ बोल्दा अहिले ठूलो समस्या आइलाग्यो।’ 

मुद्दा मिलिसकेको ठानेरै उनी ढुक्कले फेरि साउदी गएका थिए। साउदीको  अध्यागमनले विमानस्थलमा औंठा छाप लिँदा उनको नाममा सवारी ज्यान मुद्दा देखियो। त्यही मुद्दाले विमानस्थल पुगेकै दिन भुपाल जेल परे। उनीसँगै गएका अन्य साथीहरू काममा लागे। भुपाललाई प्रहरीले विमानस्थलबाट बुरेदाह जेलमा पुर्यायो।

भुपाल ६ वर्षअघि जाँदा साउदीको अल हमिद कम्पनीमा सवारी चालकमा कार्यरत थिए। उनले  चलाएको गाडी दुर्घटनामा परी एकजना साउदी नागरिकको ज्यान गएको हुनाले उनको गल्ती देखिएको थियो। त्यो घटनामा उनलाई क्षतिपूर्तिबापत साउदी रियाल ७५ हजार तीन सय तिर्नुपर्ने गरी अदालतबाट फैसला भयो। त्यो समयमा कम्पनीले क्षतिपूर्ति रकमको जिम्मा लिएको थियो।

अहिले भने भुपाल नयाँ कम्पनीमा नपुगेकाले जिम्मेवारी लिन र सहयोग गर्न नमोनको सरिताको भनाइ छ। अब भुपाल जेलमुक्त हुने हो भने अदालतले तोकेको ब्लड मनी साउदीको पीडित परिवारलाई बुझाउनुपर्ने हुन्छ। पीडित परिवारलाई पटक–पटक रकम मिनाहा गर्न अनुरोध गर्दा पनि अस्वीकार गरेकाले रकम नतिरेसम्म रिहाइ हुने सम्भावना नरेहको दूतावासलाई उद्धृत गर्दै सरिताले बताइन्।

सहयोगका लागि आग्रह
भुपालको उद्धारका लागि श्रीमती सरिताले आग्रह गरेकी छन्। ‘यस्तो होला भन्ने लागेकै थिएन,’ सरिताले भनिन्, ‘दशा लागेको रहेछ यस्तो बेला सहृदयी मनलाई सहयोगको लागि आग्रह गर्छौं।’ परिवारको आग्रहपछि विभिन्न ठाउँबाट सहयोग पनि जुट्न थालेको छ।

एनआरएनए साउदीको पहलमा जुटेको १६ हजार रियाल प्रवासी नेपाली समन्वय समितिलाई हस्तान्तरण गरेको छ। ब्लड मनी संकलनका लागि गन्तव्य नेपाल अल कासिमले सक्दो प्रयास गरिरहेको समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए। भुपालको उद्धारका लागि हालम्म सात लाख रुपैयाँ संकलन भइसकेको छ। यसअघि प्रेम राई बचाऊ अभियानबाट दुई लाख रुपैयाँ बचेकाले भुपाललाई उद्धार गर्न समितिले जोडदार रूपमा पहल गरिरहेको जनाएको छ।

साउदी जेलमा रहेका भुपालले उद्धारका लागि पटकपटक फोन गरेर पत्नीलाई  आग्रह गरिरहेका छन्। सरिताले भनिन्, ‘पैसा जुट्यो भने फर्किन्छु भन्नुभएको छ। धेरै रकम चाहिने भएकाले दाताको सहयोगको अपेक्षा गरेका छौं।’ घरको आर्थिक अवस्था राम्रो नभएकाले दाताको भर पर्नुपर्ने बाध्यता रहेको सरिताको भनाइ छ।

प्रकाशित: ११ मंसिर २०७५ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App