१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनी जहाज रुसी कब्जामा

पूर्वी युक्रेनको एक क्षेत्रमा अघि बढ्दै युक्रेनी आर्मीको एपिसी। तस्बिर : एजेन्सी

किभ – रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ।

रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ।

युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको आरोप लगाएको छ। रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाज अनधिकृत रूपमा प्रवेश गरेकाले नियन्त्रणमा लिएको जनाएको छ।

दुइवटा युक्रेनी साना युद्धपोत र एउटा टगबोट कर्च स्ट्रेटहुँदै आइतबार अगाडि बढेपछि यो संकटको पटाक्षेप भएको थियो। कर्च स्ट्रेट एउटा साँघुरो प्रवेश क्षेत्र हो जहाँबाट युक्रेन र रुस दुवैले प्रयोग गर्दै आएको अजोभ सागरमा प्रवेश गर्न सकिन्छ। अजोभ सागर दुवै देशको साझा सागर हो।

युक्रेनले एउटा रुसी सीमा सुरक्षा जहाजले टगबोटमा एकाएक आक्रमण गरेको र त्यसपछि तीनवटै जहाज नियन्त्रणमा लिएको जनाएको छ।

युक्रेनले कर्च स्ट्रेटको साँगुरो जलमार्गमा रुसले ट्यांकर तेस्र्याएर बाटो अवरुद्ध गरेको आरोपसमेत लगाएको छ। यो क्षेत्रमा रुसी सैनिक विमानले आकाशबाट गस्ती गरिरहेको युक्रेनले बताएको छ।

युक्रेनमा उत्पन्न तनावका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक सोमबार बस्न लागेको राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले बताइन्। बैठकका लागि रुस र युक्रेन दुवैले अनुरोध गरेको कूटनीतिक स्रोतहरुले बताएका छन्। यसैबीच युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले मुलुकमा अरु ६० दिन सैनिक कानुन लगाउने वा नलगाउने भन्ने विषयमा छलफल गरी मतदान गर्न संसद्समक्ष आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। मन्त्रिपरिषद्को सैनिक परिषद्ले सैनिक कानुनको आवश्यकता रहेको निर्णय गरिसकेको बताइएको छ।

राष्ट्रपति पोरोसेन्कोले रुसको आक्रमण भूलवश नभएको बताउँदै यो घटना नियतवश भएको र युक्रेनको स्थायित्व खल्बल्याउने उद्देश्यबाट प्रेरित रहेको चर्चासमेत गरेका छन्। युक्रेनले रुसी आक्रमणबाट छ जना सैनिक घाइते भएको र तीमध्ये दुइजना गम्भीर रहेको बताएको छ। तर रुसको एफएसबीले तीनजना मात्र सामान्य घाइते भएको जनाएको छ। उनीहरुको उपचार गरिएको छ।

किभमा रुसी राजदूतावास बाहिर उक्त आक्रमणको विरुद्धमा आइतबार राति प्रदर्शन भएको एएफपीले उल्लेख गरेको छ। किभका पश्चिमी गठबन्धन राष्ट्रले रुसको पछिल्लो आक्रमणप्रति आपत्ति जनाएका छन्। युरोपेली युनियनले एक वक्तव्य जारी गर्दै कर्च स्ट्रेटको बाटो पुनस्र्थापित गर्न रुससँग आग्रह गरेको छ। वक्तव्यमा परिस्थितिलाई अरु भड्किन नदिन दुवै पक्षबाट सम्यमता अपनाउन भनिएको छ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले पनि परिस्थितिलाई जतिसक्दो चाँडो साम्य बनाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय कानुन बमोजिम अजोभ सागरमा युक्रेनी बन्दरगाहसम्मको सहज पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ।

मस्कोले क्राइमिया प्रायःद्वीपलाई सन् २०१४ मा रुसमा विलय गरेसँगै क्राइमियाको जलक्षेत्रमा आफ्नो प्रभूत्व रहेको दाबी गर्दै आएको छ।

प्रकाशित: ११ मंसिर २०७५ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App