६ वैशाख २०८१ बिहीबार
खेल

संकटामाथि अार्मीकाे फराकिलाे जित

काठमाडाैं - राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले गोलको खडेरी तोडेको दिन सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहेको संकटामाथि ५–१ को फराकिलो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको दिनको पहिलो खेलमा संकटाले लिएको अग्रतालाई उल्टाउँदै आर्मीले उपाधिहोडको यात्रालाई मजबुत बनाएको हो। तेस्रो चरणको समाप्तिसम्म अपराजित रहेको संकटाका लागि विदेशी खेलाडी म्याक्सवेल एलनले नवौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए। संकटाका दीपेश आले मगरले पोस्टलाइनबाट दिएको आकर्षक पासलाई आर्मीका गोलकिपर विकेश कुथु अगाडि बढेको मौकामा म्याक्सवेलले जाली चुमाए। त्यसको ८ मिनेटपछि आर्मीले गोल गर्दै खेल बराबरीमा ल्यायो।

आर्मीका सन्तोष तामाङले १७औं मिनेटमा मैदानको मध्यभागबाट प्रहार गरेको फ्रिकिक विपक्षी टोलीको पेनाल्टी बक्समा हेड टु हेड पासबाट टेकबहादुरले बराबरी गोल फर्काए। सुरुमा तालमेलको अभाव भए पनि पछि सम्हालिएको आर्मीका लागि कप्तान भरत खवासले २९औं मिनेटमा गोल गर्दै नतिजा उल्टाएका थिए। दिनेश हेन्जनले पेनाल्टी बक्सभित्र दिएको पासलाई भरतले संकटाका गोलकिपर राजाबाबु थापालाई बिट गर्दै जाली चुमाए। ४५औं मिनेटमा खेलमा फर्किन प्रयास गरेको संकटाका लागि पेनाल्टी बक्सभित्र म्याक्सवेलले दिएको पासलाई दीपेशले सदुपयोग गर्नबाट चुकेका थिए।

खेलमा दुवै टोलीले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेनन्। पहिलो मिनेटमा संकटाका अमित तामाङले आर्मीका खेलाडी टंक बस्नेतलाई पेनाल्टी बक्सभित्र लडाएपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिए। तर आर्मीका सन्तोस तामाङको उक्त प्रहार क्रसबारमा लागेर फर्कियो। दोसो हाफमा आर्मीका रक्षक विकास खवासले नितिन थापालाई पेनाल्टी बक्सभित्र फाउल गर्दा संकटाले पेनाल्टी पाएको थियो। अमित तामाङको उक्त प्रहार अकासिएपछि २–१ ले पछि परेको संकटालाई खेलमा फर्किन मुस्किल परेको थियो। 

पहिलो हाफमा २–१ को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्दै संकटामाथि सानदार जित निकालेको हो। ६३औं मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रिकिकबाट गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए। सन्तोषलाई नै संकटाका सुवास गुरुङले पेनाल्टी बक्सको लाइनबाहिर हातले तानेपछि आर्मीले फ्रिकिक पाएको थियो। आर्मीका लागि टेकबहादुरले ६५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–१ मा पु¥याए। भरतको कर्नर बल पेनाल्टी बक्समा ल्यान्डिङ भएपछि प्रहार गरेको सट संकटाका गोलकिपर राजाबाबुले पन्च गर्दैै बचाउ गरे। तर रिबाउन्डबाट प्राप्त बललाई आर्मीका टेकले नै दोस्रो प्रयासमा जाली चुमाए।

७७औं मिनेटमा आर्मीका दिनेश हेन्जनले एकल प्रयासमा टोलीका लागि पाँचौं गोल गरे। गोलकिपरले प्रहार गरेको लो बललाई दिनेशले पेनाल्टी बक्सअगाडि नियन्त्रणमा लिँदै एकल प्रयासमा सो गोल गरेका थिए। दबाबमा रहेको संकटाले अन्तिमतिर अग्रता छोट्याउन प्रयास गरे असफल भयो।

अपराजित यात्रालाई निरन्तरता दिएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोली अघिल्लो सिजनको लयलाई भेटाउने प्रयासमा रहेको बताए।

‘चौथो खेलसम्म आइपुग्दा अझै टोली रिदममा आइपुगेको छैन। यद्यपि प्रदर्शनमा भने सुधार आइरहेको छ। हामी अघिल्लो सिजनको लयलाई भेटाउने प्रयासमा छौं,’ प्रशिक्षक न्यौपानेले भने, ‘सुरुआतमा किपर र रक्षकको तालमेलको अभावमा गोल खान पुग्यौं, लगत्तै खेलमा फर्कियौं पनि। आजको खेलमा स्ट्राइकरको भूमिका अलि राम्रो भयो। साथै सबै पोजिसनका खेलाडीले शतप्रतिशत भूमिका निर्वाह गरे। त्यसैले नतिजा सम्भव बन्यो।’

उता पराजित टोलीका प्रशिक्षक सल्यान खड्गीले भने खेलाडीको तालमेल अभावका कारण पराजय भोग्नुपरेको बताए।
‘अग्रता लिए पनि त्यसपछि टोली अलि हतासिएको देखियो। पेनाल्टी बक्सभित्र हेड टु हेडबाट अनपेक्षित गोल हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो,’ प्रशिक्षक खड्गीले भने, ‘दोस्रो हाफको सुरुआतमा पाएको पेनाल्टी चुक्नुले खेलाडीमा मनोबल घट्यो। आउँदो खेलमा यसलाई मध्यनजर गर्दै अगाडि बढ्नेछौं।’

चार खेलबाट अपराजित रहेको आर्मी १० अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा पहिलो पराजय भोगेको संकटा चौथो स्थानमा झरेको छ। संकटाको ९ अंक छ।

प्रकाशित: १० मंसिर २०७५ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App