coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कामपामा नगण्य जनगुनासो !

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महीना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै सङ्ख्यामा आएको छ। 
नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं. ११८०’ को व्यवस्था गरेको तीन महीना बितिसकेको छ। तर तीन महीना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ। यसको अर्थ कामपामा गुनासो नभएर भने होइन। 
गत भदौ १ गतेदेखि कामपाले जनताको चाहनाअनुरूप काम गर्नकै लागि हटलाइन नम्बर प्रयोगमा ल्याएको थियो। महानगरवासीलाई समस्या हटलाइनमार्फत राख्ने र समस्याको उचित समाधान खोज्नकै लागि उक्त व्यवस्था गरिएको हो। तर गुनासो अत्यन्तै कम आएको कामपाका जनसम्पर्क एकाइका प्रमुख कृष्णप्रसाद चापागाईंले बताए। 
उनी भन्छन्, “आएका गुनासामा फोहर नउठेको, फुटपाथमा जहाँतहीँ पसल राखिएका कारण पैदल यात्रुलाई आवतजावत गर्न समस्या भएको, छाडा छोडिएका जनावर नियन्त्रण नगरिएको, सार्वजनिक शौचालय निर्माण र सरसफाइ गर्नुपर्नेजस्ता गुनासो रहेको छ। त्यस्तै मदिरा र चुरोट बेच्ने स्थान निश्चतरूपमा तोकिनुपर्ने, सार्वजनिक स्थानको संरक्षण गरिनुपर्नेजस्ता जनगुनासो रहेको छ। 

किन गुनासा कमी 

कामपामा रहेको समस्यालाई हेर्ने हो भने एकै दिनमा दश बढी जनगुनासा आउनुपर्ने हो। यहाँको धुवाँ, धूलो, अव्यवस्थित सडक, खानेपानीको समस्या र फोहरको दुर्गन्ध, भूकम्पपछिको पुनःनिर्माण जस्ता समस्या धेरै नै रहे पनि गुनासोकै रूपमा भने आएका छैनन्। 
महानगर आफैँ गुनासो सुन्ने भनेर अघि सरेको अवस्थामा पनि गुनासो नआएको सम्बन्धमा चापागाईं महानगरले सञ्चालनमा ल्याएको हटलाइनबारे कसैलाई जानकारी नभएर र यसको प्रचारप्रसार नहुँदा गुनासो अत्यन्तै कम आएको बताउँछन्।
थप प्रचारप्रसारकै लागि अबको केही दिनमा कामपाले फेसबुक र इमेलमार्फत पनि जनगुनासो सङ्कलन गर्ने तयारी गरेको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले जनताको समस्या सिधै सुन्ने भनेर नै हटलाइन राखिए पनि महानगरको हटलाइन प्रमुख सचिवालयसँगै छैन। हटलाइनलाई कामपाको वातावरण विभाग टेकुमा राखिएको छ। 
कामपाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेका अनुसार महानगरभित्र निर्माण गर्ने भनिएको ४० शौचालय निर्माणका लागि अन्तिम छलफल भइरहेको छ। एक हप्ताअघि नै निर्माणका लागि प्रमुखको कार्यकक्षमा छलफल जारी रहेको छ। यही मङ्सिरको अन्तिम सातासम्ममा थप काम अघि बढ्ने काफ्लेले बताए। त्यसैगरी दीर्घकालीनरुपमा फोहर व्यवस्थापन गर्ने स्थान निर्माणको काम पनि अघि बढेको कामपाले जानकारी दिएको छ। रासस 
 

 

प्रकाशित: १० मंसिर २०७५ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App