७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुत्केरी ढुंगाको पुँजी २ करोड ६४ लाख

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारीको पुँजी साँढे दुई करोड नाघेको छ। ०६९ भदौ ३१ गते स्थापना भएको सहकारीको पुँजी हालसम्म दुई करोड ६४ लाख ७८ हजार नाघेको हो।

शनिबार अर्खौलेमा सम्पन्न छैटौं साधारणसभामा सहकारीका प्रबन्धक सर्वधन राईले ६ लाख ८३ हजार नौ सय खुद मुनाफा आर्जन भएको जानकारी दिए । आर्थिक वर्ष ०७४/७५ भित्र सहकारीले ३० लाख ५७ हजार आम्दानी गरेकामा २३ लाख ७३ हजार खर्च भएको आय व्याय प्रस्तुत गरिएको छ । खर्च कटाएर बाँकी रहेको खुँद मुनाफाको १५ प्रतिशत रकम कार्यक्रमकैबीचमा सेयर सदस्यलाई बोनस बाँडिएको छ।

६९ कृषि समुह तथा ४८५ सदस्य संख्या पुगेको सहकारीले आफ्ना शेयर सदस्यलाई एक पटकमा बिनाधितो ८० हजारसम्म ऋण प्रबाह गर्दै आएको छ । पशुजन्य व्यवसाय, कृषि र अन्य व्यवसाय सञ्चालन गर्ने किसानलाई प्राथमिकतामा राखेर ऋण प्रबाह गर्दैआएको सहकारीले १६ प्रतिशत व्याजदरले लघु कर्जा, ९ प्रतिशतका दरले मासु तथा दुग्धजन्य कर्जा र १२ प्रतिशतका दरले सोलार कर्जा दिने गरेको छ । बचतकर्तालाई भने १० प्रतिशतका दरले व्याज दिने गरेको छ ।

साधारणसभामा सहकारीले शेयर सदस्यको मृत्यु भए १० हजार र शेयर सदस्यको मृत्यु भए ३ हजार खर्च दिनेगरी मृतक राहतकोष खडा गर्ने निर्णय गरेको छ । यस्तै ऋणको बीमा सुरु गरिएको सहकारीका अध्यक्ष किशोरकुमार श्रेष्ठले बताए । सहकारीले आफ्नो सेवालाई थप व्यवस्थित बनाउनका लागि भवन निर्माण गरिरहेको छ । सहकारीमार्फत हालसम्म कृषि सम्बन्धी ११ महिने तालिमका लागि दुई युवा इजरायल पुगिसकेका छन् ।

यसैबीच, सुत्केरी ढुंगा साना किसान कृषि सहकारीको अध्यक्षमा किशोरकुमार श्रेष्ठ तेश्रो कार्यकालका लागि दोहोरिएका छन् । छैठौं साधारणसभाबाट श्रेष्ठ पुःन तेश्रो कार्यकालका लागि दोहोरिएका हुन् । ११ सदस्यीय सहकारीको उपाध्यक्षमा खड्गबहादुर राई, सचिवमा सर्वधन राई र कोषाध्यक्षमा केशव श्रेष्ठ चुनिएका छन् । यस्तै, गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरिएको छ।

प्रकाशित: १० मंसिर २०७५ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App