coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘रहरले विदेश गएको होइन’

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिका सम्हालेको डेढ वर्षभन्दा बढी बित्यो। उनलाई उपत्यकाका पाका मेयरका रूपमा पनि लिइन्छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको चौतर्फी आलोचना भइरहँदा उनी अलि कम आलोचित महानगर मेयरमध्ये पर्छन्। तर, पछिल्लो समय अनावश्यक विदेश भ्रमण र सस्तो लोकप्रियताको लागि अपरिपक्व काम गरेको भन्दै उनको आलोचना हुन थालेको छ। गत वर्ष उनले ललितपुर महानगरलाई ‘जाममुक्त सहर’ घोषणा गरेका थिए। त्यसबाट उनी धेरै आलोचित बने। यो वर्ष भने उनकै कारण ललितपुर महानगर विश्वको ३५ औं कला नगरीको रूपमा घोषणा भएको छ। ९ पटक विदेश भ्रमण गरिसकेका चिरिबावुले ललितपुर महानगरभित्र हालसम्म गरेका काम, काम गर्न नसक्नुका कारण र उनका आगामी योजनाबारे नागरिक दैनिक (काष्ठमण्डप) को लागि शिवहरि घिमिरेले गरेको कुराकानीः

निर्वाचित भएको डेढ वर्ष बित्यो, यो अवधिमा मेयर भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?
यो अवधिमा म एकदमै ‘एक्साइटेड’ भएको छु। यसको अर्थ महानगरभित्र विकासका काम गर्न सकेको पनि छु र गर्न नसकेको पनि छु। तसर्थ मैले सबैलाई भन्दै आएको छु, एक वर्षको हाराहारीमा मैले गरेका कार्य सम्पादनको अंक जोड्ने हो भने सयमा ६० पाउँछु होला। त्यसका केही परिसूचक पनि मैले तयार पारेको छु। आफूले गरेका कामको आधारमै मैले ६० अंक प्राप्त गर्न सक्छु भनेको हुँ। कामै नगरेको भए त यति भन्न सक्दैनथे होला। कार्यालयभित्रको कार्यप्रणाली सुधार्ने, विकास निर्माणका काम गर्ने, मूर्त र अमूर्त सम्पदा संरक्षण गर्ने, स्थानीय सडक निर्माण गर्ने, मठमन्दिर र पोखरी बनाउने, कार्यलय वरिपरि चिटिक्क पार्नेलगायत धेरै काम भएका छन्। यी काममा धेरै समय बित्यो। तर, जस त्यति पाएको छैन। यो वर्ष मैले पाएको अंकलाई ८० मा पु-याउने लक्ष्य राखेको छु।

सिधै भन्दा तपाईँ निर्वाचित भएयता सिंगो महानगरले के पायो ?
महानगरले महसुस गर्न सक्नेगरी मैले ठुल्ठूलो विकास निर्माणको काम गर्न सकिरहेको छैन। यो मैले स्वीकार गर्नैपर्छ। ठूला योजनाहरू प्रक्रियामै छन्। अहिले महानगरका वासिन्दाले चाल पाउनेगरी प्रशासनिक काममा सुधार गरेका छौं। काठमाडौं महानगरले छरिएर सेवा दिइरहेको अवस्थामा हामीले एकै ठाउँबाट धेरैजसो सेवा प्रवाह गरिहरहेका छौं। यसलाई अझ सुधार गर्ने क्रममा पनि छौं। कार्यालयभित्र कुनै पनि काममा दायाँबायाँ केही चलखेल भएको छैन। जनताको कुनै गुनासो मेरा नजरमा परेको छ भने मैले त्यसलाई तुरुन्तै समाधान गरिदिएको पनि छु।

‘म रहरले विदेश गएको होइन। मिल्ने ठाउँमा आफू नगएर उपमेयरसा’ब तथा अरु प्रतिनिधिलाई पठाएको छु। महानगरलाई फाइदा नपुग्ने गरी विदेश गएको हुँदै होइन। म विदेश जाँदा महानगरको दुई रूपैयाँ पनि खर्च गरेको छैन।’

अर्को कुरा, हाम्रोमा जति पनि सम्पदा संरक्षण, मर्मतसम्भार र पुनर्निर्माणका कुराहरू छन् ती सबैमा हामी उत्तिकै चनाखो भएर लागेका छौं। काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)सँग मिलेर धमाधम सम्पदा पुनर्निर्माण गर्ने कार्य भइरहेको छ। यो काममा पनि हामी अरुभन्दा अग्रपंक्तिमै छौं। अर्को पक्ष, महानगरअन्र्तगतकै विश्व बैंकको प्रोजेक्टको काम पनि अघि बढिसकेको छ। मूर्त र अमूर्त सम्पदाको क्षेत्रमा हामीले अरुले भन्दा चासो दिएका छौं। यसमा कुनै कमी नहुने गरी संरक्षण र प्रवद्र्धनको काम भइरहेको छ। नाच जर्गेना गर्ने, पोखरी बनाउने, पार्टी बनाउने काम पनि तीव्र्ररूपमा भएका छन्। म निर्वाचित भएयता धेरैजसो मूर्त र अमूर्त सम्पदा जोगाउने काम गरेको छु। त्यो यहाँका समुदायले महसुस गरेकै छन्। नवदुर्गा नाच, खड्ग जात्रा देखाएका छौं। खड्ग जात्रा २४ वर्षदेखि रोकिएको थियो। त्यसलाई मैले नै सञ्चालन गर्न पहल गरेको थिएँ। अर्को कुरा, विकास निर्माणको कामलाई हेर्दा हामीले वडा स्तरबाट धेरै काम भएका छन्। वडाले सानातिना समस्या हल गर्दै आएका छन्। वडामा इन्जिनियरको व्यवस्था पनि गर्दैछौं।

जनप्रतिनिधि आउनुअघिसम्म ललितपुर महानगरभित्रको फोहर व्यवस्थापन राम्रै थियो, तपाईँहरू आएपछि फोहर नउठ्ने समस्या देखिन थाल्यो, यो विषयमा महानगरले के सोचेको छ ?
यहाँको मुख्य समस्या भनेको फोहर व्यवस्थापन नै हो। यसले गर्दा हामीले अरु जति धेरै काम गरे पनि आलोचना खेपिरहन्छौं। त्यसले जनताले प्रत्यक्षरूपमा देख्ने फोहर व्यवस्थापनको काममा पनि हामीले चासो दिएका छौं। यो विषयमा म र उपमेयर भएर प्रधानमन्त्री कार्यालयमा पुगेर कुरा पनि राखिसकेका छौं। बञ्चरेडाँडा छिटो तयार पार्न ध्यानाकर्षण गराइरहेका छौं। ललितपुर क्षेत्रको फोहर व्यवस्थापनको लागि महिला समूह, आमा समूह जुटाउँदै छौं र ट्रक किन्ने काम पनि भइसकेको छ। त्यस्तै, फोहर व्यवस्थापनकै लागि भनेर महानगरले ५० जना नगर प्रहरी पनि थप गर्ने योजना बनाएको छ। त्यसपछि फोहरको समस्या समाधान हुँदै जान्छ।

तपाईँले कुपण्डोल–लगनखेल सडकखण्डमा स्मार्ट सिटी लाइट राख्ने र फ्लाइओभर बनाउने योजना घोषणापत्रमा उल्लेख गर्नुभएको थियो, त्यो योजना कहाँ गयो ?
यो योजना अघि बढेको छ। यसबारे कुलमान घिसिङसँग मेरो कुरा भएको पनि थियो। यसमा अझ ठोस निर्णय गरेर पाको किसिमले काम गर्छौं। जहाँसम्म फ्लाइओभर निर्माणको काम छ त्यसलाई पनि महानगरले प्राथमिकतामै राखेको छ। यसमा पनि केही थालनी भएको छ। १.४ किमीको फ्लाइओभर राख्ने हाम्रो योजना हो। यो योजना हामीले मात्रै गरेर हुन्न। किनकि काठमाडौं र ललितपुर जिल्ला जोडिएका छन्, काठमाडौंले काम थालेपछि हामीले त्यसमै जोडेर काम गर्न सक्छौं। माइतिघर–थापाथली–त्रिपुरेश्वर सडकखण्डमा फ्लाइओभर बनाउन काठमाडौंको डिपिआर तयार भइसकेको छ। जाइकाले त्यहाँ अध्ययन गरिसकेको छ। हामीले पनि त्यसलाई अघि बढाउँछौं। त्यसको टेण्डर आह्वान भइसकेको छ। त्यसैले काम नभएका होइनन्, काम भएका छन्। धेरै काम निर्णय र सम्झौताका काम छन्। जनताले नदेख्नुको कारण त्यहीँ हो जस्तो लाग्छ।

उपत्यकाभित्र तपाईँलाई परिपक्व र अनुभवी मेयरको रूपमा लिइन्छ, तर तपाईँको कार्य सम्पादनमा अलि अपरिपक्वता देखियो भनेर आलोचना पनि भइरहेको छ, तपाईँप्रतिको आशा र दृष्टिकोणलाई पूरा गर्न के कठिन प-यो ?
हाम्रो प्रयास जारी छ। डेढ वर्षको दौरानमा हामीले कुनै पनि गलत निर्णय गरेका छैनौं। महानगरभित्र ४०/५० वर्षदेखि अति न्यूनरूपमा भाडामा सञ्चालन भएका पसललाई हामीले व्यवस्थित पार्ने काम गरेका छौं। अख्तियारले दिएको पत्रको आधारमा टेण्डरको काम थालेका छौं। यसमा राजस्व परामर्श समितिले टेण्डर गर्न आह्वान पनि गरेको थियो। तर, महानगरमा भएका केही समितिले टेण्डर नगर्न आग्रह गरेका थिए। एक वर्षको लागि म्याद थप्ने कुरा भयो। त्यति थाहा पाएपछि अख्तियारले टेण्डर गर्न भन्दै अर्को पत्र पठायो। त्यसपछि हामीले टेण्डर गर्ने निर्णय ग-यौं। यो पनि एउटा पाको काम हो। मैले गरेका काम सबै पाको किसिमका छन्। काम धेरै नभएका होलान्। तर, भएका काम पाको हिसाबले गरिएका छन्। भोलिलाई हेरेर विकास निर्माणका योजना र काम गरिरहेको छु। मेरा काम महानगरवासी सबैको लागि फाइदा पुग्ने किसिमको छ। त्यस्तै अहिले देखिएको मुख्य समस्या भनेको अर्को पनि छ। हाम्रो खरिद ऐन नै अप्ठेरो पार्ने किसिमको छ। यसले काम गर्न कठिन पारेको छ।

महानगरले गत असोज १ गते ललितपुर महानगर क्षेत्रलाई जाममुक्त सहर घोषणा ग-यो, तर अहिले पनि ललितपुरका सडकमा उत्तिकै जाम छ, भित्री सडकको अवस्था बेहाल छ, खाल्डाखुल्डी मात्रै छन्, सस्तो लोकप्रियताको लागि मेयरले यस्तो काम ग-यो भन्ने आलोचना जनस्तरबाट आएको छ नि ?
मेलम्ची प्रोजेक्टअन्र्तगत भइरहेका कामले भित्री सडक अव्यवस्थित भएका हुन्। उनीहरूले पानी हाल्ने र खनेको ठाउँ पुर्ने भनेर सम्झौता पनि गरेका छन्। यसमा हामीले अवरोध गर्न मिल्दैन। जिम्मेवारी लिएपछि त्यस क्षेत्रमा सडक खन्न दिएका हौं। मेलम्चीले खनेको सडक मेलम्चीले नै बनाउनुपर्छ। जहाँसम्म जाममुक्त सहरको कुरा छ, यो निर्णय गर्दा हामीले धेरै अध्ययन गरेका छौं। मेरो पनि यसमा गहिरो अध्ययन छ। तर, ठूला गाडी सडक साँघुरा भएकाले केही समस्या भएको हो। अरु ठाउँमा जस्तो ललितपुरमा समस्या छैन। त्यस्तै यातायात र सडक व्यवस्थापन गर्ने कामको योजना अघि सारेका छौं। केही सडकलाई ‘वान वे’ गर्ने निर्णय पनि महागरले गरेको छ। यो भइसकेपछि सबैतिर व्यवस्थित हुन्छ। अर्को कुरा, बु्रमर किन्ने निर्णय पनि हामीले गरेका छौं। कर्मचारी कम भएकाले त्यसमा पनि चासो दिएका छौं। जनताले काम भएन भन्ने तर कर्मचारी र उपकरणको अवस्था कस्तो छ भनेर ध्यान नदिएको पाइन्छ। त्यसकारण हिजोको कर्मकाण्डी किसिमको नियम र कार्यशैलीलाई हामीले धेरै नै परिवर्तन गर्न जरुरी छ। अनि मात्रै महानगरले थालेका योजनाले पूर्णता पाउनेछन्।

निर्वाचित भएयता तपाईँ ९ पटक विदेश घुमिसक्नुुभएको छ, मेयरसा’बले जनताले दैनिक रूपमा भोगेका सानातिना समस्या पनि समाधान गर्नुभएन भनेर आलोचना भइरहेको छ, यति धेरै विदेश घुम्ने मोह किन ?
म रहरले विदेश गएको होइन। मिल्ने ठाउँमा आफू नगएर उपमेयरसा’ब तथा कुनै प्रतिनिधिलाई पठाएको छु। महानगरलाई फाइदा नपुग्ने गरी विदेश गएको हुँदै होइन। म विदेश जाँदा महानगरको दुई रूपैयाँ पनि खर्च गरेको छैन। हाम्रो फाइदाको लागि उनीहरूको खर्चमा विदेश पुग्ने गरेको छु। अर्को कुरा, म घुम्नलाई विदेश गएको होइन, महानगरकै लागि विदेश गएको हुँ। जतिपल्ट विदेश गएको छु महानगरलाई नै फाइदा भएको छ। जापान गएर मैले महानगरलाई फाइदा हुने सम्झौतामा हस्ताक्षर गरेको छु। महानगरललाई चाहिने उपकरण पनि जापानले दिने निर्णय गरेको छ। अर्को कुरा, मेरो विदेश भ्रमणबारे मिडियामा आलोचना भएको छ। सबैले ११ पल्ट विदेश गयो भनेर लेखेका छन्। म अहिलेसम्म ९ पल्ट विदेश गएको छु। मेरो विदेश यात्राप्रति अन्याय भएको छ। मेरो भ्रमण महानगरको सार्थकताको लागि हो। त्यहाँका हरेक भ्रमणलाई महानगरको विकाससँग जोडेको छु। अहिलेसम्म मैले २५/२६ विदेश भ्रमण रद्द गरिसकेको छु।

तपाईँको विदेश भ्रमणले महानगरलाई के फाइदा पुगेको छ ?
अहिलेसम्मको विदेश भ्रमणमा फाइदा पुगेको छ। हालसम्म म जापान (तीन पल्ट), बर्मा, मंगोलिया, भियतनामा, श्रीलंका र कोरिया पुगेको छु। पहिलो कुरा त यी सबै देशमा मैले आफ्नो नगरपालिकाको छाप बसालेर आएको छु। ललितपुर महानगरलाई चिनाएर आएको छु। केही दिनअघि मात्रै भियतनाममा गएर आएँ। त्यहाँ ‘सिटीनेट’को बैठक थियो। मेरै प्रस्तावमा अर्को वर्ष उक्त बैठक नेपालमै हुने भएको छ। यो एकदमै ठूलो उपलब्धि हो। त्यस्तै, जापान भ्रमणका क्रममा त्यहाँको सरकारसँग विभिन्न उपकरण ल्याउन सम्झौता भएको छ। यो वर्ष गोदावरी, महालक्ष्मी र एनसेटलाई ‘सिटीनेट’ को समितिमा राख्नको लागि सदस्य बनाउन सिफारिस पेस गरेको छु। यसले नेपाललाई निकै फाइदा पुग्छ।

चुनावमा उठाएका मुख्य–मुख्य अजेन्डामाथि कसरी काम गर्दै हुनुहुन्छ ?
हामीले एकदमै प्राथमितामा राखेका छौं। वृद्धवृद्धालाई एकमुष्ठ भन्दा दिने काम यसै वर्षबाट थालेका छौं। अर्को कुरा, मैले ललितपुरलाई हस्तकला नगरी बनाउँछु भनेर अजेण्डमा उठाएको थिएँ, अहिले त्यो अजेण्डाले ठूलो लक्ष्य प्राप्ति गरेको छ। महानगर विश्वको ५३ औं कला नगरीको रूपमा घोषणा भएको छ। यो हाम्रो लागि ठूलो उपलब्धि हो। फ्लाई ओभर बनाउने, स्मार्ट लाइट जडान गर्ने र लगनखेलदेखि पाटन दरबार हुँदै लामो हिमपाइप जडानको काम पनि अघि सारेका छौं। यसले सम्पदा क्षेत्रलाई सफा पार्नेछ। ढलको समस्या हुने छैन। युनेस्कोसँग सहकार्य पनि भइरहेको छ यो विषयमा। अर्को कुरा, वातावरण सुधारमै क्रममा हामीले बुङमति गोदावरीसम्म साझा हरियो बस सञ्चालन गर्न सफल भएका छौं। यसबाहेक अन्य थुप्रै योजना पनि हामीसँग छन्। ती योजनालाई सक्नेगरी हामीले काम अघि बढाउँछौं। सकेसम्म इलेक्ट्रिक सवारीसाधनलाई हामीले जोड दिएका छौं। यसमा लगानी गर्न पनि महानगर तत्पर छ।

अरु देशको अभ्यासलाई हेर्दा महानगरको मेयर भइसकेपछि त्यो भन्दा माथिको पद ताक्ने गरेको पाइन्छ, तपाईँको राजनीतिक सपना कहाँसम्मको छ ?
अहिले नै त्यति परको कुरा सोचेको छैन। राजनीतिमा लागेकाहरू त्योभन्दा माथिल्लो ताक्छन्। यथास्थानमै बसिरहने सोच कसैको हुँदैन। यो स्वभाविक नै हो। मेरो सोच पनि यो भन्दा माथिल्लो तहका राजनीतिक नेतृत्वमा सरिक हुनु हो। यो वर्षको अनुभवले मलाई कहाँ जाँदा ठिक हुन्छ भन्छ, त्यहीँ जान्छु। अझ विदेशको अभ्यास हेर्दा त्यहाँको महानगरको मेयरलाई मन्त्री भन्दा पनि माथिल्लो तहको मानिन्छ। त्यसको छवि नै माथि हुन्छ। त्यसको लक्ष्य राष्ट्रपति बन्ने हुन्छ। हाम्रो ठ्याक्कै यस्तै होला भन्न सकिन्न। यो पाँच वर्षमा मैले जनताको मन जितेर काम गर्न सके भने त्यसले मेरो भोलिको राजनीतिक बाटोलाई अझ सोझो बनाउने छ।

प्रकाशित: १० मंसिर २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App