coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘सहरको सम्भावना खोज्न सकेनौं’

लाक्पा शेर्पा ‘आमोद’, गायक

तपार्इँको बुझाईमा सहर के हो?
गुजुप्प परेको सुविधासम्पन्न बस्ती नै सहर हो। सहरमा हरेक सेवा सुविधा हुन्छन्। मानिसको चाप बढी भए तापनि त्यहाँको प्रशासनले हरेक विकास निर्माणका कामलाई चुस्त गतिमा सञ्चालन गरेको हुन्छ।

घुमेकामध्ये मनपरेको सहर कुन हो?
मलाई सिंगापुर र दुबईका हरेक सहर सुन्दर लाग्यो। त्यहाँका सहर हेर्दै मनमोहक र हराभरा पारिएको छ। दुबई मरुभूमिको देश भनिए तापनि संसारका अरु देशलाई टक्कर दिन सक्ने भएको छ। बाटोघाटो, सरसफाइ, नीति नियमको हिसाबले यी देशका सहर अग्रपंतिमा छन्।

‘आज मरुभूमिमा पनि फूल फुलेका छन्। संसारकै नमुना भवन निर्माण भएका छन्। तर, हामी प्रकृतिले नै यति धेरै सम्भावना दिँदादिँदै पनि पछि परेका छौं। यसको मुख्य कारण हो, हामीले सहरलाई चिन्न नसक्नु।’

नेपालभित्र मनपर्ने सहर?
मलाई पोखरा सहर धेरै नै प्रिय लाग्छ। यो सहर निकै मनमोहक छ। यहाँबाट भनेजस्ता दृश्यहरू नियाल्न पाइन्छ। पोखराको विशेषता भनेकै फेवाताल, हिमाल र गुफा नै हो। यहाँका सहरमा पाइने विशेषता अन्त पाइन्न। यहाँको प्राकृतिक सौन्दर्यता कतै भेटिन्न। अर्को कुरा, पोखरा सहर नजिकै गाउँ भेटिन्छन्। ती गाउँको विशेषता र मौलिकता अति नै मनपर्छ।

काठमाडौं कस्तो लाग्छ?
काठमाडौं पनि राम्रो सहर हो। यहाँको विशेषता आफ्नै किसिमको छ। तर, विकास निर्माण भद्रगोल रूपमा गरिँदा उपत्यका साच्चै नै दिक्कलाग्दो भएको छ। सबैतिर प्रदूषण र धुवाँधुलो मात्रै फैलिएको छ। आनन्दको अनुभव गर्ने ठाउँ अभाव हुन थालेको छ। काठमाडौंलाई यति अस्तव्यस्त बनाएको हामीले नै हो। यो सहर नेपालको धरोहर हो।

यहाँ हाम्रो पुरानो मौलिकपनादेखि कलाकृति भेटिन्न। तर, मानवीय रूपमा हुनुपर्ने काम भएनन्।

बाहिर मुलुकका सहर कत्तिको घुम्नुभएको छ?
मैले धेरै देशका सहर घुमेको छु। इजरायल, मलेसिया, कोरिया, थाइल्याण्डलगायत देशका मुख्य सहर घुमेको छु। तीमध्ये अमेरिका, हङकङ र दुबईका सहर मलाई साह्रै नै मनप¥यो। दुबई आज हराभरा भएको छ। मरुभूमिमा पनि फूल फुलेका छन्। संसारकै नमुना भवन निर्माण भएका छन्। तर, हामी प्रकृतिले नै यति धेरै सम्भावना दिँदादिँदै पनि पछि परेका छौं। यसको मुख्य कारण हो, हामीले सहरलाई चिन्न नसक्नु।

बाहिरी मुलुकका सहर घुम्न पाउँदा कस्तो अनुभूति भयोे?
म निकै नै अच्चमित भएको थिएँ। नेपाल छाड्नुभन्दा पहिले विदेशी मुलुकका सहर यस्ता छन् भनेर सुनेको मात्रै थिएँ, पछि आफैले प्रत्यक्ष घुम्न पाउँदा निकै नै खुसी लाग्यो। विदेशका हरेक सहर कानुनले चलेका छन्। उनीहरूले धेरै मेहनत गरेका छन्। तर, हामीले प्राकृतिक रूपमा यति धेरै सम्भावना हुँदाहुँदै पनि यहाँका सम्भावनाको खोजी गर्न सकेनौं।

विदेश र नेपालका सहरबीच के भिन्नता पाउनुभयो?
बाहिरी मुलुकका सहर नेपालका सहरभन्दा धेरै नै फरक छन्। त्यहाँका सहर प्रविधिमैत्री छ। विदेशी मुलुकका सहरमा कतै फोहर भेटिन्न। हरेक कुरा व्यवस्थित लाग्छ। हाम्रो देशका सहर प्राकृतिक र ऐतिहासिकरूपमा धेरै नै अघि छन्। यहाँका ऐतिहासिक धरोहर र सांस्कृतिक सम्पदाहरूले आज विश्वको ध्यान तानेको छ। विश्वमै नभएका हरियाली डाँडाकाँडा नेपालमै छन्। यहाँका प्रत्येक ठाउँहरू नेच्युरल छन्।

हाम्रा सहर विकास हुन नसक्नुको कारण के देख्नुहुन्छ?
विदेशी मुलकहरूमा सरकारको नीति नियम कडा छ। त्यहाँको सरकारले सबैतिर चुस्त÷दुरुस्त पारेको छ। सहरमा कसैले फोहर गर्न पाउँदैनन्। आफ्नो फोहर आफैले व्यवस्थापन गर्नुपर्छ। त्यहाँ सहरवासीले सबैखाले सेवा सुविधा उपभोग गर्न पाएका हुन्छन्। रातारात विकास निर्माणका काम हुन्छन्। कतै भत्किएको र बिग्रेको देखिन्न। हाम्रा सहर विकासको हिसाबमा धेरै नै पछि छन्। हाम्रोमा नीति भयो। तर, नेतृत्व भएन। राजनीतिक अस्थिरताकै कारण आज नेपाल बिग्रिएको हो, यति धेरै भद्रगोल भएको हो।

नेपालका सहर अन्य मुलुकका सहर जस्तै बन्न सक्दैनन्?
बन्न त सक्छन्। तर, समय लाग्छ। तीव्र रूपमा सहरको विकासतर्फ लाग्ने हो भने नेपालका सहर केही वर्षमै अरु देशका सहरजस्तै सुन्दर बन्न सक्छन्। हाम्रो र अरु देशको प्राकृतिक भिन्नता बेग्लै छ। हामीलाई प्रकृतिले धेरै नै सुन्दर बनाएको छ । मौलिकताको हिसाबमा नेपालका सहर अति नै पृथक छन्। मात्र हाम्रो सरकारी नीति नियम र विकासको गति फितलो भएको हो। अर्को कुरा, बिजुलीका तार, खाल्डाखुल्डी सडकले पनि सहरलाई कुरूप बनाएका हुन्। यहाँका सडक पनि निकै नै साँघुरा छन्। भित्री गल्लीहरूमा एम्बुलेन्स र दमकल छिर्न सक्दैनन्। सरकारले सडकलाई फराकिलो पार्न सकेको भए सहर अलि व्यवस्थित हुन्थ्यो होला।

उपत्यकाको मनपर्ने पक्ष के हो?
उपत्यका मात्रै होइन, नेपालका हरेक सहर प्राकृतिक छन्। अझ उपत्यकाको कुरा गर्ने हो भने त यो ठाउँ ऐतिहासिक सम्पदा र मठ–मन्दिरले सजिएको छ। यहाँ पुरानो नेपालको मौलिकता बोकेका ऐतिहासिक सम्पदा छन्। तर, तिनको उचित संरक्षण भएको छैन।

मननपर्ने पक्ष?
ट्राफिक जाम, भीडभाड, सडकछेउमा लत्रिएका तार,  प्रदूषणजस्ता कारकले उपत्यकालाई कुरूप बनाएको छ।  

तपार्इंको सपनाको सहर कस्तो होला?
सहरी संरचना एकैनासे होस्। सहरका हरेक प्रशासनिक निकाय चुस्त दुरुस्त हौंन, सडक फराकिलो होस्। सडक छेउछाउ सफा र हरियाली देखियोस्, आफूले चाहेका सुविधाहरू सहजै लिन सकियोस्। यति भयो भने सहर सुन्दर हुन्छ।

सहरवासीको बानी कस्तो लाग्छ?
आफ्नो कुरामा जिम्मेवार देखिए पनि सहरको पक्षमा सहरवासी जिम्मेवार छैनन्। सबैले आफ्नो मात्रै सोच्छन्।

पछिल्लो समय घुमेको सहर कुन हो?
नेपालकै ताप्लेजुङ पुगेको थिएँ। यो ठाउँ नेपालकै सुन्दर  ठाउँ हो।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो?
मलाई एकपटक एभरेस्ट बेस क्याम्प जाने रहर छ।

सहरको मिठो लाग्ने खानेकुरा?
दाल, भात र मासु नै मिठो लाग्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १० मंसिर २०७५ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App