१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक तुरुप कि सांस्कृतिक?

काठमाडौं - ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको १२ डिसेम्बरमा हुने जनकपुरधाम यात्रा नितान्त सांस्कृतिक हुनेछ,’ काठमाडौंस्थित भारतीय दूतावासले नागरिकसँग भन्यो। दूतावास स्रोतका अनुसार योगीले रेलसेवा शिलान्यास गर्नेछैनन्, विवाह पञ्चमीमा जन्तीका रूपमा जनकपुरधाम आएर सोही दिन जन्तीकै रूपमा फर्कनेछन्। योगी निकटस्थका अनुसार जन्तीकै रूपमा पुनः अयोध्या फर्किएपछि महत्वपूर्ण घोषणा हुन सक्छ, जसले राजनीतिमा विशेष महत्व राख्छ।

अयोध्यामा राममन्दिर निर्माणको विषयले भारतको राजनीति तातिँदै गर्दा उत्तर प्रदेशका मुख्यमन्त्री योगी अयोध्याबाट जन्ती बनेर सीता जन्मभूमि जनकपुरधाम आउनु अर्थपूर्ण रहेको छ। योगीको अयोध्या–जनकपुरधाम–अयोध्या यात्राको विषयले नेपाल र भारत दुवै देशको राजनीतिमा तरंग ल्याएको छ। भारतभित्र धर्मको राजनीतिले पुनः महत्व पाएको स्पष्ट छ। सन् २०१९ मा हुन गइरहेको लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले धार्मिक मुद्दालाई प्रमुख अस्त्र बनाइसकेको छ। योगीले अयोध्यामा राममन्दिर बन्छ भन्नु बलियो राजनीतिक तुरुप बन्यो। चुनाव नजिकिँदा योगीले फालेको तुरुपले विभिन्न प्रतिक्रिया जन्माइरहेको छ।

योगी जनकपुरधाम आउने चर्चा चल्दै गर्दा नेपालका नेताहरूबाट समेत प्रतिक्रिया आयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले योगीबाट हुने भनिएको जनकपुरधाम भ्रमणको विरोध गरे। नेपालमा ‘हिन्दु अधिराज्य’ पुनःस्थापित गर्ने विषयको वकालत गर्दै आएकालाई निम्तो दिनु खेदजनक भएको भन्दै सरकारसँग जवाफ मागियो। पाका कम्युनिस्ट नेता चित्रबहादुर केसीले गणतन्त्रमाथि खतरा बढेकाले राजतन्त्र फर्कने सक्ने आंैल्याए।

भारतीय राजदूतावासले निम्तो मोदीलाई ओलीबाट गए पनि कार्यव्यस्तताका कारण योगी आउने जानकारी दियो। तर, मोदीको साटो योगीलाई पठाउनुमा धर्मका माध्यमले राजनीतिक लाभ लिने रणनीति देखिएको छ। निधिले यही रणनीतितर्फ औंला ठड्याए। निधिमाथि उपप्रधान तथा गृहमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणमा अवरोध पु-याएको आरोपसमेत लागेको थियो। मोदीले तेस्रो भ्रमणमा मात्र जनकपुरधाम भ्रमण गरेका थिए। भारतीय जनता पार्टीले निधिको भूमिकाप्रति विगतदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो।

निधिको पछिल्लो अभिव्यक्तिप्रति नेपाली कांग्रेसभित्र पनि विभिन्न प्रतिक्रिया आइरहेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले योगीको भ्रमणबारे विरोध गर्नुपर्ने कारण नभएको बताए। धार्मिक तीर्थयात्रीका रूपमा योगी भ्रमणको स्वागत गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘धार्मिक पर्वमा आउनु स्वाभाविक र स्वागतयोग्य छ।’ कांग्रेसको विदेश विभागको लामो अनुभव सँगालेका अर्का एक नेताका अनुसार ‘निधिको अभिव्यक्ति अपरिपक्वताको उदाहरण हो।’ केन्द्रीय सदस्य दीपक खड्काले योगीको भ्रमणको विरोध गर्नुको अर्थ नरहेको भन्दै कांग्रेसबाट कसैले विरोध गर्छ भने पार्टीको आधिकारिक धारणा नभएको टिप्पणी गरे। निधिनिकट एक नेता धार्मिक भ्रमणमा आउनेजाने विषयमा आएको नकारात्मक टिप्पणीप्रति असन्तुष्टि पोख्छन्। उनी भन्छन्, ‘धार्मिक यात्रामा आउनेप्रति नकारात्मक भाव राख्नुहुन्न।’

योगीको त्रास
योगीको पृष्ठभूमि कट्टर हिन्दुवादी हुनुले पनि धर्मनीरपेक्षताका पक्षधरहरूलाई झस्काएको छ। विगतमा गोरखनाथ मन्दिरका मठाधीशका रूपमा नेपाल आएका योगीले पशुपतिनाथको एक धार्मिक कार्यक्रममा नेपाललाई हिन्दु अधिराज्य बनाउनुपर्ने मात्र नभई राजसंस्था पुनःस्थापित गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। योगीको राजसंस्थाप्रतिको मोहका कारण गोरखनाथ मन्दिर र गोरखा राज्यको साइनो पनि कारण बन्यो।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका बखत गोखनाथका योगीहरूले सहायता पु¥याएको ऐतिहासिक तथ्य उल्लेख गर्छन्, संस्कृतिविद् डा. रमेश ढुंगेल। यसकारण पनि घटनाक्रम राजसंस्था फर्कनेतर्फ विकसित भइरहेको उनी तर्क गर्छन्। ‘राजसंस्था फर्कने अवस्था बन्न सक्छ तर हिन्दु अधिराज्य फर्काउने विषय सजिलो छैन,’ ढुंगेल भन्छन्, ‘गोरखनाथको मठाधीश बनिसकेका योगीको राजसंस्थाप्रतिको मोह अव्यक्त थियो तर सत्तामा पुगेका योगीले सत्ता बाहिर रहँदा दिएको अभिव्यक्ति कार्यान्वयनमा लैजान भने सजिलो छैन।’ ढुंगेलका अनुसार योगी वा कुनै प्रभावशाली नेताले चाहँदैमा भारत सरकारको आधिकारिक कदम राजसंस्था फर्काउनेतर्फ हुन्छ भन्ने छैन।

धर्म नीरपेक्षताका कट्टर विरोधी र राजसंस्थाका समर्थक योगीलाई जन्ती बनाएर जनकपुरधाम पठाउनुभित्र शंका गर्नेहरू देखिए। संस्कृतिविद् ढुंगेल योगीको धार्मिक पृष्ठभूमिले शंका गर्ने ठाउँ बनाएको बताउँछन्। योगी भ्रमणप्रति शंका गर्नेमा कांग्रेस उपसभापति निधि देखिए। तर कांग्रेस केन्द्रीय सदस्य केसी नेपालको राजनीतिक विषयको परिमार्जन नेपाली जनताको चाहना र भावनाअनुसार हुने भएकाले शंका गर्नुपर्ने कारण नरहेको बताए। उनले भने, ‘राजनीतिक विषय हाम्रो विषय हो, कसैले घोटेर पिलाएर हुने होइन।’

भारतमा हिन्दूवादीको परिचय बोकेको भारतीय जनता पार्टी सत्तामा रहनुले मात्र धर्मनिरपेक्षताका पक्षधर झस्किएका होइनन्। सत्तारूढ नेपाली कांग्रेसभित्र यो मुद्दा फैलँदै गएको छ। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुकलाई ‘हिन्दु अधिराज्य’ बनाउने मुद्दा उठाउँदै आएका छन्। कांग्रेसभित्र कोइरालाको मुद्दा उठानले धर्मनिरपेक्षता पक्षधर र विरोधीबीच ध्रुवीकरण बढ्दै गएको छ। पार्टीभित्र धार्मिक मुद्दामा नरम बन्नुपर्ने विषय उठेको खुलासा गर्दै कांग्रेस केन्द्रीय सदस्य दीपक खड्का भन्छन्, ‘नेपाली कांग्रेसले अब हिन्दू अधिराज्यबारे बहस चलाउनुपर्छ।’ कांग्रेस बैठकमा यो विषयले प्रवेश पाइरहँदा योगीको जनकपुरधामको धार्मिक तथा सांस्कृतिक यात्राले निकै अर्थ राखेको छ।

अयोध्याको राजनीति
अयोध्या, रामायणमा उल्लेख भएअनुसार त्रेतायुगमा रामको राज्य। आधुनिक भारतमा अयोध्या रामभूमिमा मात्र सीमित छैन। यसले भारतको राजनीतिलाई प्रभावित पार्ने घटना बोकेकाले विशेष महत्व राख्छ। अयोध्या त्यो भूमि हो, जहाँ राममन्दिर रहेको स्थान भत्काएर १६औं शताब्दीमा बाबरी मस्जिद बनाइएको भन्दै डेढ लाख ‘कार सेवक’ हिन्दूहरूले मस्जिद भत्काएका थिए। ६ डिसेम्बर १९९२ को उक्त घटनापछि धार्मिक दंगा भड्किएको थियो। अयोध्यामा राममन्दिर र मस्जिदको निर्माण भारतको राजनीतिको मुख्य मुद्दा बन्ने गरेको छ।

सत्तारूढ भारतीय जनता पार्टीले अयोध्यामा राममन्दिर निर्माणलाई मुख्य एजेन्डा बनाउँदै आएको छ। भारतको सर्वोच्च अदालतसम्म पुगेको अयोध्या मुद्दाको विवादमाथि फैसला भए पनि मन्दिर–मस्जिद निर्माणको टुंगो लागेको छैन। न राममन्दिर बन्न सक्यो न भत्काइएको बाबरी मस्जिद। निर्माणको विषय राजनीतिको मुद्दा बनिरह्यो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक रूपमा भनिसके, ‘अयोध्यामा राममन्दिर बन्छ।’ मन्दिर निर्माणको विषयलाई मुद्दामा सीमित गरेर राजनीति गर्दै आएको आरोप भारतीय जनता पार्टीमाथि लाग्दै आएको छ। शिवसेना प्रमुख उद्धव ठाकरेले भाजपामाथि मन्दिर नबनाउने तर मुद्दा बोकेर राजनीतिक लाभ लिने गरेको आरोप लगाएका छन्।

धर्मको अस्त्र
अयोध्याबाट जनकपुर जन्ती आउने योगी आदित्यनाथ धर्मगुरुका रूपमा राजनीतिमा सफलता हासिल गरेका नेता हुन्। उनको यात्रा नितान्त सांस्कृतिक भनिए पनि उद्देश्य अन्य हुन सक्छ। लोकसभा चुनावमा धर्मको अस्त्रलाई भाजपाले तिखार्दै लगेको छ। यसका लागि उत्तम राजनीतिक कालीगढ योगी हुन्, जसले भारतको राजनीतिमा विशेष महत्व राख्ने उत्तर प्रदेशको नेतृत्व गरिरहेका छन्।

नेपाल मामिलाबाट भारतको सत्तारूढ दलले राजनीतिक लाभ लिने रणनीति चाल्दै आएको छ। नाकाबन्दीपछि उसको ‘कोर्स करेक्सन’ प्रस्ट बुझिन्छ। तर, कतै भाजपाले निकै पछाडि फर्किएर ‘कोर्स करेक्सन’ गर्ने रणनीति बुनेको त होइन ? अर्थात्, उसले भित्रीरूपमा उठाउने गरेको धर्मनिरपेक्षतामा परिमार्जनलाई कार्यान्वयनमा लान खोजेको त होइन ? पूर्वराजा चलमलाइरहेका छन् भने गणतन्त्र ल्याउने नेताहरूप्रति असन्तुष्टि बढ्दो छ। यसमाथि दक्षिणी छिमेकीले उनीप्रति सद्भाव राख्ने योगी आदित्यनाथलाई धार्मिक भ्रमणमा पठाउँदैछ। यसले नेपाली राजनीतिमा दूरगामी महत्व राख्ने नयाँ सम्भावनाका आँकलन हुन थालेका छन्।

प्रकाशित: १० मंसिर २०७५ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App