८ वैशाख २०८१ शनिबार
समाज

‘खोला खोतल्न आफन्तलाई लाइसेन्स’

सिन्धुलीको सुनकोसीबाट उत्खनन गरी संकलन गरिएको बालुवा गिट्टी। तस्बिरः अनिल/नागरिक

सिन्धुली - स्थानीय तहको निर्वाचन हुनुअघिसम्म सुनकोसी गाउँपालिकाका विभिन्न वडामा आधादजर्नमात्रै बालुवा प्रशोधन र क्रसर उद्योग थिए। तर जनप्रतिनिधि निर्वाचित भएपछि ती उद्योग बढेर डेढ दर्जनभन्दा बढी पुगेका छन्।

आन्तरिक आयस्रोत बढाउन भन्दै स्थानीय तहका जनप्रतिनिधिले धमाधम क्रसर उद्योग खोल्न स्वीकृति दिएका छन्। अहिले सुनकोसी नदीकिनारमा क्रसरैक्रसर उद्योग छन्। धेरैजसो क्रसर उद्योग जनप्रतिनिधिकै आफन्तका नाममा रहेको स्थानीय बताउँछन्। जनप्रतिनिधि नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रसर उद्योगमा संलग्न देखिएका छन्। ‘सुनकोसी क्षेत्रमा पछिल्लो समय क्रसर उद्योग खुल्ने क्रम ह्वात्तै बढेको छ। ती उद्योगबाट दैनिक सयाैं ट्रिपर बालुवा बेच्ने काम भइरहेको छ,’ सुनकोसी गाउँपालिकाका कपिल कोइरालाले भने, ‘तत्काल नियन्त्रण नगरे क्रसरकै कारण बिपी राजमार्गसमेत जोखिममा पर्नेछ।’ स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि मात्रै १८ वटाभन्दा बढी बालुवा प्रशोधन र क्रसर उद्योग खुलेका छन्। वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले क्रसर उद्योग खोल्न स्वीकृति दिएको स्थानीय बताउँछन्। ‘क्रसरका ठेकेदार र व्यवसायी नै स्थानीय तहमा निर्वाचित भएका छन्,’ एक स्थानीयले भने, ‘निर्वाचित भएपछि उनीहरूकै रोहबरमा सुनकोसी दोहन गरी विकराल अवस्था निम्त्याउन खोजिँदैछ, नियन्त्रण गर्न कसैले पनि ध्यान दिएका देखिँदैन।’ जनप्रतिनिधिले आफन्तलाई नै क्रसर उद्योग खोल्न अनुमति दिएका छन्। सुनकोसी गाउँपालिकाका ७ वटा वडामै क्रसर राख्ने अनुमति दिइएको छ। ६ वटा वडामा क्रसर उद्योग सञ्चालनमा छन्। ‘हामीले क्रसर उद्योग खोल्न दिएका होइनौं, बालुवा प्रशोधन उद्योगका लागि मात्रै सिफारिस भएको छ,’ सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दिर्बुसिंह मोक्तानले भने, ‘गाउँपालिकाभरि १७ वटा बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन्, केही थप सञ्चालन हुने क्रममा छन्। सिफारिस लिएर गएका छन्।’

सात गाउँपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा प्रायः स्थानीय तहले बालुवा प्रशोधन भन्दै क्रसर उद्योग चलाउन दिएका छन्। जनप्रतिनिधिले गाउँपालिकाको आन्तरिक आम्दानीको दरिलो स्रोत भन्दै जथाभाबी नदी उत्खनन गर्न अनुमति दिएको स्थानीयको आरोप छ। गोलञ्जोर गाउँपालिकाले पनि दुईटा बालुवा प्रशोधन उद्योगका लागि सिफारिस दिइसकेको छ। ती उद्योग काम सुरु गर्ने तयारीमा छन्। हामीले हालसम्म दुईटा बालुवा प्रशोधन उद्योग चलाउन अनुमति दिएका छौं,’ गाउँपालिकाका सूचना अधिकारी तीर्थ भण्डारीले भने, ‘खुलिसकेका छैनन्, खुल्ने प्रक्रियामै छन्।’ नियमअनुसार बालुवा प्रशोधन उद्योगले ढुंगा फुटाएर गिटी बनाउन पाउँदैनन् तर बालुवा प्रशोधन उद्योग भन्दै खोलिएका अधिकांशले गिटी पनि उत्पादन गरेर बेचिरहेका छन्। सुनकोसी गाउँपालिकाका एक स्थानीयका अनुसार जनप्रतिनिधिले आफन्तलाई नै विभिन्न नाममा खोला खोतल्ने लाइसेन्स बाँडिरहेका छन्।

वातावरण बिगार्ने गरी क्रसर र वालुवा प्रशोधन उद्योग खोल्न अनुमति दिएको भन्दै चर्को आलोचना भएपछि सुनकोसी गाउँपालिकाले हाल नयाँ दर्ता सिफारिस रोकेको छ। ‘हामीले नयाँ दर्ता बन्द गरिसकेका छौं,’ उपाध्यक्ष मोक्तानले भने।

मरिन गाँउपालिकाले पनि एउटा बालुवा प्रशोधन उद्योग खोल्न अनुमति दिएको छ। गाउँपालिकाका सूचना अधिकारी राजकुमार गोले अहिलेसम्म गाउँपालिकामा एउटामात्र बालुवा प्रशोधन उद्योग खोल्न सिफारिस दिएको बताउँछन्। दुधौली नगरपालिकाले पनि एउटा बालुवा प्रशोधन उद्योग चलाउन अनुमति दिएको छ। दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पौडेलका अनुसार नगरपालिकाले हालसम्म एउटा उद्योगमात्र सञ्चालन गर्न अनुमिति दिइएको छ। गाउँपालिकाका केही स्थानमा सञ्चालन भइरहेका क्रसर मदन भण्डारी राजमार्ग निर्माण जिम्मा पाएको ठेकेदार कम्पनीले निर्माण अवधिभरलाई सञ्चालनमा ल्याएको उनले बताए। कमलामाई नगरपालिकाले भने हालसम्म क्रसरका लागि सिफारिस नदिएको जनाएको छ। बालुवा प्रशोधन गर्ने भनेर खोलिएका उद्योगले क्रसरले जस्तै काम गर्दै आएको स्थानीयको दाबी छ।

‘क्रसर र बालुवा प्रसोधन उद्योगमा फरक छ,’ घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका प्रमुख नबराज राउतले भने, ‘जिल्लाभर क्रसर तीनवटाा मात्रै छन् अन्य सबै बालुवा उद्योग हुन्। बालुवा उद्योग खोल्नका लागि आइइई गर्नुपर्दैन तर क्रसर खोल्नका लागि आइइई अनिवार्य छ।’ गाउँपालिकाबाट बालुवा उद्योग दर्ता गर्न सहज भएपछि अधिकांश स्थानीय तहमा त्यस्ता उद्योग दर्ता भएका छन्।

प्रकाशित: १० मंसिर २०७५ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App