coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश : पञ्चवर्षीय योजना निर्माण गर्दै आयोग

सुर्खेत– कर्णाली प्रदेश योजना आयोगले कर्णालीको समग्र विकासका लागि पञ्चवर्षीय योजना निर्माण गर्ने भएको छ। आइतबार बसेको आयोगको बैठकले एक वर्षभित्र पञ्चवर्षीय योजना निर्माण गर्ने निर्णय भएको हो। आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेशको दीर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालू आर्थिक वर्षभित्रै तयार गर्ने निर्णय गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरि वार्षिक योजना तयार गर्ने निर्णय गरेको सदस्य–सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। ‘चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन मूल्याङ्कन निर्देशिका तयार गरी अनुगमनको व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ। ‘आयोगको पहिलो बैठकले परियोजना बैङ्क तयार गर्ने, कर्णाली प्रदेशको दीर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचानसहितको तथ्याङ्क, सूचकांक र प्रारुप तयार गर्नेलगायतका निर्णय गरेको छ’ बैठकपछि सदस्य–सचिव निरौलाले भने।

उनका अनुसार आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने निर्णय पनि भएको छ। बैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो। 

पदभार ग्रहण 

कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले आइतबारदेखि औपचारिक पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष डा. पुण्य रेग्मीलाई सपथ गराएका हुन्। मुख्यमन्त्री शाहीबाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरु डा. दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई सपथ ग्रहण गराएका थिए। सपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, साँसदहरु, प्रदेश सरकारका सचिव तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो। 

सपथ ग्रहणपछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै योजना आयोगका उपाध्यक्ष रेग्मीले आफुहरु पञ्चवर्षिय योजना निर्माणमा लाग्ने बताए। ‘अब तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र र समृद्ध कर्णालीको सपनाको मानचित्र तयार गर्छौं’, उपाध्यक्ष रेग्मीले भने, ‘दुवै मानचित्रलाई राखेर समृद्ध कर्णाली निर्माणको दिशामा अगाडि बढ्छौं।’ 

प्रकाशित: ९ मंसिर २०७५ १४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App