६ वैशाख २०८१ बिहीबार
कला

शिवजी साँझमा राष्ट्रिय कलाकारको धमाका

स्याङ्जा– गोधूलि साँझ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमालका लर्कनमा मात्रै घामको झुल्को छ। हिमालको चिसो सिरेटोसँगै गोधूलि साँझ ढल्किँदै छ। शिवजी मन्दिरका घन्टीहरू अझै बजिरहेछन् । मन्दिरमा दर्शनार्थीको घुइँचो छ।

सांस्कृतिक साँझका लागि बनाइएको स्टेज झकिझकाउ छ । दर्शक र दर्शनार्थीको घुइँचो बढ्दै छ । उनीहरू नाच्न, गाउन रमाउन आतुर छन्, आमन्त्रित राष्ट्रिय कलाकारसँग । अनि आफूले मत दिएर जिताएर पठाएका जनप्रतिनिधिको भाषण सुन्न।

साँझको करिब साढे पाँच बजे । कार्यक्रम सञ्चालक धनु गुरुङ र उमा गुरुङ भेषभुषा र पोसाकमा स्टेज उक्लिन्छन् । औपचारिक कार्यक्रमले मूर्त रूप पाउँछ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ, गायिका शर्मिला गुरुङ, दुर्गा गुरुङ, गायक नेत्र गुरुङ, अर्जुन थापा मगर, नायिका जेनिशा गुरुङ, मिस तमुस्यो नेपाल तथा मोडल निशा गुरुङ औपचारिक कार्यक्रम सुरुसँगै मञ्चमा उपस्थिति जनाउँछन् शिवजीको दर्शनसँगै।

सदाबहार लोकदोहोरी गायिका शर्मिला गुरुङलाई प्रस्तुतिका लागि सञ्चालकद्वयले मञ्चमा बोलाउँछन् । चिसिँदै गएको साँझ रमझममा परिवर्तन हुन्छ । गायिका शर्मिला गुरुङले आधा दर्जन गीत गाइन् । दर्शकले उनलाई पूर्ण साथ दिन्छन् । निरमायामा गायक सन्तोष केसी र उनको स्वर रहेको छ । निरमायालाई भर्खरै मात्र बजारमा ल्याएको हो।

लोकदोहोरी गायिका दुर्गा गुरुङले सांस्कृतिक साँझमा उत्कृष्ट प्रस्तुति दिइन् । उनले ‘शिरमै लाउने शिरफूल’ बोलको सोरठी गीत गाउँदा कार्यक्रममा उपस्थित दर्शकहरू कोही मन्त्रमुग्ध भए कोही नाच्न थाले । गायिका दुर्गा गुरुङले भनिन्, ‘माइती देशमा आएर गाउन, नाच्न र रमाउन पाउँदा खुसीको सीमा छैन।’

गायक नेत्र गुरुङको प्रस्तुति पनि कम रहेन । उनले ‘साइँली (लोकदोहोरी),’ ‘परदेशमा पैसा फल्ने रुख (लोकदोहोरी),’ ‘सिरसिर चल्यो बतास (लोकदोहोरी),’ ‘हातैमा लाउने सुनैको बाला (सालैजो) लगायत प्रस्तुति दिए । ‘साइँली’ राम्चेमा सुटिङ गरिएको गीत हो । गायक गुरुङले भने, ‘सांगीतिक क्षेत्रमा राम्चेले मलाई धेरै गुन लगाएको छ । साइँलीलाई उत्कृष्ट गीत बनाउन सफल भए । सबै श्रेय राम्चेलीलाई।’

गायिका निकिता गुरुङले ‘सोल्टी साह्रै नै मन प¥यो (लोकदोहोरी), ‘मिठो बोली (लोकदोहोरी)’, गायक अर्जुन थापा मगरले ‘डोकोमा थुनेको भाले (लोकदोहोरी)’ र पञ्चेबाजामा आफ्नो प्रस्तुति दिए । गायिका निकिता, गायक नेत्र र अर्जुनको दोहोरीले शिवजी सांस्कृतिक साँझको महोल झनै तातेको थियो।

मिस तमुस्यो नेपाल तथा मोडल निशा गुरुङ र नायिका जेनिशा गुरुङको नृत्यले झनै ‘वन्स मोर, वन्स मोर’ नै पाए । उनीहरूको प्रस्तुतिलाई पुनः प्रस्तुत गर्न विशेषगरी युवाहरूको माग बढी रहृयो । आयोजकको सोरठी नृत्यले झनै आकर्षक बनाएको थियो।

कार्यक्रममा प्रमुख अतिथि सांसद श्रेष्ठले ‘भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन आजको मुख्य कार्यभार रहेको बताए । ‘भाषा, धर्म, संस्कार र संस्कृति हराए मान्छेको अस्तित्व पनि हराउँछ,’ उनले भने, ‘अबको अजेन्डा राजनीतिक होइन, सामाजिक, सांस्कृतिक र भाषिक हुनु जरुरी छ।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App