७ वैशाख २०८१ शुक्रबार
समाज

पर्यटनमन्त्रीको नाच: कलाकारसँग रुँदै, हाँस्दै र नाच्दैछन् पौंदेली

बडिगाड महोत्सव बमबहादुर कार्की र शिवा आलेको गीतमा नाच्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत । तस्बिरः नागरिक

बागलुङ– जिल्लाको बडिगाड—५ ग्वालिचौर खारबजारमा प्रथम बडिगाड महोत्सव चलिरहेको छ। स्थानीय पौंदीबासीको न्वागी पर्वको अवसरमा आयोजना हुने मेलालाई यो वर्ष बडिगाड महोत्सवको रूप दिइएको हो।

विभिन्न प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रमले बडिगाड खोलाकिनारको चिसो मौसम गर्माएको छ। असारमा रोपेर मंसिरमा भित्र्याएको धानबाली न्वागी खाने र वर्षभरिका अन्न फुकुवा गर्ने परम्परालाई महोत्सवको रूप दिइएपछि पौंदेलीहरूलाई भ्याई नभ्याई छ।

गाउँठाउँको समाज गोठमा पशुचौपायाको रेखदेखसँगै आफ्नै आँगनमा लागेको मेलामा मनोरञ्जन पनि लिनुपर्नेछ। बागलुङको ग्वालिचौर आसपास र गुल्मीको नेटा, इस्मा, पौंदी अमराई लगायतका ठाउँ पौंदी क्षेत्र अन्तर्गत पर्छ।

विगत एक सातायता उनीहरूको दैनिकी फेरिएको छ। मंसिर १ गतेदेखि प्रथम बडिगाड महोत्सव सुरु भएसँगै उनीहरू एकैपटक रुन्छन्, हाँस्छन् र नाच्छन्। राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकारहरू आफ्नै आँगनमा आएर प्रस्तुति दिँदा कहिले उनीहरू कलाकारसँगै भावुकतामा रुन्छन्, कहिले कलाकारसँगै हाँस्छन् त कहिले कलाकारसँगै नाच्छन्। महोत्सवमा अहिलेसम्म करिब दुई दर्जनको संख्यामा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति मार्फत दर्शकश्रोताको मन जितेका छन् ।

बमबहादुर कार्की र शिवा आलेको जोडीले रोइला गीत प्रस्तुत गर्दा महोत्सव उद्घाटन गर्नका लागि आइपुगेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै सांसद देवेन्द्र पौडेल, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजासँगै सबै पाहुना र दर्शक नाचे।

महोत्सव उद्घाटनको दिन चर्चित कलाकारहरू बमबहादुर कार्की र शिवा आलेको प्रस्तुतिसँगै पौंदेली रमाए । विगत लामो समय पहिले रेडियो नेपालमा सुनेका डाँडैको देवी देउराली, पानको पात, भेटै नहुनी खोलापारि निरमाया वारि म रुनी लगायतका गीत लगायतका गीत उनीहरूले प्रस्तुत गरे।

अहिलेको समयमा दुर्लभ हुँदै गएको गीतको प्रस्तुतिले नयाँ दर्शकलाई मात्र होइन, त्यो बेलाका रेडियो नेपालका श्रोताहरूलाई पनि आफ्नो बैंस र जवानी याद दिलायो । बमबहादुर कार्की र शिवा आलेको जोडीले रोइला गीत प्रस्तुत गर्दा महोत्सव उद्घाटन गर्नका लागि आइपुगेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै सांसद देवेन्द्र पौडेल, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजासँगै सबै पाहुना र दर्शक नाचे।

पछिल्लो समय ड्याङडुङ खालका गीतसंगीतमा रमाइरहेका युवा पुस्ताका दर्शक श्रोताले पनि रुचि मानेर उनीहरूको प्रस्तुति नियाले । हिउँद लाग्न थालेसँगै उसै पनि दिन ढल्न कुनै बेर लाग्दैन । दिन ढल्न लाग्दै गर्दा हरेक दिन राष्ट्रिय कलाकारको साथ पाएपछि पौंदेलीहरू आफ्नो दुःख पीडा भुल्ने गरेका छन् ।

पौंदीबासीलाई मनोरञ्जन दिन जनवादी गायक जीवन शर्मा पनि पुगे । उनले जनताका पीडासँग सम्बन्धित गीत प्रस्तुत गरे । लामो समयदेखि जनताको दुःखपीडाका गीत गाउँदै हिँडेका शर्माको प्रस्तुतिमा दर्शकले खुलेर मनोरञ्जन लिएनन् पीडादायक गीतमा उनीहरू रोए पनि । उनले आफ्ना चर्चित जनताका सुख दुःखका गीत गए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गायक बद्री पंगेनीले पाका पुस्तालाई रुवाए भने युवालाई नचाए ।

अझै नि गणतन्त्र आको छैन है, बडिगाडमा भने झैं भाको छैन है भन्दै उनले गीत गाउँदा दर्शकले चर्को हुटिङ र सिट्ठी बजाएर उनको समर्थन गरे ।

उनले नेपालबाट रोजगारीका लागि विदेश जाने युवाहरूको कथाव्यथा समेटेको गीत गाउँदा अधिकांशका आँखा रसाएका देखिन्थे । पंगेनीले बिदा पाउँदिन अहिलेको साल पनि आमा घर आउँदिन, जेठो छोरा कहाँ छ कहाँ छ माइलो छोरो पुलिसमा भर्ती भाको छ, शिरैको सिउँदोमा सिन्दुर छैन लगायत बोलका गीत प्रस्तुत गर्दा दर्शकदीर्घामा सन्नाटा छायो ।

गहभरी भरिएका आँसु थाम्ने कोसिस गरे पनि उनीहरूले रोक्न सकेनन् । ‘नेपालमा विदेशमा गएर धन पैसा कमाउनुपर्ने युवापुस्ताको बाध्यता छ,’ पंगेनीले भने,‘मैले कामना गर्न चाहन्छु आगामी दिनमा यसरी नेपाली युवा विदेशमा दुःख पाएको पीडाको गीत गाउन नपरोस् ।’

पंगेनीले चुनाव आउँदा मात्र गाउँ छिर्ने नेताप्रति पनि कटाक्ष गरे । लौन नेताज्यू, बडिगाडमा आउन कहिले काहीँ, किन नेताज्यू हाम्रो भेट हुन्न पहिले झैं बोलका गीत गाएर निर्वाचनपछि पनि नेताहरूलाई जनताको सुःखदुःखको सारथि बन्न आग्रह गरे ।

जहाँ गयो त्यहीका शब्दलाई जोडेर गीत गाउन माहिर उनले नेपालमा गणतन्त्र आए पनि जनताको चाहना अनुसार काम नभएकोमा गुनासो गरे । अझै नि गणतन्त्र आको छैन है, बडिगाडमा भने झैं भाको छैन है भन्दै उनले गीत गाउँदा दर्शकले चर्को हुटिङ र सिट्ठी बजाएर उनको समर्थन गरे । उनले युवापुस्ताको माझमा लोकप्रिय ससुरालीमा, पानी सलल लगायतका गीत प्रस्तुत गरे ।

बडिगाड महोत्सवमा दर्शकले लोकसंगीतका विभिन्न भेराइटी पाएका छन् । कलाकार खड्ग गर्बुजाले धौलागिरिको मौलिक सालैजो र यानीमाया भाकामा सबैलाई नचाए । गर्बुजाको हेर्दा हेर्दै कान्छीले सोले डाँडो काट्यो मायाले बोलको गीत गाउँदै थामिएको दर्शकदीर्घा जुरुक्कै उचालियो । महोत्सवमा बागलुङमै जन्मिएर आफूलाई राष्ट्रियस्तरमा चिनाउन सफल गायक थानेश्वर गौतमले पनि स्टेज तताए ।

लोक तथा दोहोरी गीतलाई पनि फरकढंगबाट प्रस्तुत गर्ने क्षमता भएका उनको उपस्थितिले चिसो मौसम गर्माउन पुग्यो । उनले केही आधुनिक, फिल्मी र लोक धारका गीतहरू प्रस्तुत गरे । गौतमले गाजल लाइनछ्यौ, छमछम्ती पाउजुहरू बजाएर नाच, घुम्टेमुनि कौलेनी साइँली, स्याङ्जा गएँ पाल्पा गएँ बटौलीमा गइनँ, सालैजो मार्यो नि मायाले लगायतका गीत प्रस्तुत गर्दा दर्शकले खुब साथ दिए । उनले छिप्पिदै गएको रातमा रौनकता भरे।

बागलुङको गलकोटमा जन्मेर देशभर आफ्नो आफ्नो छवि विस्तार गरेका गायक मोडल दुर्गेश थापाले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिए । महोत्सवमा चर्चित कलाकारहरू विमलराज क्षेत्री, पूर्णकला बिसी, प्रिती आले, प्रजापति पराजुली, शिलु भट्टराई लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् ।

मंसिर १ गतेबाट सुरु भएको बडिगाड महोत्सव मंसिर ९ गते सकिएको छ । महोत्सवका अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमसँगै स्थानीयस्तरमा रहेका मौलिक संस्कृति र कृषि उपजहरूको समेत प्रदर्शनी गरिएको छ।

प्रकाशित: ९ मंसिर २०७५ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App